टोकियो ओलम्पिक : फाइनल पुग्न मेक्सिको र ब्राजिल तथा स्पेन र जापान भिड्ने


Harek Pal July 31, 2021


एजेन्सी–टोकियो ओलम्पिकमा फुटबल तर्फको सेमिफाइनल समिकरण पुरा भएको छ । पुरुष फुटबल तर्फ फाइनल प्रवेशका लागि मेक्सिको र ब्राजिलबीच प्रतिस्पर्धा हुने छ भने द दोस्रो सेमिफाइनलमा जापान र स्पेन आमने सामने हुने छन् ।


घरेलु टोली जापानले न्यूजिल्याण्डलाई शनिबार भएको क्वाटरफाइनलको खेलमा टाइब्रेकरको सहारामा ४–२ गोल अन्तरले पराजित गरेको थियो । निर्धारित र थप गरिएको समयमा दुवै टिमबाट कुनै पनि गोल नभएपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको हो । जापान ४–२ गोल अन्तरले विजयी हुँदा न्युजिल्याण्डका लिबरेतो ककासे र क्लेटन लेविसले गोल गर्न असफल रहेका थिए ।


जापानका लागि आइस वुएडा, को इटाकुरा, इटा नाकायामा माया योसिडाले गोल गरेका थिए । न्यूजिल्याण्डका लागि क्रिस वुड र कलुम क्याकवाटले मात्र गोल गरेका थिए ।


यस्तै शनिबार नै भएको अर्को खेलमा स्पेनले आइभरी कोस्टलाई ५–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । स्पेनका लागि अतिरिक्त समयमा राफा मिरले निर्णायक गोलका साथै ह्याट्रिक समेत पुरा गरेका थिए । आइभरी कोस्टका लागि इरिक बेलीले दशौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ३० औं मिनेटमा डेनियल ओल्मोले गोल गरेपछि स्पेनले खेल बराबरी गरेको थियो । मार्क ग्राडेलले दोस्रो हाफको अतिरिक्त समयमा गोल गरेपछि आइभरी कोस्टले पुनः अग्रता २–१ ले बनाएको थियो । तर, अतिरिक्त समयकै तेस्रो मिनेटमा स्पेनका लागि राफा मिरले गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याएपछि अतिरिक्त समयमा पुगेको थियो ।


मिर वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको एक मिनेटमै गोल गर्दै खेलको रौनक फेरेका थिए । त्यसपछि उनले अतिरिक्त समयमा ह्याट्रिक नै पुरा गरे । ९८ औं मिनेटमा मिकेल ओरिजबलले गोल गर्दै स्पेनको अग्रता ३–२ गोलको बनाए ।


त्यसपछि राफाले ११७ औं मिनेटमा टिमका लागि चौथो गोल गर्दा व्यक्तिगत दोस्रो गोल गरेका थिए । अतिरिक्त समय सकिन केही सेकेण्ड बाँकी रहेका बेला राफाले ह्याट्रिक पुरा गर्दा स्पेन अन्ततः ओलम्पिकको सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।


क्वाटरफाइनल अन्तर्गत शनिबार नै भएको अर्को खेलमा ब्राजिलले ईजिप्टलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । ब्राजिलको जितमा ३७ औं मिनेटमा रिचार्लिसनको सहयोगमा म्याथ्युस कुन्हाले गोल गरेका थिए ।


यसैगरी मेक्सिकोले दक्षिण कोरियामाथि ६–३ गोलको जित निकाल्दै ब्राजिलसँग सेमिफाइनल भेट पक्का गरेको हो ।

ब्राजिलका लागि हेनरी मार्टिनले १२ औ र ५४ औं मिनेटमा गरि २ गोल गर्दा फ्रान्सिस्को कोर्डाभाले ३९ औं र ६३ औं मिनेटमा गरि व्यक्तिगत दुई गोल गरे । यसैगरी लुईस रोमोले २९ औं र इडुआर्डो एगुइरेले ८४ औं मिनेटमा गरि व्यक्तिगत एक एक गोल गरेका थिए ।
कोरियाका लागि दोङ कियोङ लिले २० र ५१ औं मिनेटमा गरि दुई गोल गर्दा उई जो ह्वाङले दोस्रो हाफको अतिरिक्त समयमा अर्को गोल गरेका थिए । सेमिफाइनलका खेलहरु अगष्ट तीन तारिखमा हुने छ ।