कोभिडको पिडामा लरबरिएका पाइलाहरु



-दीपक अर्याल-

रोगप्रति अल्पज्ञान थियो, आफ्नो ज्ञान र विवेकभन्दा संचार माध्यममा आएका समाचारमा आश्रीत हुने अवस्था बन्यो । स्यानिटाइजरको गुणस्तरको पत्तो छैन भेटयो कि दलिहाल्न थालियो । स्यानिटाइजरले राम्रै काम गरेछ, हात राम्रैसँग डडयो ।

साबुने धुने, पखाल्ने, मिच्नका लागि केहि बाँकी राखिएन । सब्जी त कतिपटक पखालिन्छ विचरा प्राण भएको भए उसल गाली गथ्र्याे होला । दुधको प्लाष्टिकलाई मिचिमिची साबुन पानीले पखाल्ने आदत नै बसेको छ । हुँदाहुँदा प्रयोग भईरहेको मोवाइललाई पनि मिचिमिची पखालेँ, हुस्सुप्रसाद भएकोले मोवाइलको प्राण बायु उड्यो । अव न रह्यो बाँस न बज्यो बाँसुरी सामाजिक संजाल हेर्ने टन्टा नै साफ भयो । मन किन मान्थ्यो देश र विश्वमा केके न भयो कोरोनाको औषधी निस्किसक्यो होला भनेर बेचैन बनायो ! उपाय लगाएँ एकजना मित्रले स्क्रिन फुटेर थन्क्याएका मोबाइल मागेर जोगाड गरेँ । पुन सामाजिक संजालमा जे लेख्यो कपि गर्न थालेँ । अप्पज्ञानी साच्चीकै महामुर्ख हुने रहेछन भन्ने आफैमा प्रमाणित गरिदिए । यसरी जानीनजानी भाग्दाभाग्दै कुन मेसोमा गीताजीलाई कोरोना सल्कियो पत्तै भएन् ।

हुनत हामीभन्दा उनि वढिनै निस्फिक्रि थिइन् । बेलामौकामा हामीलाई सम्झाउने पनि गर्थिन, भन्थिन कोभिडसँग सतर्क हुने हो डराउने होइन् । छोरीको नर्स जागिर, रोलक्रममा कोभिड वार्डमा काम गर्नुपर्ने भएकोले जोखिम थियो नै तरपनि उनि होसियार थिइन् । मेरो काम गर्ने कार्यालय टाढाभएपनि भरसक कोहिकसैसँग ठोक्किन खोज्दिन थिएँ । विगत केहि महिनादेखि कोभिड संक्रमणको डरले कार्यालयको सवारी चालकलाई चलाउन नलगाएर म आँफै चलाउँदै आईरहेको थिए । उनि अर्थात श्रीमती गीताजीका हिजोआजका दिनचर्याहरु खासै वाध्यकारी केहि थिएन, कहिलेकाहि छिमेकमा भएको सामाजिक कार्यमा संलग्न हुन्थिन बस त्यति थियो !

कोभिड–१९ ले विगत एकवर्षदेखि हामी सवैलाई सिमित क्षेत्रमा मात्र बन्धन गरायो । केबल घरबाट अफिस, अफिसबाट घर फर्कनेमा सिमित बनायो । आफन्तीसँग साक्षात्कार गर्ने निकै टाढाको कुरा हुन थाल्यो । सम्पर्क गर्ने माध्यम मोवाइलमा सिमित भयो । यस विचमा घरपरिवार र समाजमा ठूल्ठूला दुर्घटनाहरु भईनै रहे । धेरै असल मानिसहरुको देहावसान भई नै रहयो । तर हामी सहानुभूतिका शब्द पस्कन पनि जान सकेनौ । केवल सामाजिक सञ्जालमा केहि शब्दको औपचारिकता बर्साएरै उम्कने कोशिस गरयौं । कतिसम्म नालायक भइयो भने नजिकका नातादारहरु परलोक हुँदापनि समवेदना दिन गइएन । हामी जोइपोइ विगतमा नातागोता, इष्टमित्र, साथीभाईहरुका शुखदुखमा सकभर सहभागी हुँदै आईरहेकाले आफ्नै व्यवहारले आँफैलाई असिजिलो, साह्रै गल्ती गरेजस्तो लाग्न थाल्यो । आँफैसँग ग्लानी हुन थाल्यो । यस्तैमा छोरीले एकदिन दुख मान्दै भनि “हैन हामी त साह्रै असामाजिक भयौ” मानवियता पनि देखाउन सकिएन । हामीमात्र बाच्नुको के अर्थ ? छोरीको झटारोले हामीलाई सोचमग्न बनायो । “होनी आफन्तका दुखमा अँगालो मार्न नसकिएपनि सहानुभूति त दिन सकिन्थ्यो” ? कठै हामी मात्र बाँचेर के गर्ने ? यस्तै—यस्तै कुराले मनमा ज्वारभाटा ल्याउन थाल्यो तरपनि आफ्नो ज्यानको माया लागिहाल्दो रहेछ, जति भटभटिए पनि केहि गर्न सकिएन । मर्ने मरिरहे । अस्पतालमा छटपटिनेहरु छटपटि रहे । कसैलेपनि हाम्रा प्रेमरुपी स्पर्शलाई पर्खिएनन् । महामारी घटने सुर छैन ।

महामारीले जतिनै लपेटेपनि समाजले आ—आफ्नो व्यवहार विस्तारै चलाउन थाले । बैशाखका दिनमा निस्किएको शुभ कार्यको लगन छोप्नका लागि लम्किए ! अलिपरका इष्टमित्रका आमन्त्रणलाई प्रेमपूर्वक अस्विकार गरेपनि घरैसँग जोडिएका छिमेकीको शुभकार्यमा सहभागी हुनै पर्ने भयो । म र छोरी अफिस जानुपर्ने भएकोले यसको जिम्मा गीताजीलाई दियौं, जहाँजहाँ अनुकुल पर्दथ्यो त्यहाँ गइन होली ?

मध्य बैशाखको दिन, टाढा अफिस भएकोले विहान सवेरै खाना खाएर निस्किने तरखर गर्दैथिए अनायास गीताजीले भनिन हैन म त पिसिआर गरौं कि क्या हो ? म ट्वाल्ल परें उनि भन्दै गइन खै किनहो मलाई पिसिआर गर्न मनलाग्यो । मैले सोधें “केहि असजिलो भएको छ र” ? उनले भनिन, खासै त्यस्तो त केहि छैन तर पछाडी दुवै पाता दुखिरहेको छ । म केहि नबोली निस्किए । घरबाट पनौतीसम्म जान झण्डै दुई घण्टाको ड्राइभ गर्नुपर्छ । दिनभरै व्यस्त भएँ । पनौतीबाट फर्कनलाई पाँचै बज्यो । पनौती जान दुई घण्टा फर्किन तिन घण्टा लाग्छ । भक्तपुरबाट बनस्थलीसम्मको बाटो छिचोल्न साह्रै सकस हुन्छ । बानेश्वर आईपुगेको थिए छोरीको फोन आयो । अनायास छोरीले अक्सिमिटर ल्याउनुभएको छ र पापा भनेर पो सोधी, म झसङ्ग भएँ, मैले एक सासमा सोधे किन के भयो ? मामुलाई ज्वरो आएको छ, स्याचुरेसन हेर्नको लागि अक्सिमिटर चाहिएको हो उनले भनिन् !
पनौतीमा भएको अक्सिमिटर बोकेको थिइन त्यसैले मोटर त्रिपुरेश्वरतिर मोडेर अक्सिमिटर किनेर घरमा आएँ । गीताजी माथिल्लो तल्लाको खाली कोठामा सुतिरहेकी थिइन हत्तपत्त अक्सिमिटरले उनको स्याचुरेसन हेरें सामान्य देखायो । उनले दिउँसो टेकु अस्पतालमा गएर स्वाव दिईसकेकी रहिछन राती दश बजेतिर कोभिड पोजेटिभ भएको म्यासेज आयो ।

अव हाम्रो उनिसँगको दुरी बढ्यो । उनि माथील्लो तलामा हामी तल्लो तलामा बस्ने भयौ । हामी रोगप्रति सचेत र जानकार भएकोले गीताजीलाई कोभिड पोजेटिभ भएको कुरा केहि छिमेकी र साथीहरुलाई खवर गरयौं । उनिहरुका सदासयता, माया साथै तागतिलो खानाका बट्टा पाउन थाल्यौं । हामी उनिहरुको प्रेमले कृतकृत भयौं तर गीताजीको ज्वरो घटदै घटेन । दिनहरु क्रमश वित्दै गयो, पाँचौ दिनसम्म पनि ज्वरो नघटेपछि नजिकको साईबाबा अस्पतालमा गएर छातीको एक्सरे गरायौं । एक्सरेलाई फोटो खिचेर आफन्त र चिनजानका डाक्टरहरुलाई देखायौं । सवैले छातीमा खासै समस्या छैन भनेकाले ज्वरो कन्ट्रोल भए हुन्थ्यो भन्ने मात्र लाग्यो । सातौदिन सम्म ज्वरोले विश्राम नलिएकोले मन छटपटाउन थाल्यो ।

छोरी केहि दिनदेखि विदा लिएर बसेकी छ । अव गीताजीलाई अस्पताल लग्नुपर्छ अफिस गएर व्यवस्था मिलाएर फर्कन्छु भनेर म हिँडे । साँझ घर फर्कदा छोरी केहि हतास केहि आत्तिएकी जस्ती देखिन्थी । तथापी नियमित जस्तै खाना बनाएर गीताजीलाई दियौं । हामी खाँदै थियौं गीता नराम्रोसँग खोक्न थालिन । उनि लगातार दश मिनेटजती खोकि रहिन । हामी हत्तपत्त माथी गयौं उनको अक्सिजन लेवल स्वाट्टै घटेर ७१ भएछ । छोरी अक्सिजन लिन दौडिई संयोगले एक सिलिण्डर अक्सिजन भेटियो । करिव आधा घण्टाको अवधिभित्र गीतालाई अक्सिजन दियौं केहिबेरमा नै उनको अक्सिजनको लेवल सामान्य भयो । अस्पताल लग्ने तरखरमा काठमाडौंका धेरैजसो अस्पताललाई फोन घुमाएँ कहिबाट सकारात्मक जवाफ आएन । छोरी बेचैन छे, म किंकर्तव्यमुढ छु । के गर्ने कसो गर्ने मेरो दिमागले सोच्न सकेको छैन । हातखुट्टा लरबरिएको छ । यस अघि म आँफुलाई बाघजस्तो ठान्थे । जोकोहीको शुखदुखमा एक्लै काँध थाप्न पुग्थें । विरामीलाई एक्लै काँधमा बोकेर अस्पताल दौडिन्थे, विरामीको खातिर गुडिरहेको बसबाट हाम्फाल्थें तर आज म लरवरिएको छु । यो माहामारीमा कहाँ जाने, कोसँग सहयोग माग्ने ? मेरो दिमाग सुन्य हुँदै गईरहेको छ । हामी बाउ छोरी शब्दविहिन सोफामा बसेका छौं ।

रातको त्यस्तै दश बजेको थियो क्यारे तल ढोका ढक्ढकिएको आवाजले सतर्क भएँ । भाञ्जी ज्वाई सन्दिप घिमिरे र भाञ्जी अर्चना आएका रहेछन्, केहिबेरमा भाई उज्वल पनि आइपुग्यो । सन्दिपजी पत्रकार भएकोले केहि अस्पतालमा फोन घुमाउनुभयो केहि कोभिड विरामी हेरिरहेका डाक्टरहरुसँग सम्पर्क गर्नुभयो सवैले विरामीलाई एकमिनेट पनि घरमा नराख्न सल्लाह दिन्थे तर कहाँ लग्ने भन्ने कोहिसँग जवाफ थिएन । काठमाडौका अस्पतालमा कुनै विकल्प नभएपछि हामी चितवन जाने निक्यौलमा पुग्यौं । सन्दिपजीले एम्वुलेन्सको व्यवस्था मिलाउनुभयो लगतै हामी चितवन जान निक्कियौं ।

गीताजीलाई अगाडी लगाएर घरको मुख्य ढोका पार गर्नै लाग्दा मेरा खुट्टा अगाडि बढनै सक्दैन थरर काम्न थाल्छ । मेरो मनले हरेस खाएछ । मनले कल्प्यो गीतालाई फेरी यो ढोकाबाट भित्र ल्याउन सक्छु त ? पलभरमा नै आँखा भरियो । छोरी झोला बोकेर ढोकामा साँचो लगाउन लागेपछिमात्र मैले गीतालाई खोजे ! उनि त पर्खाललाई समात्दै अलिपर मुल सडकतिर लम्किरहेकी थिइन् । हत्तपत्त छोरी र म उनलाई समाल्न अगाडि लम्कियौं । एम्वुलेन्स आइपुग्यो, एम्वुलेन्सको नमिठो र ककर्स आवाजले फेरि मनलाई एकपटक भित्रैदेखि निमठ्यो । एम्वुलेन्सभित्र एउटा सिलिण्डर भएपनि सन्दिपजीले घरमा भएको सिलिण्डरलाई पनि राख्न आग्रह गर्नुभयो । छोरी मामुसँगै एम्वुलेन्सको पछाडी बसेर मामुको नाकमा अक्सिजनको पाइप राख्दिई । म ड्राइभरसँगैको सीटमा बसे । एम्वुलेन्स वेस्वादिलो हर्न बजाउँदै हुँइकियो । अस्पतालसम्मको यात्रा कम्तिमा चार घण्टाको थियो, बाटोमा जाम परयो भने के हुन्छ होला ? अनिश्चयतामा आसाको सानो झिल्को बोकेर अगाडि बढयौं ।

२०७१ साल भाद्रमा मेरी भाउजु छातिको समस्याले निकै ग्रसित हुनभयो । दुई छोरा एक छोरीको आमा, छोराछोरी जीवनका उच्चतम मार्गमा हिडिरहेका छन् । जेठो छोरा सिभिल इन्जिनियर यु.यन. अन्तर्गत कंगोमा काम गर्छ । सानो छोरो अमेरिकी सरकारको छात्रवृतिमा फ्लोरेडा स्टेट युनिभर्सिटीमा भौतिक शास्त्रमा विद्यावरिधी गरिरहेको छ । छोरी फार्मसीमा व्याचलर गर्दै छे भने दाजु विद्यृत प्राधिकरणको अधिकृतबाट सेवा निवृत हुनुभएको छ । यस्ता सन्तानका धरोहर हुन मेरी भाउजु । यस्ती भाउजुलाई आखै अगाडी कसरी मर्न दिने ? भोलि कंगोमा भएको छोरा र अमेरिकामा विद्यावारिधी गर्दै गरेको छोराले हाम्री आमाको मृत्यु छातीको संक्रमणले भएछ हगि “काका” भनेर आँखा टिल्पिलाए सोधे मैले के जवाफ दिने ? एकातिर रोगले जिर्ण भएको भाउजुको मुहार आँखै अगाडि छ भने अर्कोतिर ति केटाहरुको प्रश्नबाचक तस्विरले घोचिरहन्थ्यो । सामान्य आर्थिक हैसियत भएता पनि, उच्च आँटले भाउजुलाई टपक्क टिपेर दिल्लिको मेदान्त अस्पताल गएँ । भाउजुको जटिल सल्यक्रियापछि सत्र दिन दिल्लि बसेर सकुसल नेपाल फर्कियौं । तिनताका उच्च मनोवल थियो, निर्णय गर्न सक्ने उच्च क्षमता रहेछ क्यारे ? अहिले निकै थाकिसकेछु । छोरीको एक्लो काँधले कति भरथेक देली ? विचरी ! तरपनि मेरो विश्वास र भरोषा उनैमा त थियो ।

खानीखोला नजिकै पुग्दा बाटोमा ठुलै जाम थियो । त्यहाँ ट्रिपरको सामाज्यनै थियो, कोहिकसैलाई बाटो छोडन तम्तयार थिएनन । हामीलाई पो हतार थियो उनिहरुलाई के थियो र ? एकघण्टाको छिनाझम्टी पछि हामीले बाटो पायौं । एम्वुलेन्सलाई बाटो दिनुपर्छ भन्ने ज्ञानै नभएका ओस्ताजहरु थिए वा पैसाको अगाडि मानवियता बेचिएका दलालहरु थिए पत्तै भएन । जेहोस एकघण्टामा जाम छिचोलियो । नौविसे के पुगेको थियो एम्वुलेन्सका चालकले मलाई सोधे “तपाईलाई मोटर चलाउन आउँछ” मैले सहजै जवाफ दिएँ “आउँछ” । त्यसोभए तपाई “मोटर चलाउनु मलाई एकदमै निन्द्रा लाग्यो म सुत्छु” । “हैन यो चालक के भन्दैछ” यो कापेको हातले म कसरी ड्राइभिङ गर्न सक्छु । भने “हुँदैन” म चलाउन सक्दिन । नकच्चरो र व्यविचारी ड्राइभर अलिक अगाडि पुगेपछि मोटर साइट लगायो र एकछिन सुत्छु भनेर मोटर बन्द गरयो । गीता धोद्रो स्वरमा खोक्दै लम्पसार सुतेकी छ, छोरी र म उसको पिडालाई हेर्न सक्दैनौ । हाम्रा विवस आँखाले चालकको निन्द्रा खुल्ने प्रतिक्षा गरिरहेकाछौं । आधा घण्टा भयो चालक उठेन । एम्वुलेन्स चलाउने चालकको यो भन्दा अमानवियताको पराकाष्ठ के हुन सक्छ ? छोरी आत्तिई “पापा अक्सिजन सकियो भने बर्वाद हुन्छ” चालकलाई उठाउँ ! उसलाई उठाएँ मुख धुन लगाएँ भन्यो अव फ्रेस भयो जाउँ । किन हुन्थ्यो केहि अगाडि बढेपछि फेरि मोटर नाच्न थाल्यो, त्रिशुलीमा फाल्दिने होकि भन्ने अर्को सन्त्रास पस्यो । यो पापीले गीतालाई सग्लो अस्पताल नपुरयाउने भयो झै लाग्यो । तर म विचरोसँग उपायनै के थियो र ? उसको कुममा धक्का हान्दै जगाउने भन्दा अरु विकल्प थिएन् ।

जसोतसो विहानको ३.३० मा कृष्णभिर पुग्यौं । चिया पियो भने निन्द्रा भाग्छ भनेर चिया पिउन रोक्यो । एम्वुलेन्समा भएको अक्सिजनको सिलिण्डरले राम्रोसँग काम नगरेकोले छोरीले घरबाट लगेको सिलिण्डर जोडिसकेकी रहिछ । यहाँको अलमलले छोरी धेरैनै आत्तिई म भने जो मागेको पैसा तिरेर ल्याएको एम्वुलेन्सको ड्राइभरसँग जीवनको भिख माग्दै अनुनय गर्दै थिएँ । बलै चिया दोकानबाट निस्कियो । झण्डै दश मिनेट जति अगाडि बढेपछि “ला” मेरो त मोबाइल त्यहि चिया पिएको दोकानमा छुटेछ भन्न थाल्यो । हे भगवान यो मान्छे कस्तो हो ? यस्तो नरपशुले पनि एम्वुलेन्स चलाउने ? भनेँ “ठिकै छ तिमिलाई म मोबाइल किनिदिन्छु हिड” उसले भन्यो कम्पनीको सीम छ मोबाइल त लिन जानुपर्छ भनेर मोटर फर्कायो । गीतालाई पत्तो छैन, हामी बाउ छोरी मुखामुख गर्नु बाहेक के नै गर्न सक्थ्यौं ।

मसँग गीतालाई बोलाउने आटँ छैन । उनि बोल्दिनन कि भनेर म तर्सिएको छु । चितवनको कालिखोलामा फेरि मुर्ख ड्राइभरले मुख धुन भनेर मोटर रोक्यो, यतिबेला भने गीता आफैले सोधिन कहाँ आइपुग्यो “पापा” मैले “कालिखोला” भने । उनैले भनिन “अव आधी घण्टामा चितवन मेडिकल कलेज पुगिन्छ” उनको यति बोलि सुनिसकेपछि मेरो शरिरका सिथिल भईसकेको रक्तनलिहरुमा रक्तसंचार भएजस्तो भयो । चितवनमा हुर्कि, बढि, पढेकीले आफ्नो माटोको सुगन्धले उनलाई पुर्नताजगी बनाएछ झै लाग्यो । घ्याच्च मोटरको ब्रेक लगायो । फेरि निन्द्राको तालमा दायाँवायाँ नागवेली बनाएर चलाउने र घच्याक्क रोक्ने गर्न थाल्यो । हे प्रभु ! योसँग नसकिने भयो !

रातको करिव एघार बजे काठमाडौंबाट हिडेको भोलिपल्ट विहानको छ बजे चितवन भरतपुरमा अवस्थित चितवन मेडिकल कलेजको गेटभित्र छिरायो । भाई प्रताप देवकोटा (मेरो मामाको छोरा) बेलायतबाट हस्पिट्यालिटी म्यानेजमेन्टमा मास्टर्स गरेर आएपछि केहि समय काठमाडौंको न्यूरो अस्पताल बाँसबारीमा काम गरेपछि विगत केहि वर्षदेखि चितवन मेडिकल कलेजको मुख्य कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेको छ । दाई भाउजु काठमाडौंबाट एघार बजे हिडेकाले रातीनै आईपुग्छन भनेर रातभरी जागा बसेछ । हामी गेटबाट छिर्ने वित्तिकै आइपुग्यो । उसलाई देखेपछि छोरी र मेरो हराएको हाँसो सायद प्रस्फुटित भयो क्यारे ! गीताले पनि उज्यालो अनुहार बनाएको आभाष भयो । गीतालाई ट्रलिमा राखेर माथी लग्यो छोरी र प्रताप सँगै माथी गए । मभने जसरी भएपनि चितवनसम्म ल्याईपुराईदिएकोमा एम्वुलेन्स चालकलाई धन्यवाद दिदै उसँग बोलकबोल गरेको रकम दिएर विदा गरे । म माथी चढदा गीतालाई नशाबाट औषधी दिन शुरु गरिसकेको थियो । छोरीले कार्ड बोकि र प्रतापसँगै गएर अस्पतालको औपचारिकता पुरा गरी ।
प्रतापले नै सवै प्रवन्ध मिलाइ दियो । नजिकैको ग्लोवल होटलमा हाम्रालाई कोठा बुक भएकाले गीतालाई आईसियुमा छोडेर हामी होटलतिर लाग्यौं । होटलमा केहि समय आराम गरेर अस्पताल आउँदा भने त्यहाँको दृष्यले अचम्मित बनायो ।

विगत एकवर्ष देखि मानिससँग भाग्दै हिडेका थियौं, मास्क लगाएर कम्तिमा दुई मिटरको दुरिको रटान लगाएर बसेका हामी यहाँ डाक्टर र विरामी विच दुई मिटरको फासला नदेख्दा किन अचम्मित नहुनु । डाक्टरले गीताजीलाई स्पर्श गरेर जाँचीरहेको, नर्सहरु डाक्टरको नजिकै बसेर उनिहरुका निर्देशन टिपिरहेका साथै भाई प्रतापपनि सँग उभिएको दृष्यले छक्क परयौं । हत्तेरिका आतंक पनि कति धेरै भोगिएछ भने आफ्नै मान्छेबाट धेरै भागियो । छोरी आफै नर्स भएकीले व्यक्तिगत सुरक्षा अपनाएर मामुको रेखदेख गरिरहेकी थिई, यहाँको दृष्यले मेरो सोचाईमा पनि परिवर्तन ल्यायो । मास्क, फेस सिल्ड र हातमा पञ्जा लगाएर मपनि नियमित अरु दशौ कोभिडका विरामीहरुलाई क्रस गर्दै गीताजीको नजिकै जान थालें । यसरी नियमित सातदिनसम्म अस्पतालको बेडमा बसेर गीताजीले कोभिडलाई परास्त गर्न सकिन र अस्पतालबाट डिस्चार्ज भइन् । लाग्यो बास्तवमै स्वास्थकर्मी भनेका देशका बर्दिविनाका सिपाहीहरु रहेछन् जसको कारणले कैयौ जनताले प्राण पाएका छन् ।

त्यसरीनै एम्बुलेन्समा भएका अक्सिजनको सिलिण्डरमा मात्र भर परेर जगेडा सिलिण्डर नराखेको भए सायद आजको दिन नआउनपनि सक्थ्यो ? त्यसरीनै मलाई आत्मबल भर्न भाई उज्वल नआएको भए खुट्टा अझै लुला हुन्थे होला । चितवन मेडिकल कलेजका भाई प्रताप देवकोटा लगाएत डाक्टरको टिमको त के कुरा गर्नु उहाँहरुले त गीतालाई यमराजको ढोकाबाटै थुतेर ल्याईदिए ।
हाम्री छोरी गृष्माले यस्तो आपदको समयमा पुरयाएको सुझबुझपूर्ण र जिम्मेवारीपूर्ण कार्यले साह्रै गर्वित बनायो । उनले कुनै छोराले भन्दा कम जिम्मेवारी निभाइनन । हामी ढुक्क र गर्वले भन्छौ हामीलाई उनैको काँधको भरोषा छ ।

हाम्रो यो दुखको घडिमा साथ दिएका प्रियजनहरु भाई प्रताप देवकोटा, सन्जिव रेग्मी र मुना रेग्मीले तिर्न नसकिने ऋणको भारी बोकाएका छन् । हाम्रो यो दुखको क्षणमा काठमाण्डौबाट प्रत्येक पल माया र सहयोगका हात दिन तम्तयार आदरणियहरु दाजु कमल अर्याल, भाइ उज्वल, मणि आचार्यज्यू तथा टेकनाथ भट्टराईज्यू लगाएत अन्य सहयोगी मनहरु प्रति आभारी छौं ।
गीताजीको अवस्था र चितवन मेडिकल कलेजको बसाईले धेरै कुराको पाठ सिकायो । मूख्य कुरा यो महामारीको बेलामा निरपेक्ष भएर घरमा आइसोलेसन बस्ने कदापी होइन रहेछ । नियमित डाक्टरको सम्पर्कमा रहन अति आवश्यक छ । समयमा नै अथवा फोक्सो पूर्णरुपमा क्षती हुन्जेलसम्म घरमा बस्नु गल्ति हो । बेलैमा अस्पताल पुगेर उपचार भएमा कोभिड पूर्ण रुपमा निको हुन सक्ने रहेछ भन्ने पाठ सिकियो । त्यसरी नै सुरक्षाका सामानहरु जस्तै माक्स, फेस सिल्ड र पञ्जा लगाएर कोभिड भएका विरामीलाई रेखदेख गर्न सकिन्छ ।

घर पुगिसकेपछि माक्स र पञ्जालाई डिस्पोजल गर्ने र फेससिल्डलाई साबुनपानीले धोएर पुनः प्रयोग गर्न सकिन्छ भने अस्पताल बस्दाको कपडालाई नियमित राम्रोसँग धोइपखाली गर्दा संक्रमणबाट जोगिन सकिन्छ भन्ने हाम्रो अनुभवले सिकाएको छ । छोरी र म गीताजीको सामिप्यमा रहि नियमित रेखदेख गरयौ । उनि डिस्चार्ज भएपछि हामीले कोभिड जाँच गर्दा रिपोर्ट नेगेटिभ आयो । सायद हामी अनुशासित भएर सुरक्षाका सामानहरु नियमित प्रयोग गरेकोले रिपोर्ट नेगेटिभ आएको हो भन्ने हाम्रो ठम्याई छ । त्यसैले धेरै प्यानिक हुन भन्दा सुरक्षित होऔं । हे प्रभु, कसैलाई पनि यस्तो दुख भोग्न नपरोस् । सवैको जय होस् ,