किन लेख्नु पर्‍यो ?



किन लेख्नु ? भन्ने प्रश्नको उत्तर पनि कहाँ सहज छ र ? लेखेर के हुन्छ ? झन् गाह्रो प्रश्न । पढेर को ठूलो भएको छ र ? हात्ती नि हात्ती ! ऊ पनि पढेर लेखेरै ठूलो भएको हो र ? भन्ने मनुवाहरूका कुरा सुन्यो भने घरमै बसेर भात भान्सा गर्दै सिरियल हेर्नुको विकल्प छैन । होइन, हात्ती भन्दा स्वरूपले होइन ज्ञान, बुद्धि र विवेकले ठूलो हुने हो भने पढ्न र लेख्न पर्छ नि भन्दा प्रश्नकर्ताले बुझेपो !

तर पनि मान्छेले लेखिरहेछन्, हरेक समयमा । पहिले पहिले भुईमा लेखे— बाँसका कप्टेराले । हिजो सेतो कागजमा निलो मसी राखेको कलमले लेखे । आज प्रविधिसँगै ल्यापटप र नोटबुकमा लेख्दैछन् । अब बोलेको कुरा लेखिने दिन आईसके, “मान्छे लेखेर पढेर को ठूलो भएको छ र ?” भन्न छोडेको खै त ? मान्छेको सोच र विचारहरूमा यति धेरै असमनता कसरी भयो होला ? सोचमग्न हुन्छु घरी घरी ।

——-सोझो बाटो नपाए पछि मान्छे यसरी नै भौतारिँदा हुन् जसरी म भौतारिइरहेको छु । हिजो कलेज पढ्दै गर्दा यस्तो लाग्दथ्यो कि देशै मेरो हो । चाहिएका कुरा बोलेरै प्राप्त गर्न सकिहालिन्छ नि । त्यो जवानीको जोशमा सायद सबैले यसैगरी सोच्दा हुन् ।——-

आफूले लेख्न सुरू नगरुन्जेल त लेख्ने मान्छे भयङ्कर ठूला हुन जस्तो लाग्थ्यो । हात्तीलाई त बरु घर नजिकैको बोटो भएर लावालस्कर लागेर लसकलसक हिँडेको देख्ने हुँदा मनले सामान्य मान्थ्यो । तर ती किताबको गातामा फोटा टाँसेका लेखक चै भयङ्कर लाग्थ्यो । तिनका त टाउकोबाट देवी देवताको जस्तै आभा निस्किरहन्छ होला जस्तो मेरो मनले मान्थ्यो । अहिले आफुले लेखिरहँदा हात्तीसंग भन्दा ती लेखकसँग धेरै जम्काभेट भएर हुन सक्छ, कोही भिष्मपिता , कृष्ण ,दोर्णाचार्य, सञ्जय र शकुनिजस्ता । संसार त यताको पनि विचित्रै रहेछ तर ……

पाठकका मनमा कुरा उब्जिन सक्छ —मैले चै किन लेखेँ होला भनेर । यो लेखको आसय पनि यही प्रश्नको जबाफदेहिता नै हो । सोझो बाटो नपाए पछि मान्छे यसरी नै भौतारिँदा हुन् जसरी म भौतारिइरहेको छु । हिजो कलेज पढ्दै गर्दा यस्तो लाग्दथ्यो कि देशै मेरो हो । चाहिएका कुरा बोलेरै प्राप्त गर्न सकिहालिन्छ नि । त्यो जवानीको जोशमा सायद सबैले यसैगरी सोच्दा हुन् । आफ्ना कुरामात्र पूरा गरिएन , अरुहरुलाई समेत न्याय मागेरै फर्किइयो । आपत परेकालाई रोजगारी माग्न गइयो, दिलाएरै आइयो । जे जति मागियो, धेरै पाइयो नै । जीवन यसरी नै आँटले र ठाँटले बित्छ होला भन्ने लाग्थ्यो । धत् अल्लारे बुद्धि ।

जब घरबारे भइयो, छोरीले भोग्ने समाज र बुहारी भएर भोगिने समाज त नितान्त बेग्लै रहेछ । काठमाडौं सामाखुशीको बाटो विवाह अघि म कति पटक एक्लै हिँडे, हेक्का छैन ; तर विवाह पछि घरमा काम गर्ने सहयोगी भाइले कालो बिक्रम टेम्पोमा चढ्दै गर्दा भन्यो— “भाउजू छेउ पट्टि नबस्नु है, यहाँका केटाहरु खत्तम छन् । ” म आश्चर्यमा परेँ । कालो सानो विक्रम टेम्पुमा दुईजना बस्दा छेउ त दुबैतिर हुन्थ्यो । मैले आँफैलाई नियालेँ ! हिजोँ रात साँझ कतै जानु पर्दा ऊ भन्दा जेठो मेरो भाइ “ दिदी भए पछि मलाई के को डर” भनेर मेरो पछाडि लुक्दथ्यो । आज म गाडीको छेउतिर पनि बस्न नसक्ने गरी कमजोर कसरी भए ? यो कुराले मलाई धेरै हल्लायो ।

राजनैतिक परिवर्तनहरुमा प्रत्यक्ष संलग्न भएर राजनीतिका उतार चढाबलाई नजिकबाट अवलोकन गरिरहेकी म , समाजलाई परिवर्तन गर्नुपर्छ भनेर समाज सुधारका अभियानमा होमिएकी म ,प्रत्येक पाइलामा लाग्ने ठेसहरुले यसै यसै कमजोर बन्दै गएँ । बडेमाको हात्तीलाई सानो बन्चरो बोकेको माहुतेले घुमाए झै म पनि समाजले बनाएका नियमका भुमरीहरुमा घुमिरहेँ । म भित्रको “म” हराउदै गयो । म सिर्फ एउटी अबला बन्दै गए । जब म भित्रको “म” जाग्ने गर्दथ्यो र आँफैलाई खोज्ने गर्दथ्यो, मबाट रातको निन्द्रामात्र होइन दिनको भोक पनि भाग्ने गर्दथ्यो । म आत्तिएँ, छटपटिएँ । शान्त हुन पानी मात्र होइन, औषधी नै खाएँ ।

—–परिवार भित्र एउटा संस्था खोल्ने कुरा चल्न थाल्यो । संस्था खुल्नलाई निकै कसरत भयो । दीपकजी यसमा प्रत्यक्ष संलग्न भएकाले यसका प्रगतिका विषयमा म जानकार रहिरहेँ ।——

परिवार भित्र एउटा संस्था खोल्ने कुरा चल्न थाल्यो । संस्था खुल्नलाई निकै कसरत भयो । दीपकजी यसमा प्रत्यक्ष संलग्न भएकाले यसका प्रगतिका विषयमा म जानकार रहिरहेँ । जब संस्थाको सार्वजनिकीकरण हुने दिन आयो , मलाई न त दीपकजीले आइज भन्नु भयो न त अरु आफन्तले नै । संस्था सार्वजनिकीकरण सीतापाइलाको एक्मी इन्जिनियरिङ कलेजमा भव्य कार्यक्रमका साथ हुँदै थियो । आकाश धुम्म परेर सिमसिम पानी परिरहेको थियो । मलाई घरकै कामले कालिमाटी जानु थियो । सोचे दीपकजीले बाटैबाट मलाई “यता आऊ” भन्नुहोला । मनमा झिनो आशा पलाउदो नै रहेछ । फेरि फर्कँदा सोचेँ— कसैले त मलाई आइज भन्ला नि ! दीपकजीले “काम सकेपछि त पक्कै आइज भन्नु होला, कोही मान्छे मलाई बोलाउन आएको होला ! ” सोच्दै सीतापाइला आइपुग्नासाथ बसको झ्यालबाट टाउको बाहिर निकालेर हेरेँ । अहँ मलाई आइज भन्ने त्यहाँ कोही रहेनछन् । प्रत्यक्ष न सही अप्रत्यक्ष तवरले यही संस्थाका कामका लागि मेरो संलग्नता छ । कति दिन मैले भान्सा कुरेर बसेँ, कति मध्य रातसम्म उहाँलाई कुरेँ । तर म एउटा पाँच फिट दुई ईन्चको सग्लो मान्छे भुसुनो जति पनि बनिन । मलाई “म” नभएको आभाष भयो । म विक्षिप्त बनेँ ।

मैले गुनासो गर्ने कसलाई ? दीपकजी आउनु भयो । कार्यक्रम भव्यताका साथ सकेकोमा उहाँको गर्वको सीमा थिएन । घर अएपछि फोनमा दाजुभाइका कुरा भए । समीक्षा चले । “कार्यक्रममा छोराहरुलाई मात्र अगाडि चिनाइयो छोरीहरुलाई त बिर्सिइएछ !” हाँसो छुट्यो । उहाँहरुले त्यो विषयलाई सामान्य कमजोरी सोच्नु भयो, दिदीहरु ( आमाजू ) ले के सोच्नु भयो ? तर मैले समस्त नारीगणको उपहास पाएँ । टेलिफोन वार्ता सकियो । मभित्र कस्तो हुन्डरी मच्चिएको छ उहाँहरुलाई के थाहा ? कार्यक्रम समापनको खुसी र दौडधुपले उहाँ मस्त निदाउनु भयो । अस्तित्व हराएको मानेर मेरा आँखा बन्दै भएनन् । यसैले जन्मायो पहिलो कविता “लोग्ने मान्छे ” ।

कल्पना गरेको समाज भनौ वा राजनीतिक परिवर्तन भएर निर्माण भएको समाज, समाजशास्त्र पढ्दै गर्दाको समाजको चित्र र मैले भोग्दै गरेको व्यवहारिक समाज बीच आकाश जमिनको फरक भेटेँ । ती बेथितिहरुलाई तोड्ने चेष्टा गर्नथालेँ । फेरि थपियो परिचयको सङकट । मैले पच्चिस वर्ष लगाएर निर्माण गरेको परिचय विवाहको मण्डपमै छोडिएको रहेछ कि ! त्यो परिचय बनाउन फेरि कति वर्ष खर्चिऊँ ? म आँकलन गर्न असमर्थ छु तर पनि मेरो परिचय आम नागरिक भए पर्याप्त हुनु पर्ने होइन र ? भएन । म हराएको परिचय खोज्न लागेँ । आमा र श्रीमतीका परिचय घरधन्दामा मात्र प्रयोग भए । आम नागरिकलाई कसैले चिन्दैन रहेछ । मैले लेखेँ आफ्नै परिचय । हो, त्यही परिचय दिनका लागि मैले मेरो पहिलो कथा सङग्रहको नाम नै “परिचय ” राखेँ ।

पुस्तक विमोचन भइरहँदा एकजना वक्ताले महिलावादीको ट्याग लगाइदिए । स–सम्मान मञ्चमा आसीन भएकाहरु आफ्नै मनको कुरा बोलिदिएझै एकअर्कालाई चिमोटाचिमट गरे । मेरो बुबाले कार्यक्रम समापन गरेपछि भन्नु भयो “म खुसी छु, मेरी छोरीले म मरेपछी पनि मलाई जीवित राख्ने भई ।” यी दुवै खाले ऊर्जालाई मैले आफ्नो जीवनको मूलमन्त्र बनाएँ । यो घटनाले मलाई प्रोत्साहन र आलोचना दुवै नभई लेख्न सक्ने बनायो ।

अग्रज दिदी दाइहरुले भाषण गर्दा भन्ने गर्थे “ बच्चा नरोईकन आमाले आफ्नै बच्चालाई त दुध खुवाउदैनन् भने त्यसै तपाईँहरुले के पाउनुहुन्छ ? नमागी केही पाईदैन, त्यसैले माग्नुस् ।” गोरखा साहित्य समाजले गोरखाका वरिष्ठ साहित्यकार राजेश्वर देवकोटादेखि कनिष्ठ साहित्यकारलाई समेटेर पुस्तक निकाल्दै थियो । वर्षदिन पछि प्रेसमा जाँदा त किताब सेटिङ हुदैगरेको देख्छु ! म फेरि छक्क परे । जो मान्छेसँग संधै जम्काभेट भइरहेको छ तिनै मान्छेहरुले मलाई समेट्न नखोजेको थाहा पाउदा म दङ्ग खाएँ । घरमा आएर दीपकजीसँग गुनासो पोखेँ । तुरन्तै सुनुवाई भयो । म “पुस्तान्तर ” कथा सङग्रहभित्र परे । म गोरखा भरि मात्र होइन कता कता पुगे पुगेँ ।

यिनै अक्षरको त्यान्द्रोले डोर्याएर बेलायत र युरोप पुर्यायो । स्कुल पढ्दा तरवार ठूलो कि कलम ठूलो भन्ने बिषयको पक्ष र विपक्षमा बोल्नु पदथ्र्यो । अक्षरसँग खेल्न डराए पनि म सधै कलमको पक्षमा उभिन्थेँ । त्यही कलम र अक्षरको संयोजनले युरोप घुमायो । म खुशी भएँ । मान्छे बनेको कल्पना गर्न थालेँ र त मैले बेल्जियममा साथी सीता सापकोटाको घरमा बसेर फेसबुकमा स्टाटस हाले “अब जीवनसंग कुनै गुनासो छैन ।” यसको मतलब मेरो जीवनको लक्ष्य भनेकै बेलायत वा युरोप घुम्नु थियो त ? अवश्य होइन । मेरो उद्धेश्य स्वभिमानका साथ जिउनु थियो । शिर उठाएर हिँड्नु थियो । यी कुराहरु मैले लेखेरै प्राप्त गर्दै थिए । आत्मबल यिनै अक्षरहरुले बढाउदै लानथाले — किन नलेख्ने त ?

यसको मतलब अब पूर्ण भए र सन्तुष्ट छु त्यो कदापि होइन । म आफ्ना लेखाइबाट सन्तुष्ट हुन अझै सकेको छैन । आँफूले भन्न खोजेका कुरा पूर्णरुपमा भन्न नसक्दा सम्म लेखेका कुरा सार्वजनिक गर्न डराउन थालेको छु । हिजो आफ्ना कुराहरु लेखेर सक्ने बित्तिकै छापियोस् भन्दै छापाखानामा पुग्थेँ, आज लेख दिनुस् भनेर मागिरहँदा पनि आनाकानी गर्छु ।

जहाँ जहाँ गएँ, त्यहीँका कुरा लेखेँ । कसैले भने —“ताप्लेजुङ्घ जानुभन्दा बेलायत जान छिटो भयो, के लेख्नुहुन्छ बेलायतका कुरा ?” कसैले भने— “गुगलले सबै देखाउँछ तपाँईले लेखेको कस्ले पढ्छ ?” हो, प्रश्न त जेमा पनि उठ्दा रहेछन् । मान्छेको सोच जत्रो छ अभिव्यक्ति पनि त त्यत्रै प्रवाह हुँदो रहेछ । भाँडा अनुसारको पानी अड्ने त रहेछ नि ! धेरैले मैले लेखेको राम्रै माने । मान्छेका सराहनाले ठुलो सन्तुष्टि दिदाँरहेछन् । गुगलले म हिँडेको बाटो कसरी नाप्छ ? लेखेरै “म” हुनुको अनुभूति कसरी गराउथ्यो ? मसँग ठोक्किन आइपुगेकाहरुसँगको अनुभूति कल्पना गर्न सक्ने कुनै प्रविधि बनेको छैन । यसैले आजकल मान्छेका कथा र व्यथा लेख्न छोडेर अनुभूतिहरु लेख्न थालेकी छु । “पश्चिमाहरूको देशमा” “पत्थरै पत्थर” र प्रकाशोन्मुख अवस्थामा रहेको “ प्रशान्तको तिरैतिर” जन्मिरहेका छन् । गर्भावस्थामा छन् अरु अरु पनि ।

राजनीति गर्नेहरुको चर्चा उनीहरुले कर्म देखियुञ्जेल मात्र हुन्छ तर लेख्नेहरु बाँचिरहन्छन् जुगजुुगसम्म । पारिजात, तसलिमा नसरिन, लक्ष्मीप्रसाद देवकोटा बाँचे र बाँचिन् माधवप्रसाद घिमिरेकी पहिली श्रीमती गौरी पनि । यसैले म मेरो अस्तित्व जोगाउन र मान्छे भएर बाँच्न लेखेँ, लेख्छु र लेखिरहनेछु ।