कवि नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रह लोकार्पण


हरेकपल September 12, 2021

काठमाडौं । कवि मीनकुमार नवोदितको तेस्रो कवितासङ्ग्रह ‘समयको बयान’को प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवसलगायत विभिन्न स्रष्टाहरूले शनिबार राजधानीमा आयोजित एक समारोहमा लोकार्पण गर्नुभयो ।

साहित्यिक पत्रकार संघद्वारा आयोजित उक्त कार्यक्रममा वरिष्ठ कवि दिवसले ‘समयको बयान’मा नवोदितले आफ्नो निजत्वलाई मौलिक र नवीन ढंगले सशक्त रूपमा अघि बढाएको बताउँदै उनका कवितामा समय हिंडेको र स्थान गतिशील भएको पाइन्छ भन्नुभयो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य प्रा. डा. हेमनाथ पौडेलले कवि नवोदितका कविता समयको यथार्थलाई बोध गरेर लेखिएका बेजोड कविता हुन् भन्नुभयो ।

समालोचक प्रमोद प्रधानले कवि नवोदितको दुई दशक लामो काव्य र पत्रकारिता यात्राको चर्चा गर्दै उनका कविता शब्दको जोड घटाउ मात्र नभएर काव्य चेतनाको स्तरले उच्च रहेको बताउनुभयो । समालोचक ज्ञानु अधिकारीले नवोदितका कवितामा समय, सम्बन्ध र स्मृति बिम्ब पाइने धारणा राख्नुभयो ।

कार्यक्रममा कविहरू विमल भौकाजी, महेश पौडेल, उमेश राई ‘अकिन्चन’, मन्जिला अनिल, शुभलक्ष्मी लम्साल, रामगोपाल आशुतोष र शकुन्तला जोशीले लोकार्पित कृतिबाट एक एकवटा कविता वाचन गर्नुभएको थियो । कवि नवोदितले आफ्ना काव्ययात्राका सहयोगीप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

(कवि नवोदितले लोकार्पित कृतिमा हस्ताक्षर गर्दैै)

कार्यक्रममा सापसका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, प्राज्ञ नन्दु उप्रेती, प्राज्ञ गङ्गा सुवेदी, डा. गार्गी शर्मा, पुष्कर लोहनी, भागीरथी श्रेष्ठ, महेश प्रसाई, श्रीओम श्रेष्ठ ‘रोदन’, युवराज नयाँघरे, प्रद्युम्न जोशी, विधान आचार्य, राजेन्द्र गुरागाई, श्याम प्रधान, जयदेव भट्टराई, राजेश खनाल, ऋषवदेव घिमिरे, राधिका गुरागाई, गीता निरौला भण्डारी, कमला रिसाल, मीरा गोतामे, डा. शान्तिमाया गिरि, रञ्जना निरौला, विजय कट्टेल ‘छहरा’, कृष्ण भण्डारी ‘मार्सेली’, नीता श्रेष्ठ , विन्दु अधिकारी ढकाल, सरिता तुलाधर, इन्द्रकुमार श्रेष्ठ ‘सरित’, सोझो गाउँले, महेश कार्की ‘क्षितिज’, प्रकाश घायल, मीना श्रेष्ठ, तारानाथ गौतम, हरिराम गाउँले टेक तामाङ, अनुज श्रेष्ठ ‘पृथक’, उमेश पाण्डे, राजीव खत्री आदिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आयोजक संस्थाका सदस्य डा. दामोदर पुडासैनी ‘किशोर’ले स्वागत भाषण गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कवि मनोज न्यौपानेले गर्नुभएको थियो । ‘समयको बयान’ कवितासङ्ग्रह रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो ।