महाधिवेशनबारे देउवा प्रदेश केन्द्रीय सदस्यसँग छलफल गर्दै


Harek Pal June 21, 2021

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी भदौमा हुने महाधिवेशनको तयारीमा जुटेका छन् ।

सभापतिमा फेरी उठ्ने मनस्थिति बनाएका देउवाले आज प्रदेशका कांग्रेस केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका छन्।

सभापति देउवाले शनिबारदेखि तयारी थालेका हुन् । यसक्रममा उनले विभिन्न पदाधिकारीसँग छलफल गरेका थिए । महाधिवेशनमा सभापतिमा उठ्ने भन्दै उनले पालैपालो सबैलाई सहयोगका लागि आग्रह गर्दै आएका छन्। उनले पनि बिहानैदेखि आफ्नो निवास बुढानिलकण्ठमा छलफल गरिरहेका छन्।

सभापति देउवाले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेको उनी निकट एक प्रदेश केन्द्रीय सदस्यले बताए । देउवाले आइतबार बागमती र गण्डकी प्रदेशका तथा शनिबार प्रदेश १ र २ का केन्द्रीय सदस्यसँग छलफल गरेका थिए।

कांग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ । देउवासँगै उनको समूहबाट उपसभापति विमलेन्द्र निधि र संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले सभापतिमा उठ्ने बताउँदै आएका छन् ।