चोटहरू



– विधान आचार्य –

तिमीले दिएका चोटहरू
फूलझैँ सँगालेर
छातीमा नसमेटेको भए
म कसरी तिमीलाई
बारम्बार सम्झिरहन सक्थेँ र ?

तिमी आगो बोल्थ्यौ
आँधी हिँड्थ्यौ,
र सुनामी उत्पातले
मलाई लथालिङ्ग पार्थ्यौ
म त्यही आगोका शब्दमा
फूल सुम्सुम्याउँथे
आँधी हिँडाइमा
चाहनाकी देवयानी देख्थेँ
सुनामी उत्पातमा
पुनर्निर्माणको पे्ररणा पाउँथेँ ।

अवगालका पाइताला
बाक्लो जमेको रातको प्रीत
कल्पनामै मात्र रहिरह्यो
दुखेको कल्पना र
च्यातिएको सपना अनि
निमोठिएको विपना
मेरा अंशका चरित्रहरू ।

तिम्रो बाटोको चुम्बक
म कमजोर फलामको गन्तव्य
दन्त्यकथाका राक्षस पात्रहरू
आँखाको जाल बिछ्याएर
सहर हल्लामा पौडिरहेछन् ।

मासुका मनचिन्ते व्यापारी
सहरभरि व्याप्त छन्
खबरदार आमाहरू !
बालक लिएर खोपी पस
मेरो दुर्भाग्य
कटाक्ष व्यापारको सिकार छु
प्रत्येक चोटलाई
मनको खोपीमा
जतनसाथ राखेको छु ।

प्रतीक्षामा छु
चोटहरू स्नेहास्त्रमा परिणत हुने दिन
र हातका माला पहिरिने दिन ।
म खालि —
चोट – पुष्पको प्रतीक्षामा छु
चोट – मालाको प्रतीक्षामा छु ।
मेरो मालाका लागि
एउटा फूल थपिदिन्नौ र मित्र ?