सुनपानी छर्क रुकुमलाई !



– राम लामा अविनाशी –

समय बदलियो,
जमाना बदलियो
पुरै युग बदलियो
कैयौँ फरिया झुत्रा भए
कैयौँ मजेत्रा झुम्रा भए
पुक्क परेका
तिम्रा गाला चाउरिए
जीवनशैली बद्लियो ।

तर, ए, रुकुमेली आमा !
तिम्रो सोच भने
कहिल्यै बदलिएन ।

बैँस त सबैमा आउँछ
तिम्रो पनि आयो
तिमीले पनि जीवनसाथी खोज्यौ
तिमी पनि मदहोसीमै डुब्यौ
त्यसैले त आमा बन्यौ
त्यसैले त छोरी पायौ ।

छोरी बैँसालु बनिन्
बैँसमा पटकपटक भिजिन्
पटकपटक तिमी अन्जान बन्यौ
कर्तव्य विमुख भयौ
अपराध गर्न अघि सर्‍यौ गाउँलेसँग गुहार मागी
चोखो मायाको हत्या गर्‍यौ
भेरीको भेलमा फ्याँक्न भन्यौ
आफ्नै जस्ता सन्तानलाई
छोरीको भ्रूणको पितालाई ।

बिटुलो पार्‍यौ छोरीलाई,
बिटुलो पार्‍यौ भेरीलाई
सुनपानी छर्क सबैलाई
कुटीकुटी मार्नेलाई
घिसार्दै नदीमा फ्याँक्नेलाई ।

सुनपानी छर्क सबैतिर
जुन बाटो घिसार्दै लगे
जुन झाडीमा लछार्दै लगे
तिमीहरूले मारेर फ्यालेको
दलितको रगताम्य लासले
बिटुलो बनेको
भेरीलाई पनि चोख्याऊ ।

अनि
एक विभेदकारी कुसंस्कारीलाई
तिमीलाई सर्वोच्च लाग्ने लट्ठकलाई
केके जाती मन्त्र पढ्दै
तिनै कामातुर छोरीसँग
सम्भोग गर्न लगाऊ
ताकि
अछुतसँग बिटुलिएको
उनको पाठेघर शुद्ध होओस् ।

ए, रुकुमेली आमा !
तिमी पनि त नारी हौ
तर, तिम्रो सोच भने
कहिल्यै बदलिएन ।