दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला


Harek Pal September 27, 2021

काठमाडौँ । दसैँमा घर जानका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।

सरकारले यातायात व्यवसायीसँग छलफल गरेर आजदेखि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो। नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि टिकट काउन्टर थप गरिएको छ । ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ११ टिकट काउन्टर थप गरेको छ ।

नयाँ बसपार्कबाट ६५ भन्दा बढी जिल्लामा सार्वजनिक बस गुड्ने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकाका विभिन्न १४ ठाउँमा यात्रु सहायता कक्षसमेत स्थापना गरेको छ । सहायता कक्षमार्फत उपत्यकाबाट विभिन्न गन्तव्यमा जान यात्रुले तिर्नुपर्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलमा सहजै जानका लागि आवश्यक समन्वय गरिँदै आएको छ ।

सरकारले देशभर लागू हुने गरी सार्वजनिक यातायातमा नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयनमा आएको जनाएको छ ।

छोटो, मध्यम र लामो दूरीको छुट्टाछुट्टै भाडादर कायम गरिएको छ । विभागले देशभरका कुल २८६ रुटको भाडादर समायोजन गरेको छ । विभागले यात्रुवाहक सवारी साधनमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २६ प्रतिशत भाडा बढाएको छ ।