साफ च्याम्पियनसिपकाे फाइनलमा नेपाल पराजित


हरेकपल October 17, 2021

पहिलो पटकमै साफ च्याम्पियनसिपको उपाधि उठाउने नेपालको सपना अधुरै रह्याे ।

शनिबार राति पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको शुरुमै दुई गोलले पछि परेपछि नेपाल खेलमा फर्कन असफल रह्यो । अन्तिम समयमा पनि उल्टै एक गोल व्यहोरेपछि नेपाली फाइनलमा भारतसँग ३–० ले पराजित हुँदै उपविजेतामा चित्त बुझायो ।

पहिलो हाफको खेलमा संघर्षपूर्ण खेल पस्केर भारतलाई बराबरीमा रोकेको नेपालले दोस्रो हाफको सुरुवातमा नै सम्हालिन नसक्दा एक मिनेटको फरकमा दुई गोल खान पुगेको थियो ।
भारतका लागि सुनिल क्षेत्रीले ४९ औं मिनेटमा पहिलो गोल गरेका थिए भने ५० औं मिनेटमा सुरेश सिंहले अर्को गोल थपेका थिए । यस्तै खेलको ८९ औं मिनेटमा साहल अब्दुलको गोलको कारण नेपालले फाइनल खेल ३–० ले गुमाएको थियो ।

साफ च्याम्पियनसिपको २८ बर्षको इतिहासमा पहिलो पटक फाइनलमा उत्रिएको नेपाली टोलीको प्रदर्शन विर्सनलायक भने रहेन । निकै संघर्षपूर्ण खेल पस्केपनि गोल गर्न नसक्ने परम्परागत कमजोरी यसपटक पनि दोहोरियो । त्यसमाथि खेलाडीहरुले बढी मिसपास खेल्नु नेपालका लागि दुर्भाग्य नै बनेको थियो ।

नेपालले खेलको आठौ र ७७ मिनेटका दुई प्रयास गोल पोष्टमा ठोक्किनु दुर्भाग्यको अर्को पाटो बनेको थियो ।

नेपाली टोलीको कमजोरी फाइदा उठाउन नचुकेको भारतले प्राय भएको गम्भीर आक्रमणलाई सफल बनाएको थियो ।
माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा सम्पन्न फाइनलमा खेलमा नेपाली प्रशिक्षक अब्दुल्ला अल्मुताइरीलाई प्रतिबन्ध लगाइदा उनले मैदानमा आउन पाएका थिएनन् ।

उनीमाथि लगाइएको प्रतिबन्धको बारेमा सर्वत्र आलोचना भएको थियो भने साफ फुटबल फेडरेशनले पनि उनीमाथिको प्रतिबन्धको चित्त बुझ्दो जवाफ दिन सकेको छैन ।

यो सहित भारतले भने आठौं पटक साफ च्याम्पियनसिपको उपाधि उचाल्न सफल भएको छ ।