आजदेखि सोह्र श्राद्ध सुरु


Harek Pal September 21, 2021

काठमाडौँ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आजदेखि सुरु भएको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्र श्राद्ध भन्ने गरिएको हो ।

चाडपर्व तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु शास्त्रीय परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्र श्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । सोह्र श्राद्धमा काठमाडौँ उपत्यकाको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गर्छ ।

दसैँ मनाउनुअघि पितृलाई तृप्ति गर्ने परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिएको मान्यता छ । सोह्र श्राद्धको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् दसैँ सुरु हुन्छ ।