लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा मकवानपुरमा १५१ जना पक्राउ


हरेकपल July 21, 2021

आर्थिक वर्ष २०७७–७८ मा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा मकवानपुरमा १५१ जना पक्राउ परेका छन् ।

तीमध्ये १३९ नेपाली पुरुष, नौ नेपाली महिला र तीन भारतीय पुरुष छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार असार महिनामा ३६, चैतमा २२, जेठमा १५, पुसमा १४, फागुनमा १३ र कात्तिकमा १० जना पक्राउ परेका र सो अभियोगमा ९९ वटा मुद्दा दर्ता गरिएकोे थियो ।

एक वर्षभित्र एक हजार ७९० किलो गाँजा, साढे २३ किलो चरेस, १४ ग्राम खैरो हेरोइन र १४ किलो ७५० ग्राम अफिम बरामद गरिएको प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

त्यसैगरी सात हजार ३४७ ट्याब्लेट नाइट्रोभेट, ३०९ ट्याब्लेट डाइजेपाम, २९९ ट्याब्लेट फेनारगन र ३०७ ट्याब्लेट नोर्फिन बरामद गरिएको उनले बताए । प्रहरीले २९६ बोतल कोरेक्ससमेत बरामद गरेको थियो ।