बैतडीमा दुई हजार पशुको बलि चढाइयो


हरेकपल October 14, 2021


बैतडी
सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी पशूबली हुने बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाडौंमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज भव्य जात्रा सम्पन्न भएको छ । फूलपातीदेखि सुरु भएको जात्रामा महाअष्टमीमा बलिसहित पुजाआजा गरि सम्पन्न भएको हो । यसका साथै मेलौली नगरपालिकामा रहेको मेलौली भगवती मन्दिरमा पनि बलिसहित जात्रा सम्पन्न भएको छ ।
दुबै स्थानमा रहेका भगवतीका मन्दिरमा २ हजारबढी रांगा र बोकाको बलि दिइएको प्रहरीले जनाएको छ । निङ्गलाशैनी मन्दिरमा ३ सय २८ रांगाको बली चढाईएको प्रहरी चौकी देहिमाडौंका प्रमुख केशव सिंह भण्डारीले जानकारी दिए। घटस्थापनादेखि महाअष्टमीका दिनसम्म १ हजार ५ सय बोकाको बलि चढाइएको छ ।
यस्तै मेलौली भगवती मन्दिरमा पनि महाअष्टमीमा बलिसहित जात्रा सम्पन्न भएको छ । मेलौलीमा ९५ रांगा र १ सय ४४ बोकाको बलि दिइएको जनाइएको छ ।
जात्रामा सुदूरपश्चिम प्रदेशका साथै भारतीय दर्शनार्थी समेत आएका थिए ।
मेलामा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि १ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बलिका क्रममा रांगाहरुलाई मन्दिर परिसरको मैदानमा दौडाउने गर्दछन् । करिब १० हजार बढी दर्शनार्थी मेलामा आएका अनुमान गरिएको छ । स्वास्थ्यका मापदण्ड पालना गर्न भनिएपछि उल्लंघन गरिएको पाइएको थियो । मास्क समेत अधिकांसले नलागाएका देखिन्थ्ने ।
यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था कडा पारिनुका साथै मदिरा बिक्रीवितरण, सेवन र जुवातास खेल्न पूर्ण रुपमा रोक लगाएको छ ।
यस्तै दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहराका अनुसार घटस्थापनादेखि नै देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको थियो ।