पौडेल विमुन्सका दुई लघुकथा



–पौडेल विमुन्स–

सकारात्मक सोच

–‘छ वर्ष अगाडि गएको विनाशकारी भूकम्प आज पनि सम्झिँदा कहाली लाग्छ। कसरी बाँचियो; भगवान् जान्दछन्।’– सन्ते यसै एक्लै बड्बडायो –’तर त्यस विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरूको सम्झनाले रमाउन भने दिएको छैन यो मन।’ यस्तै कुरा सोचेर मनलाई बुझाउने प्रयासमा छ सन्ते। अस्पतालको ४ वर्षको बसाइपछि घर फिरेको सन्तेलाई घर फर्किनुको पनि भिन्न अनुभूति भयो आज।

–‘हे, ईश्वर ! मेरो जीवन रक्षा गरेकोमा तँलाई लाखौँ धन्यवाद।’– बारम्बार सन्तेले धन्यवाद दियो। घर पुगेपछि उसलाई भेट्न मानिसहरू आए; घरमा स्वागत गरियो। भेट्न आउनेले आआफ्नो प्रतिक्रिया दिए :

–‘अहो, धन्न बाँच्यो हाम्रो बाबु !’ –कसैले यस्तो प्रतिक्रिया दिए।

–‘अब के गर्ला यस्तो अपाङ्ग शरीरले ? कसरी जीवन बिताउला सन्तेले ?’– कसैका प्रतिक्रिया भने यस्ता पनि थिए। तर सन्तेले आफैँलाई सह्माल्यो र जीवन जिउन सकिने आधार खोज्न सुरू गर्यो। केही मान्छे सन्तेसंगै खेलेका साथी पनि थिए, सन्तेलाई नजिकबाट चिनेका। उनीहरूले बुझेका थिए – ‘सन्ते यसै हिम्मत हार्ने मध्येको मान्छे होइन र उसलाई हामीले पनि साथ दिनुपर्छ।’ यस्तो सोचेर उनीहरूले सन्तेको लागि केही कापी र कलम; साथमा संसार जित्नेहरूको कथा भरिएको जीवनी पुस्तक समेत लगिदिए। अब सन्तेको दिनभरिका असल साथी साथमै छन्। यिनै पुस्तक, कापी र कलमसँग सन्तेले मीठो मित्रता गाँसेको छ। अब उसलाई कुनै घात प्रतिघाताले छुँदैन । जीवन जिउने कलामा तिमी हामीभन्दा पारखी भैसकेको छ। हामीले नै बरू उससँग सिक्नुपर्ने बेला आएको छ। सन्ते आफैँले हो, परिवारको समेत साथ र सहयोग जुटाउन सक्ने वातावरण बनाएको ।

सोच सकारात्मक भएमा र मनोबल उच्च भएमा ठूलाभन्दा ठूला समस्या पनि सजिलै पार लाग्दा रहेछन्।

पशु अधिकार

गाउँ नजिकैको मेलामा च्याङ्ग्रा, खसीको व्यापक मोलमोलाइ हुँदैछ। गाउँका केटाकेटी नयाँ कपडा किन्ने, मीठोमीठो खाने, पीङ खेल्ने कुराले यसै रमाएका छन्। रतनपाण्डे गाउँको छेउमा बस्ने बिर्खेको छोरो किस्ने पनि दशैं आएकोमा मक्ख छ। आमाले कहिले चिची पकाउने भनेर दसबाह्र पटक सोध्यो उसले तर आमाले जवाफ़ दिइनन् किनकि चिची खानको लागि सधैं भनेको जस्तो आम्दानी छैन उनीहरूको घरको।

किस्नेलाई लिएर बिर्खे च्याङ्ग्रा ढाल्ने भनिएको स्थानतिर लागे। उनीहरू त्यहाँ पुग्दा जुन दृश्य देखियो; त्यसले किस्नेको मनमा असैह्य पीडा भयो। च्याङ्ग्राको घाँटीमा लामो मोटो डोरी बाँधेर दुईतिर कस्सिएको थियो। च्याङ्ग्राका दुवै खुट्टा पनि चल्न नसक्ने गरी कस्सिएका थिए र च्याङ्ग्राको घाँटीमा निशाना लगाएर एक ठूलो खुकुरी जस्तै धारिलो वस्तु दाउरा काट्न लागेको जस्तै ताकिएको थियो। सबै गलल्ल हाँसेका थिए; रमाएका थिए।

तर किस्नेलाई भने यो दृश्यले निकै पीडा दियो र अचानक चिच्यायो –‘नाई ! नाई !!’

किस्नेको चिच्याहट सुनेर केही मान्छेले –‘यो बच्चालाई किन यता ल्याएको ? धपाउनुस् ।’– भन्दै हकारे।

तर किस्ने दौडिँदै च्याङ्ग्राको नजिक पुग्यो । सायद च्याङ्ग्राको रक्षा गर्ने उसको मनसाय थियो। च्याङ्ग्रालाई मार हान्दै गरेका सबै मानिस किस्नेको क्रन्दन सुनेर विह्वल बने; चिन्तित बने। आफ्नो गाउँघरका बालबालिका रुँदा यति मन दुख्दो रहेछ। यो पशुको जीवन यसरी सार्वजनिक ठाउँमा यतिका मान्छेका भीडमा राखेर मारिँदा उसको मन रोएन होला ? के उसले कुनै मानिस या ऊभन्दा बलिया पशुको पकडमा परेर मर्नेका लागि मात्र जीवन प्राप्त गरेको होला ? किस्नेले बुझ्न नसकेका गम्भीर प्रश्न तमाम छन्।

ऊ प्रश्न गर्छ – ‘बाबा, यो च्याङ्ग्राले के गरेर मार्न लागेको ? ’

बिर्खेलाई झट्ट उत्तर फ़ुरेन । एकछिन पछि भन्यो –‘तैँले खाने चिची यस्तै च्याङ्ग्रा काटेर बनाएको हो तेरी आमाले ।’

यो उत्तरले किस्ने अझ त्रसित भयो र तुरुन्त निर्णय सुनायो–‘ बाबा, म चिची खान्न अबदेखि ।आमालाई भन्नु है बाबा; म अब चिची खान्न; तपाईंहरू पनि नखानुहोस् । ’

किस्नेले मनमनै कुरा गर्न थाल्यो -‘बिचरा कति रोएको छ त्यो च्याङ्ग्रा ? मलाई पनि कसैले यसै गरी मारेर खायो भने आमाबाबा कति रुनु हुन्छ ? मलाई बचाउन उहाँहरू बिमारी हुँदा पनि अस्पताल लानुहुन्छ । बिचरा यो च्याङ्ग्रा,स्कुल पढ्न पनि जान्न; यसलाई कपडा लगाउन पनि पर्दैन; खाना पनि चौरमा उम्रेको झार खाएर बाँच्छ अनि यसलाई बाँच्न किन नदिने ? यसको पनि त अधिकार होला नि बाँच्ने !’ किस्ने नबुझेर उत्तर खोजिरहेछ ।