सडक शासन



–निशा केसी–

दुईजना ट्राफिक पुलिसले मेरो स्कुटर रोक्न सङ्केत गरे । एकजना मेरो मुखैनेर आयो र सोध्यो– ‘मापसे गर्नुभएको छ कि ?’

छैनको इसारामा मैले मुन्टो हल्लाएँ ।

ऊ मेरो स्वर सुन्न चाहन्थ्यो – ‘भन्नुस्, ड्रिङ्क गर्नुभएको त छैन, हैन ?’

–‘म कहिल्यै ड्रिङ्क गर्दिन भाइ ।’ – मैले नम्र भावमा भनेँ ।

–‘हैन तपाईँले हल्का ड्रिङ्क गर्नुभएको छ ।’ – ऊ मेरो ओठैनिर थुतुनो जोड्न उद्यत भयो ।

म अलि पछि हटेँ र कड्किएँ – ‘यन्त्र लगाएर हेर्नुस्; छ कि छैन ?’

–‘तपाईँको ब्लुबुक, लाइसेन्स ?’

म चुपचाप डिक्की खोल्न थालेँ ।

त्यहीबेला एउटा पल्सर मोटरसाइकल हुइँकिएर आयो । ट्राफिकहरू त्यतै तानिए । बाइकको अगाडिपट्टि सात आठ वर्षको बालक पनि थियो । मैलाई गरिएको रीतले उसमाथि प्रश्नहरू खन्याइयो ।

उसले भन्यो –‘रेडबुल खाएको छु सर । अरू केही खाएको छैन ।’

उसको मुखबाट ह्वास्स रक्सी गन्हाएको मैले नि चाल पाएँ । ट्राफिकहरूले उसलाई घेरिसकेका थिए । एउटाले उसको मुखमा यन्त्र लगाएर त्यसलाई फुक्ने आदेश दियो ।

–‘तपाईँले खानुभएको छ; बुझ्नुभयो !’

मोटरसाइकल चालक हार्नेवाला थिएन – ‘के नचाहिने कुरा गर्नुहुन्छ सर ? तपाईँको मेसिन बिग्रेको होला ।’

उसको कुरा सुनेर पुलिसहरूले मुखामुख गरे।

त्यस अधवैँशेले नम्र हुँदै भन्यो – ‘ल मेरो छोराको मुखमा राख्नुस् त त्यो यन्त्र । मेसिन बिग्रे, नबिग्रेको थाहा भइहाल्छ नि ।’

पुलिसले बालकको मुखमा त्यो यन्त्र जोड्यो र फुक्न लगायो ।

नभन्दै मेसिनले बालकले पनि मापसे गरेको देखायो । मेसिनधारी जवानले पुलुक्क असईको मुखतिर हेरे । असईले टाउको हल्लाउँदै बाइकवालालाई जान इसारा गरे।

मलाई पनि जान अनुमति दिइयो । म अगाडि बढेँ । पल्सरवाला अलि अगाडि गएर रोक्किइरहेको रहेछ । उसले मलाई सोध्यो– ‘हजुरलाई चिट काट्यो कि क्या हो ट्राफिकले ?’

मैले छैन भावमा मुन्टो हल्लाएँ ।

–‘तपाईँले त मापसे गर्नुभएकै थियो । के साँच्चै त्यो मेसिन बिग्रेको थियो त ?’ – मैले अचम्म मान्दै सोधेँ ।

ऊ हाँस्यो – ‘हेर्नुस्, मापसे त त्यस असईले पनि गरेको थियो । बाटामा यस्तै पर्ला भनेर मैले छोरालाई दुई बिर्को खुवाएको थिएँ । खुब काम लाग्यो । ल, बिस्तारै आउनुस् है ।’ उसले बाइकको स्पिड बढायो ।