कवि सुरेन्द्र अस्तफलको ‘तेल भिसा’ लोकार्पण


हरेकपल October 9, 2021

काठमाडौँ । नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा एक समारोहका बीच कवि सुरेन्द्र अस्तफलको कविता सङ्ग्रह ‘तेल भिसा’को लोकार्पण भयो । कृति लोकार्पण प्रमुख अतिथि कवि श्रवण मुकारुङ, समालोचक महेश पौड्याल, समालोचक ज्ञानु अधिकारी र कवि सुरेन्द्र अस्तफलले संयुक्त रूपमा गरेका थिए ।

प्रमुख अतिथि श्रवण मुकारुङले अस्तफलको कविता यात्रा लामो रहेको र यो निकै ठूलो साधना भएको कुरा बताए । उनले अस्तफलका प्रेम कविताको बारेमा बोल्ने क्रममा भने, ‘हामी उहिलेका कविले लेखेका प्रेम कविता पनि उत्तिकै इन्जोय गरेर पढ्छौँ; जत्तिको अहिलेका कविका प्रेम कवितामा इन्जोय गर्छौं । यसरी नै अस्तफलका प्रेम कविता भोलि पनि उत्तिकै इन्जोय गरेर पढिने छन् ।’

समालोचक महेश पौड्यालले अस्तफलका कवितालाई मानवीय सम्बन्धहरूमाथि लेखिएका कविता, पलायन र पुस्तान्तरमाथि लेखिएका कविता, वृद्धावस्था उन्मुख जीवनका अनुभवहरूमाथि लेखिएका कविता र राजनीतिक विचलनमाथि लेखिएका कविता गरी चार भागका विभाजन गरेर विश्लेषण गर्न सकिने बताउँदै भने, ‘कवि अस्तफल समसामयिक समाज र राजनीतिको आलोचकका रूपमा आफूलाई उभ्याउने कवि रूपमा देखापरेका छन् ।’

समालोचक ज्ञानु अधिकारीले तेल भिसा अहिले नेपाली परम्परा बन्न थालेको सन्दर्भमा संस्कृति परिस्थितिले बनाउँछ भन्ने कुराको साक्षी बन्न ‘तेल भिसा’ कृृति सफल भएको बताइन् । उनको विश्लेषणमा पछिल्लो ५ वर्षमा नेपालीहरूले नेपालभूमिमा बसेर जेजे कुरा भोग्यौँ; अनुभूति गर्यौँ; त्यो यस कृतिमा छ । अधिकारीले अस्तफलका प्रेम कवितामाथि टिप्पणी गर्ने क्रममा भनिन्, ‘अबको समाजमा केटी मान्छे मात्रै कुमारी भएर बस्दैनन् । बस्नुपर्छ भने पुरुषले पनि बस्नुपर्छ । बस्दैनन् भने कोही पनि बस्दैनन् ।’

यसको जबाफमा सुरेन्द्र अस्तफलले जैविक आकर्षणको विरुद्धमा हामी कहिल्यै पनि जान सक्तैनौँ यति हो, त्यो शालीन हुनुपर्छ भन्ने धारणा राखे । अस्तफलले आफ्नो लेखन प्रक्रियकाबारे जानकारी दिँदै भने, ‘कविता लेख्दा म न महिला हेर्छु, न पुरुष हेर्छु, न अरू केही । मात्र आफ्नो मन र मस्तिष्क हेर्छु । म विचार र कलाको समन्वय नै कविता हो, भन्ठान्छु ।’

प्रमुख अथितिबाट लोकार्पित कृतिबाट एउटा कविता वाचन गराएर समु्द्घाटन गरिएको लोकार्पण कार्यक्रममा कसैलाई पनि सभापति बनाइएको थिएन । सभापतिविहीन यस कार्यक्रमको सञ्चालन प्रभा बरालले गरेकी थिइन् भने स्वागत भाषण शिखा बुक्सका पुष्पराज पौडेलले गरेका थिए । कार्यक्रममा लोकार्पित कृतिबाट कवि मञ्जिला अनिल र निरज दाहालले एकेकवटा कविता वाचन गरे।

‘तेल भिसा’ सुरेन्द्र अस्तफलको पाँचौँ कृति हो र यस कृतिलाई शिखा बुक्सले प्रकाशन गरेको छ ।