टिकटक बनाउने क्रममा सेतीमा खसेर युवती बेपत्ता


Harek Pal September 15, 2021

तनहुँ । टिकटक बनाउने क्रममा सेती नदीमा खसेर तनहुँमा एक किशोरी बेपत्ता भएकी छिन् ।

शुक्लागण्डकी नगरपालिका ८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल मंगलबार बेपत्ता भएकी इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका ८ पुलचोकमा रहेको सेती नदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी हुन् । आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्साल नदीमा खसेर बेपत्ता भएपछि अहिले स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

घुम्ने क्रममा साथीहरूसँग टिकटक बनाउन नदी छेउमा रहेको ढुङ्गामा उभिएकी लम्साल अचानक चिप्लिएर नदीमा खसेको उनीसँगै गएका साथीहरूले बताएको खड्काले बताए । लम्साल अचानक चिप्लिएर नदीमा खसेपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेका थिए ।