भारतसँगको टि २० आई सिरिज श्रीलंकाले जित्यो


Harek Pal July 30, 2021


काठमाडौं ।
श्रीलंकाले भारतसँगको तीन टि२० आई सिरिज २–१ ले जितेको छ । तेस्रो तथा अन्तिम टि२० आई खेलमा भारतलाई ७ विकेटले पराजित गर्दै श्रीलंकाले सिरिज जित्न सफल भएको हो ।
जितको लागि ८२ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १४.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंका धनन्जय डि सिल्भा २० बलमा २ चौका सहित २३ रनमा अविजित रहे । वानिन्दु हसरंगा ९ बलमा १ चौका सहित १४ रनमा अविजित रहे ।

ओपनर अविष्का फ्रेनान्डोलाई स्पिनर राहुल चाहरले १२ रनमा कट एण्ड बोल्ड आउट गरे । मिनोद भानुकालाई चाहरले १८ रनमा एलबिडब्लू आउट गरे । मिनोदले २७ बलमा १ चौका प्रहार गरे । सदिरा समराविक्रमलाई चाहरलेनै ६ रनमा बोल्ड आउट गरे ।

भारतका स्पिनर राहुल चाहरले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । अन्य बलरले विकेट लिन सकेनन् ।

त्यसअघि आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ थालेको भारत निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८१ रन बनाएको थियो । भारतका कुलदीप यादवले सर्वाधिक २८ बलमा २३ र तीव्र गतिका बलर भुवनेश्वर कुमारले ३२ बलमा १६ रन जोडेका थिए । भारतको यो टि२० आई इतिहासको तेस्रो कम योगफल हो । भारतको टि२० आईमा सर्वाधिक कम योगफल सन् २००८ मा अष्ट्रेलियाविरुद्ध ७४ रन थियो । २०१६ मा न्युजिल्यान्डविरुद्ध ७९ अल आउट भएको थियो ।
भारत पहिलो खेलमा ३८ रनले विजयी हुँदा दोस्रो खेलमा ४ विकेटले पराजित भएको थियो ।

तीन ओडिआई सिरिज भारतले २-१ ले जितेको थियो । भारतको पहिलो रोजाईको टोली इंग्ल्यान्डमा छ । इंग्ल्यान्डसँगको पाँच टेस्ट सिरिज अन्तर्गत पहिलो खेल खेल चार अगष्टमा सुरु हुने छ ।