किन हुन्छ हृदयघात ? लक्षण र रोकथाम के हो ?



मुटुरोग रोकथाम र नियन्त्रण गर्नसकिने भए पनि यो विश्वव्यापी रूपमा पुरुष तथा महिला दुवैको मृत्युको प्रमुख कारक हो । हरेक देशको स्वास्थ्य सेवासुविधा, जनताको जीवनशैली र देशको आर्थिकस्तर फरक फरक हुने हुँदा मृत्युको कारक पनि फरक फरक हुने गर्छ ।

संसारभरि नै मुटुरोग सबैभन्दा ठूलो ज्यानमारा रोग बनेको छ । मुटुरोगपछि मस्तिष्क घात, श्वास-प्रश्वासको संक्रमण, झाडापखाला, एचआईभी एड्स, सवारीसाधन दुर्घटना र समयअगावै जन्मिनु अन्य मृत्युका कारण हुन् । संसारको ६ दशमलव ४ विलियन जनसंख्यामध्ये हरेक वर्ष करिब ५६ मिलियन जनसंख्या मर्ने गरेका छन् ।

हृदयाघात एक जटिल किसिमको आकस्मिक अवस्था हो, जसमा मुटुका रक्तनली अर्थात् धमनीहरू र मुट्मै सामान्यत रगत जम्ने कारण रक्त सञ्चार बन्द भई सृजना हुने गर्दछ । मुटुमा आवश्यक रगतको आपूर्ति बन्द हुँदा मुटुका रक्त कोषिकाहरूको क्षति हुने वा तिनीहरू मर्ने कारण मानिसको अचानक मृत्यु हुने जोखिम आइपर्न सक्छ । हृदयाघातका लक्षणमा छाती दुख्ने, छाती गहु्रँगो हुने र दुखाई सर्दै छातीबाट सर्दै गएर बंगारा, गर्धन, पाखुरा र पिठ्ँयूतिर जाने, स्वास्वा हुने, कमजोरी अथवा रिंगटा लागेको महसुस हुने र अत्यधिक मात्रामा बेचैनी हुने आदि पर्दछन् ।

वस्तवमा यदि कसैलाई दोस्रो पटक हृदयाघात भएको छ भने पहिलो हृदयाघातका जस्तै लक्षण देखा नपर्न सक्छन् । केही मानिसमा कुनै पनि लक्षण नै नदेखिन पनि सक्छ । यसलाई सुषुप्त हृदयाघात भनिन्छ । हृदयाघातको उपचार यसको प्रकृति र गम्भीरतामा निर्भर रहन्छ । हृदयाघातका प्रचलित उपचारमा रगत पातलो पार्ने अर्थात् जमेको रगतलाई पगाल्ने औषधिको प्रयोग (जसलाई थ्रम्बोलाइसिस भनिन्छ), कारडियाक इन्टरभेन्सन् अर्थात् कोरोनरी एन्जियोप्लास्टी र मुटुको शल्यक्रिया जस्ता प्रक्रिया पर्छन् ।

एन्जियोग्राफीपछि मुटुको ओपन हार्ट सर्जरी जस्ता प्रक्रिया पनि अपनाइन्छन् । यी प्रक्रियामध्ये मुटुका धमनीमा रोकावटका कारण रक्त प्रवाह बन्द भई हुने हृदयाघातको उपचारमा सबैभन्दा प्रचलित प्रक्रिया एन्जियोप्लास्टी नै हो । उपचारको मुख्य उद्देश्य भन्नु नै बिरामीलाई अकस्मात मृत्युबाट बचाउनु र भविष्यमा आइपर्न सक्ने मुटुरोगसम्बन्धी कुनै पनि जोखिमबाट बचाउनु हो । यो प्रक्रिया अपनाउँदा तिघ्राको कापमा वा दाहिने अथवा देब्रे हातमा एउटा सानो प्वाल पारिन्छ । बिरामीको पीडा वा दुखाई कम गर्न प्वाल पारिने स्थानमा लठ्याउने औषधि दिइन्छ ।

क्याथेटर भनिने एउटा सानो ट्युब बिरामीको मुटुको धमनीसम्म पठाइन्छ । मुटुको एक्स-रे लिँदै त्यो क्याथेटरलाई बन्द भएको वा साँघुरिएको धमनीसम्म पुर्‍याइन्छ । बन्द भएको धमनीको भाग पत्ता लगाइसकेपछि क्याथेटरको टुप्पोमा रहेको बेलुनलाई फुलाइन्छ र बन्द भएको वा साँघुरिएको धमनीलाई खोलिन्छ । यसरी बन्द भएको भाग खोलेपछि मुटुमा रक्तप्रवाह पुनः स्थापित गराइन्छ । धमनीको बन्द भएको वा साँघुरिएको भाग पुनः बन्द नहोस् भन्न त्यहाँ एउटा स्टेन्ट जडान अर्थात् प्रत्यारोपण गरिन्छ ।

स्टेन्ट हालसम्म जम्मा तीन किसिमका छन् । ती हुन्- औषधिरहित धातुको स्टेन्ट- जुन सबैभन्दा सस्तो हुन्छ) । अर्को स्टेन्टमा औषधि लेपन गरिएको स्टेन्ट जुन केही महँगो हुन्छ र तेस्रो किसिमको स्टेन्टमा अत्याधुनिक मांसपेशीमै विलय हुने स्टेन्ट पर्दछन् । तेस्रो किसिमको स्टेन्टले जडान गरिएको धमनीमा औषधिका माध्यमबाट यथेष्ट रक्तप्रवाह गराइसकेपछि र धमनीको चोट ठीक भइसकेपछि धमनीको त्यही भागमा विलय भएर जान्छ ।

अनुसन्धानकर्ताहरूले के विश्वास गरेका छन् भने यस्तो किसिमको स्टेन्ट धमनीमा जडान गरिसकेपछि त्यस स्थानको रोकावट वा अवरोध खोल्न धातुको स्टेन्ट राखिरहनु पर्दैन । रक्तनलीहरूमा धातुको स्टेन्ट जडान गरेर छोड्नुपर्ने अवस्थाबाट यस खाले स्टेन्टले बिरामीलाई राहत दिन सक्छ । रक्तनलीहरू आफ्नो पुरानै अवस्थामा फर्किने सम्भावना रहन्छ र भविष्यमा आइपर्न सक्ने त्यस खाले प्रक्रियाबाट समेत बिरामीलाई जोगाउँदछ । स्टेन्ट जडान गरिसकेपछि क्याथेटलाई झिकिन्छ र सामान्यत यो प्रक्रिया पूरा हुन २० देखि ४५ मिनेटको समय लाग्दछ । तर कहिलेकाहीँ प्राविधिक रूपले जटिल अवस्थाको सृजना भई धेरै समय लाग्ने गर्दछ ।

९६ प्रतिशतभन्दा बढी एन्जियोप्लास्टी प्रक्रिया तत्कालै सफल हुन्छन् । रोकावट भएको धमनीबाट रक्त प्रवाह सुरु भएपछि बिरामीले तत्कालै राहत पाउने, सामान्य अवस्थामा फर्कने र निजीको छाती दुखाई (एन्जाइना) कम हुने हुन्छ । तर जटिल प्रकृतिका धमनीका रोग भएका बिरामी भने पूर्णतया ठीक नहुन पनि सक्छन् । तर पनि तिनको रोगको लक्षण भने कम हुँदै जाने हुन्छ र तिनहरूलाई सक्रिय र सहज जीवन जीउन सजिलो पर्छ । मुटुको शल्यक्रिया गरेको अवस्थामा भन्दा एन्जियोप्लास्टी गर्दाको अवस्थामा बिरामी चाँडै निको हुन्छन् । धेरैजसो बिरामी एन्जियोप्लास्टी गरेको दिन घर फर्कन सक्छन् भने केही बिरामी एन्जियोप्लास्टी गरेको दोस्रो बिहान फर्कन्छन् ।

हाम्रो जस्तो गरिबीको रेखामुनि रहेको देशमा जहाँ मेडिकल इन्स्युरेन्स लागू गरेको छैन, यहाँका जनताका लागि एन्जियोप्लास्टी प्रक्रिया निकै नै महँगो सावित हुन्छ । त्यो नकारात्मक पक्ष हो । अर्कोतर्फ जुन बिरामीमा धेरै धमनी साँघुरिएका वा बन्द भएका हुन्छन् त्यसखाले समस्यामा पनि एन्जियोप्लास्टी प्रक्रिया फलदायी नहुन सक्छ । त्यसरी नै खोलिएको धमनी एन्जियाेप्लास्टीपछि पनि पुनः बन्द हुने वा साँघुरिने सम्भावना रहन्छ । त्यसपछि यहाँलाई धमनी पुनः साँघुरिएको भन्न सकिन्छ । यदि धमनी पुनः साँघुरिएको वा बन्द भएमा बिरामीलाई पुनः छाती दुख्ने हुन्छ र फेरि हृदयाघात हुन पनि सक्छ । पुनः बन्द भएको धमनीलाई दोस्रो एन्जियोप्लास्टी वा कहिलेकाहीँ मुटुको बाइपास शल्यक्रिया वा औषधि उपचारबाट कम गर्न सक्छ ।

यदि तपाईं आफै बिरामी हुनुहुन्छ भने एन्जियोप्लास्टी गरिसकेपछि पनि आफ्नो जीवनशैलीमा सुधार ल्याएर आहार–व्यवहारमा नियन्त्रण गरेर वा शारीरिक क्रियाकलाप बढाएर आफूलाई स्वस्थ र स्फूर्त राख्न वाञ्छनीय हुन्छ । एन्जियोप्लास्टी गरिसकेपछि पनि तपाईले नियमित रूपमा चिकित्सकको सम्पर्कमा रहने र सल्लाहअनुसार कोपिडग्रेल र एस्पिरिन जस्ता औषधि चिकित्सकको अनुमतिबिना छाड्नु हुँदैन । त्यसका साथसाथै तपाईंले धू्रमपान त्याग्ने, चिनीको रोग भए नियन्त्रणमा राख्ने, रक्तचाप भए नियमित परीक्षण गर्ने र आफ्नो शारीरिक तौल बढ्न नदिने गर्नुपर्छ ।

साथै, बासोयुक्त खाना र कोलेस्टेरोल बढ्ने खाना पूर्णतया बन्द गर्नुपर्छ । तपाईं मांशहारी हुनुहुन्छ भने रातो मासु नखाने, चिल्लोयुक्त दुग्ध पदार्थ (चिज, घ्यू) नखाने र बजारमा पाइने तयारी खाना बन्द गर्नुपर्ने हुन्छ । त्यसको बदलामा दैनिक रूपमा ताजा साजसब्जी र फलफूलमा वृद्धि गर्ने र यदि तपाईं मद्यपान गर्नुहुन्छ भने हार्ड ड्रिंकको सट्टा निश्चित मात्रामा रेड वाइन जस्ता पेय पदार्थ लिने बानी बसाल्नुपर्छ ।

भविष्यमा आफूलाई तन्दुरुस्त राख्न आजैबाट तपाईंले नियमित रूपमा व्यायाम गर्ने बानी बसाल्दै व्यायामले आफूलाई पु¥याउने फाइदाबारे सचेत रहनुपर्छ । शारीरिक व्यायामले तपाईको मुटुलाई रक्षा गर्नुसाथै शरीरको शक्ति सन्तुलन र मानसिक शान्तिका लागि सकारात्मक भूमिका खेल्छ । दैनिक हिंड्नु व्यायामको एक सजिलो उपाय हो । यदि तपाई ठूल्ठूला भवनमा माथि चढ्दा लिफ्टको प्रयोग गर्नुहुन्छ भने त्यसलाई छाडेर भ¥याङबाटै माथि चढ्ने, कतै जाँदा बस अथवा कारमा सफर गर्नुभन्दा हिँडेर जाने बानी गर्नु उपयुक्त हुन्छ ।

हृदयाघात भएका बेला त्यसका लक्षण करिब ३० मिनेट वा बढी समयसम्मका लागि रहन सक्छ । जेसुकै भए पनि यदि हृदयाघात भएको शंका भएमा तपाईंले तत्कालै हृदयरोग उपचार केन्द्रमा सम्पर्क गर्नुपर्छ । साथै, त्यस अवस्थामा एक ट्याब्लेट एस्पिरिन (३०० मि. ग्रा.) बिरामीलाई तत्कालै खुवाइदिनुपर्छ । तत्कालै गरिएको उपचार बिरामीको मुटुमा धेरै हानि हुनुबाट जोगाउने एक उपयुक्त तरिका हुनसक्छ ।

(मुटुरोग विशेषज्ञ सिलवाल नर्भिक अस्पतालमा कार्यरत छन्)