विश्वकप क्रिकेट लिग टू: नेपाल ओमानविरुद्ध टस जितेर ब्याटिङमा


हरेकपल September 14, 2021


काठमाडौं ।
आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपालले आज घरेलु टोली ओमानसँग खेल्दै छ ।

अहिले अपरान्ह सवा चार बजेदेखि शुरुहुने खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ । आज पनि अमेरिकाविरुद्ध खेलेकै टिमले खेल्ने छ ।

नेपालले अमेरिकाविरुद्ध सोमबार जित हात पार्दै सिरिजमा विजयी शुरुवात गरेकाले यस्तै प्रदर्शनको निरन्तरता दिने लक्ष्य लिएको छ । नेपाल लगातार दोस्रो जितका साथ अंक तालिकामा चौथो स्थानमा उक्लिन चाहन्छ ।उता घरेलु टोली ओमानमाथी जित दर्ता गर्दै शीर्ष स्थानको तालिकामा अरु २ अंक थप्ने प्रयास गर्ने छ ।

नेपाली टोली

ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम शोव ।

हेड टु हेड :

नेपाल र ओमानबीच दुई ओडिआई खेल भएको छ । ओमान गत वर्ष पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको छ । पछिल्ला पाँच अन्तर्राष्ट्रिय खेलमा ओमानले नेपाललाई सहजै पराजित गरेको छ । २०१९ मा पाँच टोलीबीचको टि२० सिरिजमा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो । २०१८ को एसिया कप छनोटमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो । २ सय २१ रन बनाएपनि नेपाल पराजित हुन पुगेको थियो । त्यसै वर्ष डिभिजन २ को खेलमा ओमानले नेपाललाई ६ विकेटले हराएको थियो ।