लाेकतन्त्रकाे जित भयाे : मिनेन्द्र रिजाल


हरेकपल July 18, 2021

नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य मिनेन्द्र रिजालले लोकतन्त्र र संविधानवाद विजयी भएको बताउनुभएको छ । 


आईतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य रिजालले केपी शर्मा ओलीको अहंकारले पराजय भोगेर नेपालमा लोकतन्त्र र संविधानवाद विजयी भएको बताउनुभएको हो ।

संविधानवादलाई विजयी गराएकोमा सर्वोच्च अदालतप्रति सम्मान व्यक्त गर्नुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो –‘अहंकारको भाव सुनियो । सत्य एउटै हुन्छ । सत्य मैले देख्या छु भन्ने भाव । त्यो सत्य देख्या छु सत्य एउटै हुन्छ भन्ने एकाधिकार जनाउने प्रवृत्ति आज परास्त भएको छ ।

लोकतन्त्र विजयी भएको छ । संविधानवाद विजय भएको छ । त्यसैले संसदले सम्मान व्यक्त गर्नुपर्दछ अदालतका लागि । अदालतलाई यो काम गरेकोमा । अहिलेपनि हामीहरु आफ्ना सिमाहरुलाई नर्बिसौँ ।’


उहाँले केपी शर्मा ओलीले हिजो प्रचण्ड र माधव नेपाललाई देखाएर दुई तिहाईको मत देखाएको भएपनि अहिले उनै विरुद्ध आक्रमण गरेको बताउनुभयो । ओलीले अदालतमाथिनै आक्रमण गरेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘संविधानलाई पांग्रा भत्काउँदै आफ्ना पक्षमा प्रयोग गर्दा सबै ठिक हुने ।

संविधानले आफुलाई छेउमा लगाईदियो भने गलत हुने । हिजो दुईतिहाई भन्दा पुष्पकमल दाहाल प्रचण्डको अनुहार देखाएर दुईतिहाई हुने, माधवकुमार नेपालको पनि अनुहार देखाएर दुईतिहाई हुने । आज उनको सम्मान गर्न नसक्दा । अनि यो अवस्था बेहोरेपछि अनि उहाँहरु माथिकै आक्रमण । त्यतिले नपुगेर, अदालतका माथि आक्रमण ।’

ओली सरकारले विगत डेढ वर्षदेखि नेपाली जनताको स्वास्थ्यमाथि खेलवाड गरेको सांसद रिजालले बताउनुभयो ।