खोप लगाउन चलचित्रकर्मीलाई विवरण पठाउन आग्रह


हरेकपल July 28, 2021

चलचित्रकर्मीहरुले कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चलचित्रकर्मीलाई खोप लगाउन प्रबन्ध मिलाउने लिखित प्रतिबद्धता जनाएपछि चलचित्र कलाकार संघले चलचित्रकर्मीलाई आफ्नो विवरण पठाउन आग्रह गरेको छ । खोप लगाउन चाहने इच्छुक चलचित्रकर्मीले यही साउन १३ गतेभित्र आफ्नो विवरण पठाउनु पर्ने संघले जनाएको छ ।

१८ देखि ४९ वर्ष र ५० वर्षभन्दा माथिका चलचित्रकर्मीको छुट्टाछुट्टै विवरण भरेर पठाउन चलचित्र निर्देशक समाज, प्राविधिक संघ, द्वन्द्व निर्देशक समाज, निर्माता संघ, नेपाल चलचित्र संघ लगायतका संस्थालाई पत्राचार गरिएको कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए । केही दिनमै जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गरेर खोप केन्द्र तोकिने उनको भनाई छ ।

समयमै खोप आयात भएमा साउन १६ र १७ गते खोप लगाउने स्वास्थ्य मन्त्रालयसँग सहमति भएको अध्यक्ष खड्काले जानकारी दिए । केही दिनअघि श्रीदेव बि.एल, रबिन्द्र खड्का, मोहन निरौला, भुवन केसी, धिरेन शाक्य, गोबिन्द शाही लगायतले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरेर चलचित्रकर्मीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेका थिए ।