उपलब्धि सहकारीको १४ औं स्थापना दिवस मनाइयो, दीप–गोविन्द स्मृति सम्मान घोषणा


हरेकपल July 22, 2021

काठमाडौं ६ साउन । उपलब्धि बहुउद्देश्यीय सहकारी संस्था लि.को १४ औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न भएको छ । जुममार्फत गरिएको कार्यक्रममा संस्थाको स्थापना दिवस विशेष तथा दीप–गोविन्द स्मृति सम्मान घोषणा भएको हो ।

विशेष अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले हरेक सहकारी समाजसँग जोडिने भएकाले यसको क्षेत्र व्यापक रहेको धारणा राख्नुभयो । साहित्यको क्षेत्र सर्वव्यापक रहेको भन्दै कँडेलले उपलब्धि बहुउद्देश्यीय सहकारी वास्तवमै बहुउद्देश्यीय रहेको बताउनुभयो ।

विशेष अतिथिको मन्तव्य राख्दै राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आईसिए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले साहित्यको क्षेत्रमा उपलब्धिको योगदान उल्लेखनीय रहेको बताउनुभयो । उहाँले यो सहकारीबाट अरुले पनि काम गर्ने तरिका सिक्नुपर्ने बताउनुभयो ।

त्यसैगरी बिशेष अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले उपलब्धि सहकारी संस्थाको वित्तीय स्थितिदेखि सदस्यलाई दिइने शिक्षा र तालिम सुविधालगायतका पक्षहरु सकारात्मक भएको उल्लेख गर्नुभयो । साथै उहाँले साहित्यको क्षेत्रमा उपलब्धिले खेलेको भूमिकाको उदाहरणिय भएको बताउनुभयो ।

संस्थाका सल्लाहकार एवम् दीप गोविन्द स्मृति सम्मान कोषका संस्थापक आख्यानपुरुष डा. ध्रुवचन्द्र गौतमले उपलब्धिले साहित्यलाई माया गरेकोमा खुशी व्यक्त गर्दै आफूले स्थापना गरेका पुरस्कारहरु सम्बन्धी सम्पूर्ण कार्य व्यवस्थापन गरिदिएकोमा उपलब्धि सहकारीलाई हार्दिक धन्यवाद प्रदान गर्नुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार नहकुल केसी, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, विराज सहकारीका अध्यक्ष दिनेशकुमार मगर लगायतले संस्थालाई अझै प्रगतीकोलागि शुभकामना दिनुभएको थियो ।

संस्थाका अध्यक्ष देवराज शर्माले उपलब्धि बहुउद्देश्यीय सहकारीलाई १४ औं स्थापना दिवसका दिनसम्म ल्याउन योगदान पुर्‍याउनुहुने शेयर सदस्य, शुभचिन्तक लगायतलाई बिशेष आभार व्यक्त गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष कविता खनालले सबै अतिथिहरुलाई स्वागत गर्नुभएको थियो ।

दीप–गोविन्द स्मृति सम्मान कसलाई ?

दीप–गोविन्द स्मृति सम्मान कोषबाट २०७८ सालका लागि घोषणा गरिएका विभिन्न सम्मानहरूमध्ये साहित्यतर्फको दीप–गोविन्द स्मृति सम्मान–२०७८. नेपाली साहित्यमा सिर्जनशील लेखन र विशिष्ट समालोचनाकारिताको लागि डा. ज्ञानू पाण्डेलाई र ध. च. गोतामे स्मृति सम्मान–२०७८ नेपाली साहित्यको समालोचना क्षेत्रमा विशेष गरी आख्यानसम्बन्धी उत्कृष्ट समालोचना लेखन गरेबापत अनुपमा रेग्मीलाई अर्पण गरिने भएको छ ।

पत्रकारितातर्फको गोपाल गोतामे स्मृति सम्मान–२०७८ सञ्चारमाध्यममा विशेष गरेर टेलिभिजन समाचारसम्बन्धी विशिष्ट पत्रकारिताको लागि अनिता बिन्दुलाई अर्पण गरिने भएको छ ।

यसरी नै शिक्षातर्फको ध. च. गोतामे/गोपाल गोतामे स्मृति शिक्षा सम्मान–२०७८ तराई क्षेत्रमा रहेर नेपाली शिक्षाक्षेत्रमा पाँच दशकीय अमूल्य योगदान पुर्‍याएबापत जनकप्रसाद राजभण्डारी (जनक मास्टर)लाई अर्पण गरिने भएको छ ।

प्रस्तुत सम्मान प्रत्येक वर्ष उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको ‘उपलब्धि आख्यानदिवस, वैशाख–२५’मा घोषणा गरेर संस्थाको स्थापनादिवस, साउन–७ मा अर्पण गर्ने गरिएकोमा विश्वव्यापी महामारीका कारणले गर्दा यस वर्ष यस संस्थाको वार्षिक साधारण सभा, २०७८ भदौमा समर्पण गरिने संस्थाका सञ्चालक एवम् साहित्य विकास उपसमितिका संयोजक रोशन थापा ‘नीरव’ले जानकारी दिनुभयो ।