आँसुको बजार



–शुभलक्ष्मी लम्साल–

बेहिसाब दुःखहरू समेटेर
थापिएको छ हाट
यसबेला आँसुको
हराभरा छ बजार आँसुको ।

यो समय बिक्ने भनेको नै आँसु रहेछ
बेच्ने भनेको नै समवेदना रहेछ
कति सजिलो हुँदो रहेछ
माफियाहरूको लागि आँसुको व्यापार !

पर्दैन कुनै मोल या तिरो
बल्झाइदेऊ अतीतका घाउ
सोधिदेऊ केही पीडाका कथा
ठोक्काइदेऊ केही कुहिनाहरू पहरामा
आफसे आफ बर्सिन्छ आँसु ।

एउटा कवि दुःखहरू बटुलेर बिम्ब बुन्छ
आँसुमा फूलबुटा भर्छ
लेख्छ खुङ्खार क्रान्तिकारी कविता ।

एउटा पत्रकार सुदूर गाउँ जान्छ
केही थान आँसुहरू जम्मा गरेर ल्याउँछ
अखबारको मुख्य पृष्ठमा हेड लाइन बनाएर
ठूलाठूला अक्षरमा छाप्छ आँसुको समाचार।

अन्वेषक आँसुकै पिरामिड चढेर
दरिलो खोज गरेको सम्झन्छ
समवेदनाको अन्तिम बिन्दुमा मानवतालाई मार्छ र
आफू नामुद खोजकर्तामा दरिन्छ।

‘रियालिटी सोहरू’मा हुन्छ आँसुकै व्यापार
ग्ल्यामरभित्र आँसु मुस्कुराउँछ
निर्णायक आँसुमै आफूलाई डुबाउँछ
क्यामराम्यान जुम गरेर क्यामराको लेन्स
अनुहारको आँखा नजिकै लान्छ
मात्र तपतप चुहिरहेको आँसुको फोटो खिच्छ र
प्रसारण गर्छ विश्व बजारमा ।

एनजिओहरू दु‌:खको मलम बोकेर
आँसुको प्रपोजल देखाएर
मुक्तिको बहानामा
गरिरहेछ्न् कार्यक्रमहरू प्रस्तुत  ।

केही थान अनुहारहरू
प्रेमको बहानामा
पुग्छन् आश्रमहरूमा
पुग्छन् झोपडीहरूमा
बाँड्छन् चाउचाउ र बिस्कुट
ओढाउँछन् धुस्रे कम्बल
अनि ठूलाठूला सेल्फी खिचेर
प्रचार गर्छन् दुःखीको आँसु पुछेको ।

मलाई खुसी यसबेला लाग्थ्यो
दयाका पात्र नबनी
जब आँसुहरूमा साहस मिसिएर आउँथ्यो ?
कर्महरूमा जोस भरिएर आउँथ्यो ?
जब प्रतिकारमा क्रान्ति जन्मन्थ्यो ।

ओ ! व्यापारीहरू
ओ ! समाजसेवीहरू
ओ ! कविहरू … …
अफवाह बजारको बुइँ चढेर
कति गर्छौ आँसुको व्यापार
पुग्यो अब ! नदुखाऊ अरू
बस ! मस्त रहन देऊ उनीहरूलाई
आफ्नै स्वाभिमानमा ।

===