क्यापिटल मोबिलाईजेशनको कारोबार दोब्बर


हरेकपल September 26, 2021

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका-५ स्थित क्यापिटल मोबिलाईजेशनले आर्थिक वर्ष २०७७-७८ मा आफ्नो कारोबारमा उल्लेख्य बृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षमा ३ करोड २४ लाख ५ हजार कूल सम्पत्ति रहेको यस संस्थाले यस वर्ष ६ करोड ४२ लाख कूल सम्पत्ति पुर्‍याएको छ ।

हालै सम्पन्न संस्थाको ११औँ वार्षिक साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनमा संस्थाको निक्षेप २ करोड ३८ लाख ९५ हजारबाट बृद्धि भई ४ करोड ४ लाख पुगेको उल्लेख गरिएको छ । त्यसै गरी संस्थाको कर्जा लगानी २ करोड १२ लाख ९५ हजारबाट ३ करोड ७० लाख ६ हजार पुगेको छ ।

संस्थाको वार्षिक साधारणसभामा प्रगति प्रतिवेदन तथा चालु वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका अध्यक्ष निरञ्जन सेढाईँले संस्थाले विषम परिस्थितिबिचमा पनि कारोबारमा बृद्धि तथा नीतिगत सुधार गरेको बताउनु भयो । सेढाईँले यस वर्षको योजना बारे जानकारी दिँदै संस्थामा बालबालिका तथा युवा लक्षित कार्यक्रम लागु गर्ने, संस्थाको कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्र थप गर्ने, प्रविधियुक्त वित्तिय सेवा प्रदान गर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.वी उप्रेतीले शुभकामना मन्तव्य दिँदै संस्थाको प्रगतिमा सदस्यको सहभागिता प्रमुख कुरा रहेको भन्दै संस्थाका सदस्यहरूले अब एउटै मात्र संस्था रोज्नुपर्ने र सम्पूर्ण कारोबार त्यसबाट मात्र गर्नुपर्नेमा जोड दिनुभयो ।

बागमति प्रदेश सहकारी संघका सञ्चालक विपिन शर्माले संस्थाको कारोबार सानो वा ठूलो भन्ने भन्दा पनि सुशाषन र नीति नियमको पालना प्रमुख रहने बताउँदै संस्थाले आर्थिक कारोबार बृद्धिसँगै संस्थालाई पूर्ण रूपमा विधिसंगत संचालन गर्ने तर्फ लगेकोमा प्रशंसा गर्नुभयो ।