‘नगेन्द्रराज शर्मा अभिनन्दन ग्रन्थ’ सार्वजनिक


हरेकपल October 11, 2021

काठमाडौं । ‘नगेन्द्रराज शर्मा अभिनन्दन ग्रन्थ’को शनिबार राजधानीमा एक समारोहबीच लोकार्पण गरी अभिनन्दित व्यक्तित्व साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई समर्पण गरियो । सम्पादन मण्डलका तर्फबाट प्रधान सम्पादक पवन आलोक र कार्यकारी सम्पादक विधान आचार्यबाट शर्मालाई ग्रन्थ समर्पण गरिएको थियो ।

अभिनन्दन ग्रन्थ ग्रहण गर्दै शर्माले भन्नुभयो –‘म न कुनै पार्टीमा लागेको मान्छे, न कुनै गुटको । प्रायः अभिनन्दन कार्यक्रम सरकार, पार्टी या गुटको चासोमा हुन्छन् । तर सरकार, पार्टी र गुटले गरेको सम्मान होइन हो । यसलाई म, एक सामान्य मान्छेको असामान्य सम्मान ठान्दछु । त्यस अर्थमा म अत्यन्त खुसी छु ।’

समारोहका सभापति, अभिनन्दन मूल समितिका अध्यक्ष, वरिष्ठ साहित्यकार पवन आलोकले नगेन्द्रराज शर्माजस्तो शिखर व्यक्तित्वको सम्मान अभिनन्दन गर्न पाउनु सबैका लागि खुसी र गर्वको कुरा भएको बताउनुभयो ।

अभिनन्दन ग्रन्थको प्रकाशनबारे अभिनन्दन ग्रन्थका कार्यकारी सम्पादक नेपाल स्रष्टा समाजका अध्यक्ष तथा अभिनन्दन मूल कार्यसमिति सदस्य विधान आचार्यले विस्तृतरूपमा प्रकाश पार्नुभएको थियो । उहाँले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार र पाठकले खोजेको विषय सजिलै भेटिने हिसाबले ग्रन्थको सम्पादन गरिएको बताउँदै भन्नुभयो –‘यो किताब लगेपछि एकदुई रात तपाईँहरू सुत्नुहुन्न । त्यति रुचिकर छ ।’

वरिष्ठ साहित्यकार तथा ‘रचना’ साहित्यिक द्वैमासिकका प्रधान–सम्पादक रोचक घिमिरेले वर्तमानमा एउटा साहित्यिक पत्रकारको बारेमा यसरी भव्यतापूर्वक अभिनन्दन ग्रन्थ प्रकाशित गरिएको यो पहिलो भएको बताउँदै उहाँले भन्नुभयो – ‘यो कार्य स्तुत्य रहेको छ र अग्रजले गरेको योगदानलाई अनुज पुस्ताले कृतज्ञता व्यक्त गर्ने यस्तो कामले निरन्तरता पाओस् ।’

वरिष्ठ पत्रकार विनोद दीक्षितले शर्मा साहित्यको सारथी भएको बताउनुभयो । शर्माको मिलनसार स्वभावको चर्चा गर्दै उहाँले भन्नुभयो –’उहाँ नवोदितलाई पनि उत्तिकै हौसला दिने काम गर्नुहुन्थ्यो । उनीहरूसँग घुलमिल हुन सक्नुहुन्थ्यो । बूढाहरूको पनि उहाँ उत्तिकै प्रिय हुनुहुन्थ्यो । बूढा केदारमान व्यथितदेखि मदनमणि दीक्षितसम्मका उत्तिकै प्रिय; मसँग पनि उत्तिकै र मभन्दा पछिका पुस्तासँग पनि उत्तिकै ।’

वरिष्ठ समालोचक ज्ञानु पाण्डेले ग्रन्थको ऐतिहासिक मूल्य रहेको बताउनुभयो र यसबाट उहाँका जीवनका विभिन्न पक्ष जान्न सकिन्छ; दाइको व्यक्तिगत जीवनबाट जीवनवादी दर्शन र जीवन बाँच्ने शैली सिक्न सकिन्छ ।’ पाण्डेले भन्नुभयो ।

वरिष्ठ वरिष्ठ साहित्यिक पत्रकार, साहित्यकार तथा लघुकथा समाजका श्रीओम श्रेष्ठ ‘रोदन’ले साहित्यिक पत्रकारिताका लागि नगेन्द्रराज शर्माजस्ता अग्रजबाट धेरै कुरा सिक्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो – ‘उहाँबाट सिकेर नै हामी यहाँसम्म आइपुग्यौँ । उहाँको अनुभवबाट हामीले धेरै कुरा जान्न पायौँ । यो अभिनन्दन ग्रन्थ उहाँप्रतिको सच्चा सम्मान हो ।’

कुल नौ खण्डमा विभाजित अभिनन्दन ग्रन्थ करिब साढे चार सय पृष्ठको छ । यसमा आठ पृष्ठको स्रष्टा अनुक्रमणिका (इन्डेक्सिङ) समेत समाविष्ट छ । सम्पादक मण्डलका सदस्य रोशन थापा ‘नीरव’का अनुसार ‘प्राज्ञिक तथा अनुसन्धेय दृष्टिले ग्रन्थलाई ‘विशेष कृति’ बनाउन सक्दो प्रयास गरिएको छ ।’ ग्रन्थमा करिब एकसय स्रष्टाका रचना समेटिएका छन् ।

‘गत साल २०७७ चैत २२ गते नगेन्द्रराज शर्माको ८४औँ जन्मदिवसका अवसरमा काठमाडौँमा भव्य राष्ट्रिय अभिनन्दन गरिएको थियो । त्यसमा देशका विभिन्न स्थानबाट करिब चार दर्जन साहित्यिक संस्था र करिब ५०० व्यक्तिको स्वस्फूर्त सहभागिता रहेको थियो । उतिबेलै अभिनन्दन ग्रन्थ प्रकाशन गर्ने तयारी रहेकोमा कोरोना कहरका कारण ग्रन्थ प्रकाशन गर्न ढिलाइ भएको हो’; मूल समितिका सदस्य चेतनाथ कणेल ‘हरित’ले बताउनुभयो ।

कार्यक्रमको सञ्चालन साहित्यकार रञ्जना निरौलाले गर्नुभएको थियो ।