शोक धुन र भविष्यका सपनाहरू



होमशंकर बास्तोला

बज्दैछ संगीनको तीखो आवाज
र, चित्कारले पोखिएर बगेको समुन्द्र
आँसुको नीलादहमा
तैरिरहेछ माकुराको जालोझैँ
मान्छेको राक्षसीअनुहार ।

आँगनमा भूगोलको नक्सा कोरेर
एक हूल नानीहरू आँखा मिच्दै दौडिरहेछन्
कतिखेर ठेस लागेर बग्ने हो ओठबाट रगत
औँला फुटेर चिमोटिएको छाती
आँसुको डुबाउन नसक्ने भेल
बगिरहेछ समयको वक्ररेखामा ।

कसले बजायो र सडकमा शोक धुन ?
कसले चढायो अबिर र माला तस्बिरमा !
सडक बन्द गरेर निस्किएका ताँतहरू
पदचाप बढाइरहेछन् शोकको लागि
तर उसको भने फगत
प्रलयको सूचना टाँगेर सडकमा
नउभिरहेछ समय
नब्युँझिरहेछ बिहान
मात्र मृत्युको एउटा तस्बिर
भित्तामा झुण्डिरहेछ ।

कहाँ सुकेको छ आँसु रोएकाहरूसँग
कहाँ दुखेको छ आस्था, विश्वास गुमाएकाहरूसँग
खोप्नेहरूले खोपिरहेछन् ठूलाठूला खाडलहरू
बोक्ने बोक्दैछन् पीडा र जन्जिरका भारी
कहाँ पुरिए गहिरा विक्षिप्त दागहरू !
र, संगीनले खोपेका घाउहरू
कहाँ रोपियो फूल सगरमाथाको फेदमा !

भो, अब हामी सुन्न चाहन्नौँ मान्छेका शोक धुन
हेर्न चाहन्नौँ पीडाले भरिएका अनुहार
शीतले फुटेका कुर्कुचाहरू
र, जति पिए पनि नअघाएको पेट
आँसुले धोएका सपनाहरू
भो, नरोप छातीमा ।

अब हरेक साँझ र बिहानीसँग
माग्नु छ खुसी
र, हेर्नु छ–
नानीका भविष्यका सपनाहरू
समयको मिर्मिरे आवाजसँगै
पिउनु छ न्यानो घामको ताप ।