नियति



–अनुपमा रेग्मी–

पत्रैपत्रको रहस्यमा
राखेको थियो उसले सुगन्ध
पत्रैपत्रको रहस्यमा
राखेको थियो उसले रस ।

सुगन्ध रहस्य थियो
दुर्लभ थिएन,
पत्रमा थियो
रस रहस्य थियो
सुलभ थिएन,
गर्भमा थियो ।

ऊ चाहन्थ्योे
मौरी आओस् र सुस्तरी साउती मारोस्, सुमसुम्याओस्
पवन आओस् र लुकामारी खेलोस्
ऊ अज्ञात थिएन
आफ्नो पत्रको सुगन्धमा
लठ्ठिन जो पनि आउन सक्छ
कदापि मन थिएन उसलाई
निमोठिएर मन्दिरमा जान
निचोरिएर उराठ बन्न ।

रहस्यमयी कोमलता, फक्रेको सुन्दरता र भरिएको रसका लागि
आयो पुतली प्रथम पटक
जसलाई सुगन्धको मतलब भएन,
जसलाई सुस्पर्शको ख्याल रहेन,
आफूखुसी पङ्ख फिँजाएर
संसार चहार्न अभ्यस्त
आफ्नो रङ्गीन संसारमा मस्त
उसलाई पत्रको रङको के वास्ता !
उसलाई पत्रको सुगन्धको के वास्ता !

धीत मरुन्जेल रस चुसेर
मग्नमस्त हुन्छ पुतली
अनि लुत्रुक्क बन्छ ऊ
रातको शीतस्पर्शको शीतलताले
बल्लबल्ल ब्युँतन्छ र फक्रन्छ ऊ
ऊ सुरुमा सङ्गीत सुन्न चाहन्थ्यो
मायालु स्पर्श चाहन्थ्यो

चाहन्थ्यो पवनका जस्ता मायालु झोक्का
बचेखुचेको सौन्दर्यमा ।

भमराले लाप्पा खेल्छ,
ऊ रस चुस्दैन, जीवन लिन्छ
कठै !
उसको पत्रको सुगन्ध
रहस्यमय रस
मौरीको भुनभुन र सुस्त स्पर्शको चाहना
सब तिरोहित हुन्छन् र माटोमा मिल्छन् ।