फूल



– वन्दना पोख्रेल भण्डारी –

फूलमा शोभा छ
मेरो मनको पीडा बुझिदिन्छ
ज्ञान बनेर यो मेरो
दिल–दिमागलाई पढाइरहन्छ।

म मनको फूल बगैँचामा रोप्छु
म दिलको फूल कौशीमा रोप्छु
म भावको फूल आँगनमा  रोप्छु
म स्नेहको फूल  दिमागमा रोप्छु।

फूललाई गीत मन पर्छ
फूललाई सङ्गीत मन पर्छ
फूलसित प्रीति लगाउँछु म
फूल मलाई देखेर छुनमुनाउँछ।

लहलह मेरा फूलहरूले वास्ना छरेका छन्
दुखेका दिल दिमागको उपचार गरेका छन्
सहेर हिउँद–वर्षा,
पानी–झरी, हुरी–बतास पर्दा
हाँसेर फूलले स्वागत गर्छ
जस्तै विपत्ति पनि सहजै टर्छ
मेरो मनको अशान्ति यही फूलले हर्छ।

अल्छे मन र तनसित फूल रम्दैन
त्यस्तासित फूल छेउछाउ पर्दैन
मलिलो मन, मलिला हात
खोजिरहन्छ फूलले सधैँ
साथ पायो भने फूल
लहराएर फुलिदिन्छ जताततै
लजाएर कतै यो पछि सर्दैन।

आऊ साथी, फूल रोपौँ आफ्नै करेसा बारीमा
फूललाई लानुहुन्न अस्मेलको भेल र बाढीमा
नफाल फूलका कोपिला टिपेर फक्रन देऊ यसलाई
सौन्दर्य फुल्छ भाइका गलामा, फल्दैन बन्जर घारीमा ।