परीक्षा हलमै बसेर टिकटक बनाउने परीक्षार्थीको सबै परीक्षा रद्द गर्ने बोर्डको चेतावनी


हरेकपल September 21, 2021

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा हलमै मोबाइल लगी उत्तरपुस्तिकाको फोटो खिचेर टिकटक बनाएर राख्ने लगायतका परीक्षाको मर्यादा विपरीत गतिविधि भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बोर्डले सूचना जारी गर्दै परीक्षा हलमा मोबाइललगायत अन्य इलेक्ट्रोनिक्स डिभाइस निषेध गरिएको अवस्थामा उत्तरपुस्तिका समेत सामाजिक सञ्जालमा भेटिएको भन्दै परीक्षाको मर्यादाविपरीत कार्य गर्ने विद्यार्थीको सबै परीक्षा रद्द गर्न सक्ने चेतावनी दिएको छ ।

त्यस्ता परीक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द तथा सम्बन्धित विद्यालयको परीक्षा केन्द्र समेत खारेज गर्न सक्ने चेतावनी दिएको छ । यसप्रकारका अमर्यादित कार्य नगर्न र नगराउन सम्बन्धित विद्यार्थी, शिक्षक एवं विद्यालयहरुलाई आग्रह गरेको छ ।

बोडैले भदौ ३० गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गरिरहेको छ । परीक्षाको पहिलो दिन नै फेसबुक र टिकटकमा परीक्षा हलमा नै बसेर विद्यार्थीले चिट चोरिरहेको भिडियो सार्वजनिक भएपछि बोर्डले यस्तो चेतावनी दिएको हो ।