काठमाडौं उपत्यकामा निषेधाज्ञा थपियो : निजी गाडी जोर-बिजोर, बार अनुसार पसल खुल्ने


हरेकपल June 20, 2021

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ । अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ ।

निजी सवारी साधनलाई जोर–बिजोरअनुसार चल्न दिइने निर्णय उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले गरेको छ । ट्याक्सीहरूलाई पनि जोर–बिजोर लागू गरेर चलाउन दिइने भएको छ ।

निषेधाज्ञा थपिएसँगै आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय, घरायसी सामान बिक्री गर्ने सामग्री खोल्न दिइने छ ।

सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ ।

खाद्यान्न, दूध, तरकारी , किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ ।

रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन् । निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने छ ।

शनिबार अत्यावश्यकबाहेक अरू पसलहरू बन्द गर्नु पर्नेछ । सरकारी कार्यालय आलो–पालो गरी खुला गर्ने निर्णय भएको छ ।