कक्षा १२ को परीक्षा आजदेखि


Harek Pal September 15, 2021

काठमाडौँ । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ। परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण पटक–पटक स्थगित भएको परीक्षा अन्ततः आजदेखि हुने भएको हो । प्रवेशपत्रका आधारमा विद्यार्थीहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिइएको थियो र अधिकांशले खोप लगाएपछि परीक्षा हुन लागेको हो ।

कक्षा १२ को परीक्षामा यस वर्ष तीन लाख ७४ हजार १२५ विद्यार्थी सहभागी हुँदैछन् । परीक्षा होम सेन्टर अर्थात् विद्यार्थीले पढेकै विद्यालयबाट दिने व्यवस्था गरिएको छ ।

देशभर चार हजार तीन सय १५ केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । परीक्षाको सबै तयरी पूरा भइसकेको उनले बताए ।