मरुभूमिको घामसँग



– ज्योति जङ्गल –

यो तातोको के बयान गरूँ
घामजस्तो
कि आगोजस्तो
आफ्नै मुटु छ ।

मरुभूमिका उँटहरूसँग
चरेको मेरो बैँस
पग्लिएर बालुवामा मिसिइसकेको छ ।

भर्खर आइपुगेको छ हातमा
तिम्रो हृदय बोकेर चिट्ठी
आफ्नै मन बोल्न नसक्ने
तिम्रा गुनासाहरूको कोशेली
आगोकै उपस्थिति जस्तो
उघार्न तर्सिरहेछु।

नसोध, कुन दिन आइपुग्छु होला !
उमेर बेचेको नितान्त अशक्त म
आलस्य मात्र बाँकी राखेर
खै कुन दिन आइपुग्छु होला ?

म हिँड्दा मीठा थिए तोते बोलीहरू,
ती हुर्किए होलान्
किशोरे अङ्गहरूमा,
तिनका आवश्यक्ताका अधिकारहरू
कति धारिला हुँदैछन् ?

तिनैले काटियौ होला,
प्रतिविम्माब मात्रै रूप राखेर
पीडामै साटियौ होला ।

यो शून्यताको के बयान गरूँ ?
यो एकान्त,
यो एकलास,
मेरो बोली आफ्नै घाँटीमा कैद छ ।
मृगतृष्णामा हराएका मेरा गीतका लहरहरू
उडेर बाफसँग बिलाइसकेका छन् ।

आफ्नै कसुरको सजाय भोगिरहेको छु कि
सबैलाई सजाय बाँडिरहेको छु ?
केवल प्रश्नहरू हुनेछन्
मसँग फर्केका
मेरो शरीर पनि मृत भइसक्ला
मेरो जीर्णता खुद मलाई प्रश्न गर्छ ।

तिम्रो प्रश्नको बदला
फेरि प्रश्न गर्न हारेको बेला
म यही मरुभूमिको घामसँग सोध्छु

ए, घाम ! के तँ मेरो मुटुभन्दा पनि तातो छस् ?
कि तँ पनि मजस्तै
आगो बोकेर जिउन
अभिशप्त छस् ?