साफ च्याम्पियनसिप फुटबल: नेपालको लगातार दोस्रो जित


हरेकपल October 5, 2021


काठमाडौं ।
साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ।

सोमबार राति भएको खेलमा श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो। नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे। श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए।
रोमाञ्चक बनेको खेलको ३३ औं मिनेटमा सुमन लामालेले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । उनको यो नेपालका लागि डेब्यू गोल हो। ५१ औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए।

तर, ह्यामिल्टनले ५७ औं मिनेटमा गोल गर्दै श्रीलंकालाई २-१ को स्थितिमा ल्याए। खेलको ८६ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका आयुसले गोल गर्दै नेपाललाई ३-१ को अग्रता दिलाए। उनको यो नेपालका लागि पहिलो गोल हो।
त्यसपछि खेलको इन्जुरी समयमा डी सिल्भाले पेनाल्टीमा एक गोल गरेपनि नेपालले ३-२ को महत्वपूर्ण जित निकाल्यो।

यस जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले २ खेलमा ६ अंक जोडेको छ। लगातार दोस्रो जितपछि नेपाल फाइनल नजिक पुगेको छ। नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १(० ले हराएको थियो।

अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ। हिजै भएको पहिलो खेलमा भारत र बंगलादेशले १-१ को बराबरी खेल्दै अंक बाँडे।