कक्षा १२ को परीक्षाबारे आज निर्णय हुँदै


Harek Pal July 20, 2021

काठमाडौँ । कक्षा १२ को परीक्षा सञ्चालनबारे आज निर्णय हुँदै छ । परीक्षा सञ्चालनको समय निर्धारण गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको हो ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले परिक्षा सञ्चालनबारे सर्तसहित अनुमति दिएको थियो । कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारले उदासीनता देखाएको भन्दै चर्को आलोचना भइरहेका बेला सीसीएमसीले सर्तसहित परीक्षा सञ्चालन गर्न अनुमति दिएको हो ।

शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सीसीएमसीबाट कक्षा १२ को परीक्षा सञ्चालनका लागि सर्तसहित अनुमति पाएको बताए । आज बेलुका ५ बजे बस्ने बैठकले परीक्षा सञ्चालनको मिति तोक्ने सम्भावना रहेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।

साउन अन्तिम वा भदौ १ गतेदेखि परीक्षा सञ्चालनको तयारी भइरहेको छ। कक्षा १२ मा झण्डै पौने चार लाख विद्यार्थी छन् ।

गत जेठमा तय गरेको परीक्षा कोभिड १९ का सङ्क्रमण उच्च भएपछि स्थगित भएको थियो । बोर्डले गत वर्ष ४० प्रतिशत मूल्याङ्कनका लागि परीक्षा लिएको थियो ।