औपन्यासिक तत्त्वहरूका आँखामा ‘अतृप्ति’



– प्रेमप्रकाश मल्ल –

१. विषयप्रवेश

मञ्जु बिमली (वि.सं. २०२८) नेपाली साहित्यमा एक परिचित नाम हो । यसअघि उनका ‘दुई थोपा आँसु’ (कवितासङ्ग्रह, २०६८) र ‘खिर’ (संस्मरण, २०६९) प्रकाशित भइसकेका सिर्जना हुन् । यी कृतिहरूका आलोकमा उनलाई जीवन्त परिवेश र कोमल भावसंवेदनाभित्र विविध विषयको गहिरो छाप छोड्न सक्ने सामर्थ्य भएको सर्जक मान्न सकिन्छ । यसपालि (२०७८) मा उनको अर्को कृतिका रूपमा उपन्यास ‘अतृप्ति’ प्रकाशित भएको छ । आफ्नो एकसरो पठनका आधारमा मैले प्रस्तुत उपन्यासलाई केही औपन्यासिक तत्त्वहरूका साक्ष्यमा हेरेको छु । उपन्यास ३ ओटा अध्याय र १३ ओटा उपअध्यायसहित १७३ पृष्ठसम्मको आयाममा विस्तारित छ । लेखकीयसम्मको पृष्ठलाई नगन्ने हो भने उपन्यासको कथावस्तुले १६४ पृष्ठ ओगटेको मान्नुपर्छ ।

२. कथावस्तु

उपन्यासको कथावस्तु माध्यमिक तहमा भर्खरै प्रवेश गरेकी इन्दिराको पढाइजन्य स्वभावबाट आरम्भ भएको छ । ऊ पढाइमा अब्बल नभए पनि रुचि भएकी केटी हो । केही समयपछि उसको कक्षामा किरण नामक नयाँ विद्यार्थीको प्रवेश हुन्छ । निकट भए पनि समकक्षी रीताको जातीय सङ्कीर्णता इन्दिरालाई मन पर्दैन । उसको त्यो सङ्कीर्णताले इन्दिरालाई बाल्यकालमा छिमेकीकहाँ ठूलो खसीको मासु खाएकोमा दिदीले पिटेको सम्झना हुन्छ । सहपाठी हुँदै जाँदा किरणको बहुमुखी प्रतिभाबाट इन्दिरा र रीता दुबै प्रभावित हुन्छन् । आफ्नो सदनमा नपरेको किरणले एकदिन रीतालाई नराम्री र आफूलाई राम्री भनेपछि इन्दिरामा खुसीजन्य लज्जा बढ्छ । इन्दिराको मनभरि प्रणयका पुष्पहरू कोपिलाउन थाले पनि किरणले बाटामा पर्खिने गरेको हल्ला रीताले नै चलाएको कुरा दिदीबाट सुनेपछि इन्दिराभित्र जलन पैदा हुन्छ । किरणले कुनै गोप्य विद्यार्थी सङ्गठनको टिकट दिन खोज्दा नमानेकी इन्दिरालाई उसको गरिबीमाथि साथीहरूले खिसीटिउरी गरेको भने मन पर्दैन । यत्तिकैमा ललिताको बिहेको प्रसङ्ग आउँछ । उसको गम्भीरता र दुलहाको सम्पन्नताबाट प्रभावित भएकी इन्दिराको बिहेबाट फर्किँदा पछि लागेको किरणको कुरालाई लिएर दिदी र आमाबाट उठेको नकारात्मक कुराले मन पोल्छ । तैपनि त्यसपछि नोटकापीरू साटासाट हुनु र आमाको आडमा दुधदहीहरूसमेत किरणको कोठामा पु¥याउन पाउनु इन्दिराको सौभाग्य जस्तै हुन थाल्छ । दाजु रमेशसँग घरमा आइजाइ गरिरहने किरणको निलो सर्ट र कालो पाइन्टमा मन बस्न थाले पनि पार्टी गतिविधिका कारण इन्दिरालाई किरण रहस्यमयी लाग्छ । दस कक्षाको पढाइ सकिएको समयमा एकदिन इन्दिराले किरणसामु प्रणयको गाँठो फुकाउँछे । उसका भावनाहरूको कदर गर्दै किरणले आफूहरूका कर्तव्य पनि सम्झाउँछ । आमासँगै मन दुःखाइरहेकी दिदी करुणालाई शिक्षण अभ्यास र एसएलसी परीक्षाका बेला हुने गरेको इन्दिरा र किरणको हेलमेल मन पर्दैन । अन्ततः एसएलसीको नतिजा पनि राम्रो आउँदैन । तर पास भएको किरण भने एकदिन इन्दिरालाई भेट्न घरमै आउँछ । उसले बिदा मागेर नफर्की गएपछि इन्दिराका आँखा सजल हुन्छन् । जति नै चोखो मायाको कल्पनामा डुबेको भए पनि त्यसपछि ऊसँगको भेट पातलिन्छ । गणितको ट्युसन पढी पुनः उत्तीर्ण भएपछि इन्दिराहरू पनि गाउँलेहरूको लाममा तीन दिन लगाएर पाथीभरा माताकहाँ भाकल बुझाउन जान्छन् । फर्किँदा ओलाङचुङगोलातिर शिक्षक भएको किरणसँग इन्दिराको अनायासै भेट हुन्छ । तर त्यो भेट इन्दिराको जीवनमा अकल्पनीय हुन्छ । उसले माया मारे झैँ लागेपछि इन्दिरा निराश हुन्छे । घरमा बिहेको कुरा चले पनि बुबासँग आमाले गरेको सङ्घर्षका कारण इन्दिरा र करुणा काठमाडौँ पढ्न जान पाउँछन् । नयाँ ठाउँमा जान पाउँदा खुसी लागे पनि गाउँघरबाट टाढिनुपर्दा उनीहरूलाई असाध्यै दुःख लाग्छ । यहीँ आएर उपन्यासको पहिलो अध्याय टुङ्गिन्छ ।

पद्मकन्याको बिहानी सत्रमा भर्ना भएकी इन्दिरा र कानुन कलेजमा भर्ना भएकी करुणाको दिनचर्या दाजु रमेशको फराकिलो सोचका कारण राम्रोसँग बित्दै जान्छ । पुस्तक पसलमा काम गर्दा कसैले मोबाइलमा कुराकानी गरेको देखेर छक्क परेकी इन्दिराको कलेजकी साथी शशी निकै गफी र चतुर हुन्छे । सधैँ शृङ्गारमा सहयोग गर्ने शशीलाई पाएर इन्दिरालाई उसका केही कमजोरीबाहेक खुसी नै लाग्न थाल्छ । उमेर मिल्दो कुनै पुरुषलाई देख्दा किरणको याद भने उसलाई आइरहन्छ । चार हजार छात्राहरू पढ्ने उक्त कलेज विद्यार्थी सङ्गठनहरूको कार्यक्रमले प्रभावित भइरहेको देख्दा इन्दिरा छक्क परेकी हुन्छे । समय बित्दै जाँदा दसैँतिहारको बिदा हुन्छ । घर हिँड्नुको अघिल्लो दिन इन्दिरालाई शशीले आफ्नो घरमा लिएर बलात्कार गरे झैँ गर्छे । यो घटनाले आश्चर्य मिश्रित डर बढ्दा आठ वर्षकी छँदा एकपल्ट मितिनीबाट पनि त्यस्तै भएको सम्झिँदै इन्दिराले किरणलाई सम्झेरसमेत अचम्म मान्छे । विस्तारै समयले इन्दिरालाई पनि अरूको कोठामा गएर बिहीबार आउने महाभारतको सिरियल हेर्ने बनाउँछ । सोही क्रममा निशान नाम गरेको किरण जस्तै व्यक्तिसँग उसको हेलमेल हुन थाल्छ । उसको निलो सर्ट र कालो पाइन्टले मनमा जति नै हलचल मच्चिए पनि इन्दिराले उसको प्रेमको आग्रहलाई सजिलै स्वीकार्दिन । ऊसँगको सम्बन्ध करुणालाई पटक्कै मन पर्दैन । रमेशले डेरा अन्तै सारिदिएपछि इन्दिरालाई भित्र कतै पछुतो भने लागिरहन्छ । त्यसपछि शशीसित उसको भेट हुँदैन । दोस्रो वर्षको दसैँमा घर फर्किँदा उनीहरूलाई ग्रामीण सुन्दरता, आफूहरूको अध्ययन र मातापिताको स्नेहको गर्व लाग्छ । घरमा पुगेपछि आमाले राखिदिएको चिठी करुणा हुँदै इन्दिराको हातमा आइपुग्छ । चिठीमा किरणले विवाहका लागि अन्तिम निर्णय पर्खिबसेको कुरा उल्लेख गरेको हुन्छ । यसबाट मर्माहत बनेकी इन्दिरालाई करुणाले गाली गरेपछि दुबै बहिनी अँगालोमा बेरिएर रुन्छन् । त्यही दसैँमा पिताजीको स्नेह सदाका लागि गुमाएका उनीहरू भावुक हुँदै काठमाडौँ फर्किन्छन् । डेरा र कलेजको दुरवस्थाका बिचबाटै बी.ए.प्रथम वर्षको जाँच दिएकी इन्दिराले होजियारी कम्पनीमा कामसमेत थाल्छे । त्यसपछि ऊ अर्को काममा लाग्छे । गार्मेन्ट कम्पनीको उक्त जागिरमा धेरैजसो हिन्दीभाषी हुन्छन् । जागिर र पढाइको व्यस्तताबिच झन् कम्पनी सरेपछि नगएकी इन्दिरालाई मालिकले नै आफ्नो गाडीमा लगिदिन थाल्छ । उसलाई गीता दिदीको मान्छे भनेर कसैले पनि केही भन्न सक्दैनन् । तैपनि मोनिका चाहिँ अलि बढी कुरा गर्छे । मालिकको निलो सर्टले आउने निशानको सम्झना, मालिकले दिएको सुविधा र नमिता सुनिता हत्याकाण्ड मनमा आए पनि उसको व्यवहारले ढुक्क भएकी इन्दिराले करुणालाई पनि त्यहीँ जागिर लगाइदिन्छे । फेरि पुरानैै ठाउँमा डेरा सर्दा, निलो सर्टवाला प्रेमले मोनिकालाई माया गरेको देख्दा र सार्वजनिक यातायातमा पुरुषहरूको दुव्र्यवहार भोग्दासमेत इन्दिराले निशानलाई सम्झिरहन्छे । यसै बेला बेवारिसे छोरी पाएर पनि कहिल्यै नभनेकी साथी सुनिता र रमेशको साथी हङकङे लाहुरेबिच आश्चर्यजनक ढङ्गले विवाह हुन्छ । छिट्टै आपसी विश्वासमा बाँधिएका उनीहरूको जीवन दुर्घटनामा नपरोस् भनेर करुणाले धेरै कुरा ओकलेपछि आफ्नो अतीत कोट्याउँदै आँखाभरि आँसु बनाएर सुनिताकी छोरीलाई समेत आफूले स्वीकार्ने कुरा गर्ने लाहुरेप्रति उनीहरूमा श्रध्दाभाव जाग्छ । आफूहरू (किराँतीहरू) सङ्कुचित हुँदैनौँ भन्ने त्यो लाहुरे र सुनिताको व्यवहारले इन्दिराको मनमा किरण र निशान आइरहन्छन् । यी सबै कुरा उनीहरूले दाइ र अर्को लाहुरे मिटिङबाट आएपछि सुनाउँछन् । त्यत्तिकैमा मालिकले नयाँ मेसिन ल्याउँछ । त्यसपछि केही थाई केटी र भारतीय मूलका केटाहरूसँग काम गर्दागर्दै इन्दिराको अङ्ग्रेजी पनि राम्रो हुन्छ । जागिरमा विश्वास कमाएकी उसले एकदिन मालिकसँग कुरा गरेर दिदीलाई पनि आफूकहाँ काम गर्ने बनाउँछे । ६ महिनापछि स्वदेश फर्किन लागेका थाई केटीहरूसँग विमानस्थलसम्म पुगेर इन्दिराहरूले मायाको चिनो साटासाट गर्छन् । त्यसपछि बी.ए. प्रथम वर्षको परीक्षा आउँछ । इन्दिराले शशी र किरणभन्दा बेसी निशानलाई सम्झिन्छे । संसदीय निर्वाचन हेर्न जाँदा भेटिएर कोठासम्म आएको निशानप्रति करुणामा आक्रोश उत्पन्न भए पनि इन्दिरामा प्रेमभाव जाग्छ । फलस्वरूप कसैको नाममा मतदान गर्न निस्किएकी इन्दिरा र निशान बाटैमा तनमनले पग्लिएर एकाकार हुन्छन् । आफ्नो उमेद पूरा भएपछि नफर्किएरै बाटो लागेको निशानलाई सम्झिएर इन्दिरा सजल हुन्छे । उता आफूहरूसँग केही नभनी अहोरात्र पार्टीको काम गर्ने दाजु रमेशलाई पनि चुनाव लागेर गाउँ गएको हुन्छ । विगतलाई बिर्सँदै काममा लागेकी इन्दिराको रिजल्टमा नाम नदेखिएपछि रन्थनिदै बाटामा हिँड्दा अचानक निशानसँग भेट हुन्छ । ऊसँग त्यस दिन आफ्नै भावनात्मक सहमतिमा भोगिएकी इन्दिरालाई निशानले एकदिन अपमान गरेर जान्छ । कम्पनी बन्द भएपछि त्यत्तिकै बसिरहेकी इन्दिरा जीवनमा आएका निरर्थक र भ्रामक प्रेम अनि त्यसका कुपात्रहरूबाट गहन पाठ सिकी अघि बढ्ने सोचमा पर्छे । तर सोचेर मात्र के गर्नु ! ट्युसन जाँदा निलो सर्टमा देखिएको सुदिपसँग फेरि पनि इन्दिराको मन बस्छ । ऊसँग एकदिन आँगन रेस्टुराँमा बसेर मन साटासाट गरेपछि सुदिपले बिहेको कुरा गर्छ । तत्कालै प्रतिक्रिया नदिए पनि सुदिपको कुरा इन्दिराको मनभरि सल्बलाइरहन्छ । यही बिन्दुमा पुगेर दोस्रो अध्याय सकिन्छ ।

समयक्रममा इन्दिरा एउटा निजी विद्यालयमा पढाउन थाल्छे । शशीलगायत आफ्ना पुराना प्रेमीहरूलाई सम्झिन्छे । शिक्षक अरुणको व्यक्तित्वबाट प्रभावित भइरहेकी इन्दिरालाई एकदिन सन्चो नहुँदा उसैले कोठासम्म पु¥याइदिन्छ । कोठामा सुदिपको चिठी आएको हुन्छ । दिदी रिसाएकी हुन्छे । चिठीमा उसले विवाहका लागि कुरेको कुरा व्यक्त गरेको देख्दा आफू त्यो हदसम्म नपुगेकाले इन्दिराले तनाव महसुस गर्छे । विस्तारै अरुणसँग आकर्षित भइरहेकी इन्दिरालाई एकदिन प्रिन्सिपलका दुई जनाले घरमै बोलाएर अरुणसँग विवाहको प्रस्ताव राख्छन् । मन परेकै भए पनि अभिभावकहरूको थाप्लामा हालेर त्यस दिन उम्किएकी उसलाई हप्ता दिन बितिसक्दा पनि अरुणहरूले कुरा ननिकाल्दा पीडाको महसुस हुन्छ । अरुणमा सबै कुरा आफैँ मिलाएर आफूलाई लिने हुती नभएकोमा इन्दिरालाई दुःख लाग्छ । प्रिन्सिपल र दाजु लागेर बिहेको कुरा टुङ्ग्याएपछि त्यसपालिको दसैँ उनीहरूका लागि ज्यादै कारुणिक हुन्छ । बिहेको अघिल्लो दिन आएको सुदिपले उपहार दिएर जाँदा स्थिति थप भावुक भइदिन्छ । करुणाले पनि इन्दिरालाई आफूसँग कहिल्यै मन नखोलेको गुनासो गरेबाट उसको भित्री मन जहिल्यै कोमल भएको थाहा हुन्छ । जन्मघर छोडेर पराइघर जानुपर्दा इन्दिरा ज्यादै भावुक हुन्छे । उसलाई बिहेका लागि चितवन लगिन्छ । हिन्दु संस्कारअनुसार अरुणको घरमा भित्रिएकी इन्दिरालाई अरुणको व्यवहारले भने दुखी तुल्याउन थाल्छ । जानीनजानी बुहारीको कर्तव्य पूरा गरे पनि लोग्नेलाई लोग्नेकै रूपमा भोग्न नपाएकी इन्दिरालाई काठमाडौँमा प्रिन्सिपलका दुई जनाले स्वागत गर्छन् । तर त्यस रात पनि लोग्नेकोे अँगालो नपाएपछि इन्दिरा झन् तनावमा पर्न थाल्छे । आमाकहाँ जानका लागि सामान किन्न जाँदा देखिएका ठाउँहरूले इन्दिराको मनमा सुदिप र निशानको सम्झना आउँछ । लोग्नेप्रति जति नै धेरै आशङ्का र पिर भए पनि आमा र दिदीसँग उसले केही भन्दिन । आफ्ना पूर्व सम्बन्धहरू थाहा पाएर त लोग्नेले यस्तो गरिरहेको छैन भन्ने इन्दिराको मनमा आशङ्कासमेत जाग्छ । तर माइतबाट फर्किएको रात एकाएक अरुणमा पुरुष स्वभाव देखेपछि इन्दिराको मन हर्षले ढलीमली हुन्छ । परीक्षापछिको बिदामा केही समय चितवनमा बिताएर काठमाडौँ फर्किएको दुई महिनापछि आफू गर्भवती भएको आनन्द इन्दिराले महसुस गर्छे । सुत्केरी हुँदा खप्नु परेको पीडा र अस्पतालको अवस्था छिचोलेर नवजात शिशुसहित फर्किँदै गर्दा उसको शशीसित भेट हुन्छ । एकदिन बच्चालाई हेरेर भावुक हुँदै आफ्नो पूर्व पत्नी बबिताले ५ वर्षअघि छोरो जन्माएर दुबैको निधन भएको कुरा अरुणले सुनाएपछि धेरै रहस्यहरू इन्दिरालाई थाहा हुन्छ । आफूलाई पहिलोपल्ट माइत पु¥याएर फर्की सारा ठाउँ पुगेर रोइरहेकोमा साँझपख ‘खुब मन पखाल्यौ अब जाऊ’ भन्ने आवाज कतैबाट आएको र सपनामा पनि इन्दिरा मै हुँ भनेपछि माया गर्न थालेको कुरा इन्दिाले अरुणबाट सुनेपछि आश्चर्य मान्छे । त्यत्तिकैमा अधिकृत भइसकेकी शशी एकदिन आपैm कार चलाएर भेट्न आउँछे । गर्भवती शशीसँग त्यसै दिन मन खोलेर कुरा हुँदा ऊ शरीरले महिला भए पनि मनले पुरुष भएकै कारणले अतीतमा आपूmमाथि ज्यादती गरेकी रहिछ भन्ने कुरा इन्दिरालाई थाहा हुन्छ । त्यसपछि छुट्टिएर गएकी शशीलाई छोरी जन्माएपछि ऊ भेट्न जान्छे । एकदिन झन्डै वर्ष दिनको छोरो बोकेर माइत हिँडेकी इन्दिराको अचानक सुदिपसँग भेट हुन्छ । निलो सर्ट र ज्याकेटमा भेटिएको ऊसँग पुनः आँगन रेस्टुराँमा भलाकुसारी हुन्छ । उसले आँखाभरि आँसु पारी आफू अविवाहित नै रहेको कुरा सुनाउँदा इन्दिराको मन पग्लिन्छ । समय बित्दै जाँदा अधिकृत भइसकेको अरुण र पढाउँदै गरेकी इन्दिरासँग एकदिन अचानक भेट हुँदा निशानले निकै असभ्य शैलीमा अरुणको अगाडि शङ्का उब्जाउन खोजेर जान्छ । तर पनि अरुणले कुनै कुभावना लिँदैन । निःसन्तान मोनिकासँग भेट हुँदा छक्क परेकी इन्दिरालाई जनयुध्द समाप्तिको घोषणापछि दाजु ठुलो नेता भएको र करुणा पनि महिला सङ्गठनमा काम गर्न थालेको खुसी भए पनि घर देखाउन नपाउँदै आमाको निधन भएको कुराले दुःख लाग्छ । केही समयपछि बिरामी सासू काठमाडौँमा निको नभएपछि उनीहरूले पुनः चितवन नै लान्छन् । भरतपुर क्यान्सर हस्पिटलमा सासूआमालाई कुर्दा अनेक उमेर अवस्थाका क्यान्सर रोगी र तिनका आफन्तहरूको मनोवैज्ञानिक पीडा इन्दिराले देख्छे । त्यसै बिचमा आआफ्ना बिरामीलाई छोडेर कुनै नारीपुरुषले बिहे गरी भागेको उसले सुन्छे । उसलाई त्यति बेला किरण, सुदिप र निशानका सम्झनाहरू पनि आइरहन्छन् । अचानक एकदिन अस्पतालको गेटनिर घाँटीको क्यान्सरले अशक्त भएको किरणसँग इन्दिराको भेट हुन्छ । भावुक भएकी इन्दिरालाई त्यस रात निद्रा लाग्दैन । उसलाई कसरी सहयोग गर्न सकिन्छ भनी ऊ सोचमग्न हुन्छे । भोलिपल्ट आफूलाई जीवनभरि झल्को लगाउने निलो रङको कपडाको पोको हातमा थमाएर इन्दिरा फर्किएपछि किरण निकै बेर कोठामा पसी रोइरहन्छ । त्यहाँको बसाइले जीवनको अनित्यताबारे बोध गरेकी इन्दिरालाई सासूको उपचारमा लोभ लाग्न छोड्छ । बरु आफ्नो लोग्नेलाई अबदेखि निलो सर्ट कहिल्यै नलगाउनू भन्दै उसको सर्ट धरधरी च्यातिदिन्छे । त्यो देखेर अरुण अलमल्ल पर्छ । यत्तिकैमा उपन्यासको कथावस्तु सकिन्छ ।

२. पात्रचरित्र

उपन्यासमा कथावस्तुलाई जीवन्त बनाउँदै सन्देशलाई सार्थक पार्ने काम पात्रहरूका माध्यमबाट गरिएको हुन्छ । पात्रका व्यवहारका आधारमा पाठकले तिनीहरूको मूल्याङ्कन गर्दै कृतिको रसास्वादन गर्दछन् । यसै सन्दर्भमा विवेच्य उपन्यास अतृप्तिमा पनि थुप्रै पात्रहरूको प्रयोग भएको छ । प्रमुख पात्र इन्दिराकै केन्द्रीयतामा यहाँ उसको पहिलो प्रेमी किरणका साथै अन्य प्रेमीहरू निशान, सुदिप र लोग्ने अरुण पनि देखिएको छ । अभिन्न मित्र र कुशल अभिभावकका रूपमा इन्दिराले करुणा र रमेशको साथ पाइरहन्छे । आमाको दूरदर्शी स्वभावका कारण पढ्न पाएकी इन्दिराले विद्यालयदेखि विश्वविद्यालयसम्म रीता, ललिता, मनोज, शशी जस्ता थुप्रै आत्मीयजन भेट्छे । जागिरका बेला पनि मोनिका, गीता दिदी, मालिक र हेड सरका बुढाबुढीहरूसँग सङ्गत गर्न पाउँछे । छोटो समय भेटिएर पनि गहन ज्ञान दिने र मनमा छाप छोड्ने सुनिता, हङकङे लाहुरे, गाउँघरका मान्छे र थाई केटीहरू पनि सुनिताको जीवनमा देखा पर्छन् । पात्रहरूले आख्यानमा आएर हाम्रै समाजको प्रतिनिधित्व गर्ने भएकाले यस उपन्यासमा पनि अनेक विशेषता भएका पात्रहरू देखिन्छन् । अत्यन्त कोमल र प्रेमिल मन भएकी तर मौकामा मन नखोलेरै जीवनभर पश्चातापमा बाँच्ने इन्दिरा मलाई अजीवकै लाग्छे । तर पनि ढोँगी लाग्दैन । उसको वास्तविक परिचय त्यही हो, जो अधिकांश मानिसभित्र धेरथोर बाँचिरहेकै हुन्छ । ऊभित्र पहिलो प्रेमको तृष्णा यसरी गडेको छ कि जुन जति नै निकाल्न खोजे पनि कहिल्यै निक्लिएर जाँदैन । उसका पछिल्ला प्रेमहरू र घरबार किरणकै अभावको क्षतिपूर्ति गर्ने प्रयास झैँ लाग्छ । तर पनि उसको मन कहिल्यै तृप्त हुँदैन । क्यान्सरले जीवनको अन्तिम समय कुरिरहेको किरणसँग अनायासै भेट हुँदा ऊभित्रको सुषुप्त भावना आँखाबाट छचल्किन्छ । किरणको निलो सर्ट सधैँभरि उसको अतृप्तिको बिम्ब बनिरहन्छ । तर जति नै कोमल मन भएकी भए पनि ऊ जीवनदेखि भने कहिल्यै हार्दिन । पढ्नुपर्छ, काम गरी खानुपर्छ र कठिनाइको सामना गर्दै अघि बढिरहनुपर्छ भन्ने भाव भने उसमा आदिदेखि अन्त्यसम्म देखिन्छ । त्यसै गरी ऊसँग धेरै समय बिताएकी छ दिदी करुणाले । ऊ इन्दिराभन्दा अलि बेसी अन्तर्मुखी छे । तैपनि बहिनीको सधैँ असल अभिभावक बनेकी छे । दाइ रमेश पनि बहिनीहरूका लागि निकै उदार देखिन्छ । लामो समयसम्म लुकीछिपी राजनीतिमा होमिएको ऊ सिङ्गो समय देशका लागि बाँचेको छ । तर उसले चाहेको व्यवस्था आएपछि उसको भूमिका भने उपन्यासमा देखिएको छैन । छोरीहरूलाई शिक्षा दिन सङ्घर्ष गर्ने आमा, सानैमा बिहे भएकी ललिता, बलात्कृत भएर पनि पुनर्जीवन पाएकी सुनिता, सम्पत्ति भएर पनि सन्तान र लोग्ने नभएकी मोनिकालगायतका पात्रहरूले पनि उपन्यासमा पाठकको मन तानिरहन्छन् । जातीय दृष्टिले पनि उपन्यासमा लिम्बुवानका लिम्बुहरूदेखि काठमाडौँ उपत्यकाका नेवार पात्रसम्म छन् । आर्य मूलका त स्वयं इन्दिराहरू नै भइहाले । यसरी हेर्दा उपन्यासमा जातीय, वर्गीय, लैङ्गिक आदि सबै पक्षका पात्रहरूको सन्तुलित प्रयोग भएको देखिन्छ । समग्रमा उपन्यासमा प्रयोग भएका पात्रहरू आफ्नो भूमिकाभरिको लागि सशक्त र मन छुने नै छन् ।

३. मूलभाव

सिर्जनाका माध्यमबाट समाजलाई दिन खोजिएको सन्देश नै मूलभाव हो । लेखिकाले लेखकीयमा भनेकी छन्, “यो उपन्यास किशोरकालीन प्रेमभावबाट प्रारम्भ भएर युवा उमेरसम्म पुग्दा भइरहने फरक फरक आकर्षणका अनुभूतिहरूमा केन्द्रित छ । आफूले चाहेको र मनले मागेको माया नपाउँदा मानिस आपैmभित्र कसरी कुण्ठित हुन्छ भन्ने मनोदशालाई समेट्न खोजिएको छ । शरीरको विकास हुँदै जाँदा हुने विपरीत लिङ्गी आकर्षण र त्यसलाई व्यक्त गर्न नसक्दा उत्पन्न हुने मनोदशालाई समेट्न खोजेकी छु । भर्खर भर्खर बैँस चढ्दै गएका केटाकेटीहरूमा केटाले जति सजिलो र हलुका गरी प्रेमलाई हेरेको हुन्छ, त्योभन्दा कैयौँ गुना गहिरो गरी केटीले सोचेकी हुन्छे ।” यसबाट पनि थाहा हुन्छ कि अतृप्तिमा बिमलीले नारी मनका विविध अवस्थाहरूको चित्रण गर्न खोजेकी छन् । यस अर्थमा यो नारी मनको यथार्थ प्रस्तुतिमा आधारित छ । नारीहरू कति संवेदनशील, कोमल, सहनशील, सङ्घर्षशील र दयालु हुन्छन् भन्ने कुरा इन्दिराको चरित्रले बडो जीवन्त रूपमा प्रस्तुत गरेको छ । प्रेम र विवाह जस्ता कुराहरूमा नारीहरू कति गम्भीर हुँदा रहेछन् भन्ने उपन्यासमा निकै गहिरो गरी उठाइएको छ । बाहिर जति नै ढोँग रचिए पनि अन्ततः मानिसको मनमा बहुप्रेम बाँचेकै हुन्छ भन्ने कुरा इन्दिराको चरित्रले देखाएको छ । जिन्दगीमा यस्ता कैयन् पात्रसँग मान्छेको प्रेम हुन्छ, मन बस्छ तर बिहे चाहिँ अर्कैसित भइदिन्छ । मन पराइएका कतिसँग त कहिल्यै मन खोल्नै नपाएर जिन्दगीले अर्कै मोड लगिदिन्छ । यो समस्या त अझ बेसी नारीहरूको जीवनमा आइपर्छ । अचेतन मनले नडामिएर सग्लो जीवन बाँचको कोही भए धन्य हो । यिनै मानवीय जीवनका भित्री यथार्थहरू उपन्यासले अभिव्यक्त गरेको छ ।
उपर्युक्त मानव जीवनका रहस्यहरूको यथार्थ प्रस्तुतिका साथै उपन्यासमा छोरीलाई चुलोचौकोमा मात्र सीमित राख्ने परम्परागत समाजका विरुध्द इन्दिरा, करुणा, शशी जस्ता पात्रहरूका माध्यमबाट जबरजस्त ढङ्गको सन्देश व्यक्त गरिएको छ । छोरीहरूले पनि अवसर पाए भने पढ्नलेख्न या त जुनसुकै काम पनि पुरुष सरह गर्न सक्छन् । आफ्नो खुट्टामा आफैँ उभिन सक्छन् भन्ने भाव उपन्यासभरि पाइन्छ । नेपाली समाजको जातीय र लैङ्गिक सङ्कीर्णता, असुरक्षित नारी जीवन, नारीहरूले समाजमा स्थापित हुन गरिरहनुपरेको अथक सङ्घर्ष, नेपाली समाजको गरिबी र त्यसले निम्त्याएका समस्याहरू, तेस्रो लिङ्गीको मनोदशा, वात्सल्य प्रेम, ग्रामीण र सहरी परिवेशबिच रहेको भिन्नता जस्ता कुराहरूको यथार्थ प्रस्तुति पनि प्रस्तुत उपन्यासको मूलभाव हो ।

४. परिवेश

परिवेशले उपन्यासमा घटित घटनाहरूको देश, काल र वातावरणलाई जनाउँछ । पात्रहरूका गतिविधि कुन भूगोलमा, कहिले र कस्तो खालको बाह्यान्तरिक वातावरणमा भइरहेका छन् भन्ने कुरा परिवेशसँग सम्बन्धित हुन्छ । यसले उपन्यासलाई विश्वसनीय, जीवन्त र सशक्त बनाउँछ । ‘अतृप्ति’ उपन्यासमा पनि कथावस्तुअनुकूल विभिन्न खाले परिवेशको प्रयोग गरिएको छ । उपन्यासको पृष्ठ सैँतिसमा घरबाट हिँडेको तेस्रो दिन बिहान पाथीभरा माताको मन्दिरमा पूजा गर्न पुगेको सन्दर्भ उल्लेख भएबाट यो उपन्यासको आदिभूमि लेखिकाकै जन्मस्थान तेह्रथुमको ह्वाकु सेरोफेरो रहेको कुरा भन्न सकिन्छ । यसरी हेर्दा तेह्रथुमबाट सुरु भएको कथा ताप्लेजुङ, काठमाडौँ हुँदै चितवनमा पुगेर टुङ्गिएको छ । पहाडमा हुर्किनु, काठमाडौँ उपत्यकामा सङ्घर्ष गर्नु र तराईमा पुगेर जीवनको एउटा अध्याय सकिनु इन्दिराको जिन्दगीको एउटा नियति जस्तै बनेको छ । आदि र अन्त्य भूमि तेह्रथुम र चितवन भए पनि उपन्यासको अलि बढी गतिविधि भएको मध्यभूमि चाहिँ काठमाडौँ नै हो । ग्रामीण परिवेशको सुन्दरता, विभिन्न जातजाति तथा भाषाभाषी युक्त समाज, सहरको कोलाहल र प्रतिस्पर्धा, व्यक्तित्व विकासमा सहरको योगदान आदि पनि उपन्यासमा उल्लेख छ । कालिक परिवेशको कुरा गर्दा इन्दिराको किशोरावस्थादेखि सुरु भएर वयस्क अवस्थासम्मको समयावधि उपन्यासले लिएको छ । तत्कालीन समयमा चलिरहेको जनयुध्द, अखिलमा रमेशले गरिरहेको गतिविधि र त्यसको समापन भएको चर्चा उपन्यासमा हुनुले करिब एक दशक सेरोफेरोको नेपाली समाजको राजनीतिक वातावरण पनि उपन्यासमा उल्लेख छ । यसअतिरिक्त बहुभाषिक, बहुजातीय एवम् बहुसांस्कृतिक वातावरण पनि उपन्यासमा देख्न सकिन्छ । पात्रहरूको बिचमा र स्वयम् पात्रको मनभित्र पनि कैयन् अवस्थामा हुने द्वन्द्व र उथलपुथल पनि बाह्यान्तरिक वातावरणमा जीवन्त भएर आएका छन् । यसरी हेर्दा प्रस्तुत उपन्यासको परिवेश औपन्यासिक सन्देश र घटनाहरू जीवन्त र विश्वसनीय बनाउन सबल छ ।

५ दृष्टिविन्दु

कथा प्रस्तुतिको शैलीलाई दृष्टिविन्दु भनिन्छ । यसबाट कसको कथा, कसले, कसरी भनिरहेको छ भन्ने कुराको बोध हुन्छ । मोटामोटीमा हामी ‘म’ वा ‘हामी’ का कोणबाट आफ्नो कथा भने त्यसलाई आन्तरिक र बाहिरैबाट ‘ऊ’, ‘उहाँ’ आदि कोणबाट कसैले कसैको कथा भने त्यसलाई बाह्य दृष्टिविन्दुको प्रयोग भएको बुझ्छौँ । यस सन्दर्भमा हेर्दा ‘अतृप्ति’ उपन्यासमा बाह्य वा तृतीय पुरुष दृष्टिविन्दुको प्रयोग भएको देखिन्छ । यो कुरा उपन्यासको आदि र अन्त्यको निम्न सन्दर्भबाट हेर्न सकिन्छ :

“इन्दिरा पढाइमा धेरै तेज त होइन तर त्यति कमजोर पनि थिइन । त्यो वर्ष पनि विद्यालयमा विद्यार्थीको चाप खुब बढेको थियो । उसका कक्षामा पनि धेरै नयाँ अनुहारहरू थपिएका थिए ।”
(बिमली, २०७८ : १)

“अनि उसले उल्टो पारेर सर्टको सिलाइपट्टिबाट धर्धरी उदार्न थाली । निधारमा गाँठो पार्दै भृकुटी खुम्च्याएर अरुण अलमल्ल परेर हेरिरहेको थियो । (बिमली, २०७८ : १७३)

उपर्युक्त दुई सन्दर्भबाट नै के थाहा हुन्छ भने उपन्यासभन्दा बाहिरै बसेर समाख्याताले सम्पूर्ण कुराको वर्णन गरेको छ ।

६. भाषाशैली

भाषाशैली लेखकीय अभिव्यक्तिको तरिका हो । यसको कलात्मक संयोजनले नै वास्तवमा कृतिलाई आस्वादनीय बनाउँछ । यस उपन्यासमा बिमलीले भाषिक उपकरणहरूको प्रयोग विशिष्ट ढङ्गले गरेकी छन् । अचम्म त के लाग्छ भने भाषा प्रयोगमा कमभन्दा कम विचलन ल्याएरै पनि यति सुन्दर कृतिको जन्म हुँदोरहेछ । वृत्ताकारीय नभएर रैखिक ढाँचामा अघि बढेको कथावस्तुमा वाक्यहरू पनि अत्यन्त सरल र प्राञ्जल छन् । सुबोध्य तद्भव शब्दको बाहुल्य, छरिता वाक्य र पात्रानुकूल कथ्य भाषाको प्रयोगले उपन्यासको भाषाशैली निकै आकर्षक बनेको छ । नवीनता र प्रयोगका नाममा वर्तमानमा भाषालाई भाँचभुँच पार्ने जुन शैली यदाकदा देखिन्छ, त्यो यो उपन्यासमा पाइँदैन । किराँतहरूले बोल्ने नेपाली र हिन्दी भाषी समुदायले बोल्ने नेपाली भाषाको रोचक प्रयोग उपन्यासमा पाउन सकिन्छ । त्यति मात्र नभएर सन्दर्भवश हिन्दी र अङ्ग्रेजी वाक्यहरूको प्रयोग पनि उपन्यासमा पाइन्छ । तैपनि तिनले रसास्वादनमा अवरोध नभई सहयोगीको काम नै गरेका छन् ।

भाषाशैलीको कुरा गर्दा यति कुरा नभन्दा अन्याय हुन्छ कि प्रसङ्गअनुकूल उपन्यासमा उखान टुक्का, बिम्बप्रतीक आदिको बडो कलात्मक प्रयोग भएको छ । जस्तै :

“…दिदी त अघि नै ‘जसले आगो खान्छ उसैले कालो हग्छ’ भन्दैै बौलाएर बाहिर निस्किसकेकी थिई ।” (बिमली, २०७८ : ६६)

“…किरणलाई देखेर उसको मुख चुक घोप्ट्याएको जस्तो भो ।”
(बिमली, २०७८ : ३४

“इन्दिरालाई भित्र मनको सपनाको कुनै घुर्मैलो जून स्वाट्टै अस्ताए जस्तो, लट्टाईबाट चङ्गा चुँडिएर बादलमा बिलाए जस्तो, इन्द्रेणीको एउटा रङ हेर्दाहेर्दै हराए जस्तो के के जस्तो लागिरह्यो । आँखालाई दुइटा हत्केलाभित्र निकै बेर थुनेर राखी ।”
(बिमली, २०७८ : १३९)

“मान्छेको मन र अमिबा उस्तै उस्तै हुन् । छिन छिन रूप फेरिरहने ।”
(बिमली, २०७८ : ६२)

यसरी केही चर्चा र सन्दर्भहरूका आधारमा ‘अतृप्ति’ उपन्यासको भाषाशैली अत्यन्त सरल, कलात्मक, सान्दर्भिक, सटीक, उखानटुक्का तथा बिम्बप्रतीक युक्त र आवश्यकताअनुकूल कथ्य र मिश्रित खालको समेत रहेको स्पष्ट हुन्छ ।

७. शीर्षक सार्थकता

साहित्यिक कृतिका सन्दर्भमा शीर्षकले विशेष अर्थ राख्दछ । प्रमुख पात्रको नामबाट, मुख्य विषयवस्तुबाट या त प्रतीकात्मक ढङ्गबाट अर्थ खुल्ने गरी हरेक कृतिको शीर्षक चयन गरिएको हुन्छ । यो उपन्यासको नाम एकपदीय ‘अतृप्ति’ राखिएको छ । तत्सम शब्दका रूपमा रहेको ‘अतृप्ति ’ शब्दलाई प्रयोगात्मक नेपाली शब्दकोशले ‘अ+तृप्+ति’ बाट बनेको भनी निर्माण प्रक्रिया देखाएको छ । यसको बृहत् नेपाली शब्दकोशले ‘मन नअघाएको स्थिति’, ‘पेट नभरिएको अवस्था’ भन्ने अर्थ लगाएको छ भने प्रयोगात्मक नेपाली शब्दकोशले थप रूपमा इच्छा वा चाहना पूरा नहुँदाको स्थिति, असन्तुष्टि, असन्तोष आदि लगाएको छ । यसरी हेर्दा उपन्यासकी नायिकाभित्र तमाम इच्छाहरू हुँहाहुँदै पनि पूरा हुन पाएका छैनन् । किरणको प्रेममा गहिरो गरी डुबेकी उसले अन्ततः उसको तिर्सना ऊ जस्तै आवरणमा भेटिनेहरूबाट मेट्ने अनेक कोसिस गरी । बिहेसमेत गरेर छोराकी आमा भई तर पनि प्रेमको तिर्खा मेट्न सकिन । त्यति मात्रै कहाँ हो र ! उपन्यासमा प्रयुक्त पात्रहरू किरण, निशान, सुदिप, शशी मोनिका आदिले प्रेम र यौनको भोक मेटाउन अनेक गरे । तर पनि ती तृप्त भएनन् । अरुणकी आमा र इन्दिाराका आमाबाको छोराछोरीलाई पढाइवरी घरजम गराएर सुखैसुख भोगेको देख्ने इच्छा पूरा भएको कहाँ देखियो र ! तैपनि सबै सङ्घर्षशील पात्रहरूले जीवनको तृप्तिका लागि अहोरात्र सङ्घर्ष गरिरहेकै छन् । यी सबै कुराका आधारमा भन्न सकिन्छ कि उपन्यासको कथ्य विषय र शीर्षकका बिचमा सार्थक सम्बन्ध छ । यसको शीर्षकबाट नै पाठकले यसभित्र पक्कै पनि पूरा हुन नपाएका चाहनाहरू होलान् भन्ने अनुमान लगाउन सक्छन् ।

८. निष्कर्ष तथा उपसंहार

विशेषतः नारी मनोविज्ञानमा आधारित बिमलीको ‘अतृप्ति’ उपन्यास अत्यन्त आस्वादनीय रहेको छ । उनको संस्मरणात्मक कृति ‘खिर’ को तुलनामा अलि बेसी नै भाषिक परिष्कार यसमा देख्न सकिन्छ । कथ्य, चरित्र, उद्देश्य, परिवेश, भाषाशैली र शीर्षक सार्थकताका कोणबाट हेर्दा उपन्यास अब्बल रहेको कुरा स्पष्ट हुन्छ । प्रकारान्तरले थप विश्लेषण त हुने नै छन् । यो मेरो एकसरोे हेराइ मात्र हो । यति कुरा भनिसकेपछि एउटा सामान्य पाठकको हैसियतले भन्छु, रमेशलाई अलिकति तन्काइदिएर जनयुध्द समाप्तिपछि ऊ तृप्त भयो होला कि नाई भन्ने कुरा देखाइदिएको भए कस्तो हुन्थ्यो होला ? अलिकति भावनाको कुरा गरिसकेपछि अलिकति तथ्यमा जान्छु । आम लेखकका कृतिमा हुने जस्तै केही ठाउँहरूमा वर्णविन्याससम्बन्धी त्रुटि म जत्तिको पाठकले देख्नु सामान्य कुरा हो । तिनलाई आगामी संस्करणमा सुधार्न सकिन्छ । अन्तमा अब अलिकति शैलीगत परिष्कारको कुरा पनि जोड्न मन लाग्यो । जस्तै : “छोरीहरू धेरै पढेर ज्ञानी भएर उनलाई भेट्न पुगेका थिए । उनी भन्थिन्, गाउँमै भएका भए उहिले नै बिहे भएर तीनचार वटा नानी बोकेर माइत आउँथ्यौ होला ।” (बिमली, २०७८ : १३६)

यसरी सरल वाक्यलाई तन्काउनुपर्दा अर्थ उही भए पनि शैलीमा मिठास ल्याउन होला सायद, गुरुहरूले हामीलाई यस्तो पार्न सिकाउनुहुन्थ्यो, “छोरीहरू धेरै पढेर ज्ञानी भई उनलाई भेट्न पुगेका थिए । उनी भन्थिन्, गाउँमै भएका भए उहिले नै बिहे भएर तीनचार वटा नानी बोकी माइत आउँथ्यौ होला ।” यस्तै या त अघिल्लो धातुमा ‘ई’ थपी पछिल्लोमा ‘एर’ नै राखेर पनि लेख्ने गरिन्थ्यो । केही ठाउँहरूमा आँखा लागेकाले यति कुरा गरेँ । यो चाहिँ झिनो परिष्कारको कुरा मात्र हो, गल्ती नै भने अवश्य होइन । समग्रमा हेर्दा एउटा लेखकका लागि कृति ईर्ष्या र लोभलाग्दो नै छ । यति कोमल र मर्मस्पर्शी कृति नेपाली साहित्यलाई दिनुभएकोमा लेखिकालाई लाखौँ बधाई र थप सफलताको असीम शुभकामना ! अस्तु !

            सन्दर्भग्रन्थसूची

१ अधिकारी, हेमाङ्गराज र वद्रीविशाल भट्टराई (२०६६), प्रयोगात्मक नेपाली शब्दकोश, पाँचौँ संस्करण, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।
२ बिमली, मञ्जु (२०६६), दुई थोपा आँसु, प्रथम संस्करण, अन्राष्ट्रिय नेपाली साहित्य समाज युके च्याप्टर ।
३ बिमली, मञ्जु (२०६९), खिर संस्मरण, प्रथम संस्करण, काठमाडौँ : पैरवी बुक हाउस ।
४ बिमली, मञ्जु (२०७८), अतृप्ति उपन्यास, प्रथम संस्करण, काठमाडौँ : पैरवी बुक हाउस ।
५ मल्ल, प्रेमप्रकाश (२०६९), राधा : कृति एक प्रवृत्ति अनेक, प्रथम संस्करण, विनोदकुमार चन्द ।
६ शर्मा, मोहनराज र खगेन्द्रप्रसाद लुइँटेल (२०७६), पूर्वीय र पाश्चात्य साहित्य सिध्दान्त, पाँचौँ संस्करण, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।