आईपीएल क्रिकेट : कोलकातालाई हराउँदै चेन्नई शीर्ष स्थानमा


Harek Pal September 27, 2021

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नई सुपर किङ्ग्स शीर्ष स्थानमा उक्लेको छ ।
आइतवार युएईको आबुधाबीमा भएको खेलमा चेन्नईले कोलकातालाई दुई विकेटले हराएको हो । कोलकाताले दिएको १७२ रनको लक्ष्य चेन्नईले पूरै ओभर खेल्दै आठ विकेटको क्षतिमा भेटाएको हो ।

चेन्नईका लागि फाफ डु प्लेसीले ४३, रुतुराज गायकवडले ४०, मोइन अलीले ३२ र रविन्द्र जडेजाले २२ रन बनाए । बलिङतर्फ कोलकाताका सुनील नराइनले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनायो । कोलकाताका लागि राहुल त्रिपाठीले ४५, नितिश रानाले ३७, दिनेश कार्तिकले २६ र आन्द्रे रसेलले २० रन बनाए । बलिङतर्फ चेन्नईका जोश हेजलवूड र शार्दूल ठाकुरले दुई दुई विकेट लिए ।

जितसँगै चेन्नई अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दश खेलमा १६ अङ्क जोड्दै चेन्नई शीर्ष स्थानमा पुगेको हो । दश खेलबाट १६ अङ्क बनाएको दिल्ली क्यापिटल्स रन रेटका आधारमा दोस्रो स्थानमा छ ।