गुजरातका मुख्यमन्त्री रुपाणीले दिए राजीनामा


हरेकपल September 11, 2021

भारतको पश्चिमी राज्य गुजरातका मुख्यमन्त्री विजय रुपाणीले शनिबार आफ्नो पदबाट राजीनामा दिएको अधिकारीहरुले बताएका छन् ।

रुपाणीले आगामी वर्षको अन्ततिर राज्यमा निर्वाचन अगाडि अप्रत्याशित कदममा आफ्नो राजीनामा दिएका छन् ।

रुपाणीले राजीनामा दिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘नयाँ उत्साह र नयाँ ऊर्जासहित गुजरातको विकासको यात्रा नयाँ नेतृत्वमा अगाडि बढ्नुपर्छ भन्ने मेरो विश्वास छ । यो कुरालाई ध्यानमा राख्दै मैले गुजरातको मुख्यमन्त्री पदबाट राजीनामा दिएको हुँ ।’
उनले भने, ‘म जस्तै पार्टी कार्यकर्तालाई गुजरातको मुख्यमन्त्रीको रुपमा सेवा गर्ने महत्वपूर्ण मौका दिन पाएकोमा म खुशी छु ।’

गुजरात भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका सहयोगी संघीय गृहमन्त्री अमित शाहको गृह राज्य हो । रुपानीको राजीनामा के कारणले आएको भन्ने विषयमा थप विवरणहरू आउन अझै केही समय लाग्ने छ । तथापि, रिपोर्टहरूमा भारतीय सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) को ‘सुधारको बाटो’ हुनसक्ने बताइएको छ ।

रुपाणीले २६ डिसेम्बर २०१७ मा दोस्रोपटक गुजरातको मुख्यमन्त्रीका रूपमा शपथ लिएका थिए । भाजपाले गुजरातमा १८२ सिटमध्ये ९९ मा जीत हासिल गर्दै बहुमत प्राप्त गरेको थियो । विधानमन्डल दलको बैठकमा रुपाणी विधायक दलको नेता र नितिन पटेल उपनेता चुनिएका थिए ।