मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी, विश्वासको मत पाउने सम्भावना क्षीण


हरेकपल September 28, 2021

अल्पमतमा परेको बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेकी छिन् । भदौ २ गते गठन भएको मुख्यमन्त्री शाक्य नेतृत्वको एमाले सरकार पार्टी विभाजनपछि अल्पमतमा परेको छ ।

अल्पमतमा परेपछि मुख्यमन्त्री शाक्यले सरकार टिकाउन अन्य दलहरूसँग गठबन्धनको प्रयास गरेकी थिइन् । सो प्रयास असफल भएपछि उनले विश्वासको मत लिने तयारी गरेकी हुन् ।

गत भदौ २७ गते बागमती प्रदेशसभा सचिवालयमा नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसदहरुको नामावली सहितको निर्वाचन आयोगको पत्र दर्ता भएसँगै मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

प्रदेशमा नयाँ सरकार गठन गर्न वा मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार टिकाउन कुल १०९ जना सांसद् मध्ये ५५ जनाको समर्थन आवश्यक हुन्छ । ५६ सांसदका साथ एमालेको स्पष्ट बहुमतको सरकारको नेतृत्व गरेकी शाक्य नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता पछि भने ४३ सांसदमा सीमित हुन पुगेकी छिन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने साना दलहरूको सहयोगमा पनि मुख्यमन्त्री शाक्यको सरकार टिक्ने सम्भावना छैन । सरकार अल्पमतमा परेको ३० दिनभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

उक्त संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाक्यले आगामी असोज २५ गतेभित्र मुख्यमन्त्री शाक्यले विश्वासको मत लिइसक्नुपर्ने हुन्छ ।