एक टुक्रा सपना



– राजिव आचार्य –

पर्सि नामसारी गर्ने बेलामा अरू पन्ध्र लाख लिने सर्तमा गाडी राम्ररी देखाई पाँच लाख बैना लिएर भैरव, खलासी बिरेसँग घरतिर लाग्दा, झमक्क साँझ परिसकेको थियो । दुई सालअघि मात्र रात्रि बसको एकलौटी साहु र चालक भएको ऊ, गाडी पर्सिदेखि अर्कैको हुने भो भन्ने दुःखभन्दा बढी त्यो पैसाले आफ्नो छोराको सपना पूरा गर्न पाइने भइयो भन्ने कुराले खुसी थियो । हुन त, बितेका पच्चीस वर्षअघि अल्लारे जोवनमा पहाडबाट झरेर खलासीबाट काम सुरू गरेको थियो उसले । आजको दिनसम्म आउँदा यो गाडी मात्र नभई सहरमा एउटा घर, सुशील पत्नी, मेधावी छोरा र असल छोरी पनि जोडिसकेको थियो उसले।

यसपालि छोराले उच्च श्रेणीमा बाह्र कक्षा पास गरी अस्ट्रेलियाको राम्रो कलेजमा एमबिबिएस अध्ययनका लागि नाम निकालेको थियो । जम्मा गर्नु पर्ने फिस, टिकट, भिसा आदि सबैथोक गर्दा तीस लाखभन्दा उकालो लाग्ने पर्यो । साथीभाइसँग ऋणपान, स्वास्नी, छोरीका गरगहना र यो गाडीको दामबाट बल्ल खर्च जुट्ने देखियो । आजको पन्ध्र दिन भित्र उड्ने गरी टिकट पनि भइसकेको थियो ।

छोरा डाक्टर भएको सपना, त्यसबाट छोरीको पनि राम्रो भविष्य, आफ्नो र श्रीमतीको गौरवान्वित जिन्दगी आदि कल्पेर कुद्दाकुद्दै पान्धारे जङ्गल पुग्दा आधा रात हुन लागेको थियो । आफ्ना आगामी दिनको सपनामा रम्दारम्दै अगाडिको मोटर साइकललाई ओवरटेक गर्ने क्रममा कतिखेर पछाडिको भागले मोटरसाइकललाई हिर्काएछ; उसलाई पत्तै भएन । करिब पन्ध्र मिटरअघि पुगेर गाडी रोकी झ्यालबाट हेर्दा मोटर साइकलमुनि थिचिएर सकी नसकी घाइतेले हात उठाएर मदतका लागि इसारा गरेको जूनको उज्यालोमा प्रस्टै देखिन्थ्यो । अनुहार भने देखिँदैन थियो; हेल्मेटले छेकिएको थियो ।

‘गुरुजी, मान्छे बाँचे पनि खुट्टा चाहिँ पच्याक पुचुक भएछ ।’ – बिरे छेउमै गएर चिच्च्यायो ।

एक्कासि भैरवको आँखा अगाडि अँध्यारो भएर आयो । पुलिस, अड्डा अदालत, क्षतिपूर्ति, छोराको सपना बेकार भएको अनि कुसङ्गतमा परेको, श्रीमतीको हन्टर, छोरीको बिजोग आदि दृश्यहरू उसको आँखाअघि नाच्न थाले । दुवैतिर परपरसम्म सडक सुनसान थियो । एक्कासि उसको मनमा के आयो, गाडी ब्याक गरेर घाइतेभन्दा दस मिटर पछाडि लगेर रोक्यो अनि तेज गतिले गाडी अगाडि बढाएर घाइतेको छातीमाथि कुल्चेर लग्यो । बिरे फुत्त गाडीमा चढ्यो । अलिकति अगाडि बढेपछि गाडी सिधा नगई जङ्गल पसेर जामुनेको घुमाउरो बाटो भएर सुन्दरपुरतिर लाग्यो।

गाडी ग्यारेजमा थन्क्याइवरी घर पुग्दा आधा रात भैसकेको थियो ।

‘म केही खान्न है ।’ – यति मात्र भनेर ऊ सिधै ओछ्यानमा गएर पल्ट्यो ।

फेरि यताउता हेरेर सोध्यो – ‘समीर देख्दिनँ त ।’

–‘खोइ दिउँसै निकेशकहाँ गँको ।’ –श्रीमतीले जबाफ दिइन् ।

भैरव उठ्यो र फोनमा केके नम्बर डायल गर्यो । उताबाट कोही बोलेछि सोध्यो– ‘समीर आज तेतै बसेको हो ?’

–‘हैन त अङ्कल, दिउँसो आ’को थियो । प्रमेसको मामाको पार्सल अस्ट्रेलिया लानुपर्ने भयो रे, हिँड्, भन्दै थियो । मैले भ्याइनँ अनि ऊ मेरो बाइक लिएर एक्लै प्रमेसको मामाघर हरिनगर गाको थियो । म त सिधै त्यतै आयो होला भनिरा ।’ – उताबाट उत्तर आयो ।

ऊ अचानक झस्क्यो ।

‘हँ… ! तिम्रो बाइक त त्यो रातो… ।’– उसले आफ्नो कुरा पनि पूरा नगरी फोन काट्यो र अर्को नम्बर डायल गर्यो । केहीबेर घन्टी बजेपछि उताबाट राम्ररी बोल्न नपाउँदै अत्तालिएर सोध्यो – ‘हेलो ट्राफिक अफिस, आज पान्धारे जङ्गलमा भएको दुर्घटनामा परेको पीडितको केही पत्तो ….?’

उताबाट जे उत्तर आयो; त्यो सुन्नासाथ उसको मुहार भयानक भयो । नौ नारी गलेर आयो । जिउ थाम्न नसकी भुइँमा लड्यो । हातबाट रिसिवर भुइँमा झरेर फुटेसँगै भैरवको एक टुक्रा सपना छताछुल्ल भएर पोखियो।