दशैंको टिका आज पनि लगाईँदै


हरेकपल October 16, 2021


विजयाशमी अर्थात् दशैंको मुख्य टिका लगाउने दिन शुक्रबार सम्पन्न भइसकेको छ । तर दोस्रो दिन आज पनि मान्यजनबाट दशैंको टीका तथा जमरा लगाएर आशीर्वाद लिने क्रम जारी छ ।

कतिपय समुदायमा दशैँको टीका र जमरा चार–पाँच दिनसम्मै लगाउने गरिन्छ ।

मूल दिन अर्थात विजया दशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज आफन्तजनसँग भेटघाट गर्दै टीका थापेर आर्शीवाद लिने गर्छन् । यसपालि कोरोना भाइरसको जोखिम पनि कायमै रहेकाले विगतका वर्षहरुको जस्तो चहलपहल खासै छैन । तर पनि अघिल्लो सालभन्दा धुमधामले नै दशैं मनाइरहेका छन् ।

दशैंको मूल दिनमा भेट्न नभ्याएकाहरु आजदेखि आफन्तसँग टीका थाप्न जाने गर्छन् । दशैंको अर्को पाटो भनेको लामो समयपछिको आफन्तजन, नातागोता भेट हुने, सद्भाव साट्ने पनि हो । यसैको निरन्तरतास्वरुप दशैँ टीक अझै केही दिनसम्म जारी रहन्छ ।

मूलतः घटस्थापनाका दिन दशैं घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरेर उमारिएको जमरा तथा प्रसाद पूर्णिमासम्म नै लगाउने गरिन्छ ।

आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका तथा जमरा ग्रहण गर्दा सुख, शान्ति, समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ । दशैंलाई असतमाथि सतको विजयको प्रतीकका रुपमा समेत मनाउने गरिन्छ ।