मीना चौलागाईँको मुक्तकसङ्ग्रह ‘मुक्तक मिनार’को लोकार्पण


हरेकपल November 22, 2021

काठमाडौँ, मंसिर ६ गते । मुक्तकसागर साहित्यिक त्रैमासिकको आयोजनामा मुक्तककार मीना चौलागाईँद्वारा लिखित मुक्तकसङ्ग्रह मुक्तक मिनारको राष्ट्रिय महिला आयोगको सभाहलमा लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।

कृतिको लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभु घिमिरे, प्राज्ञ माया ठकुरी, साहित्यकार कृष्ण धराबासी, प्राज्ञ विवश पोखरेल, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, मुक्तकसागरकी सम्पादक निशा केसी, साहित्यकार गिरिराज डल्लाकोटी, अनुवादक तिलक लुईंटेल, कवि प्रथा, कृतिकार मीना चौलागाईँ र मुक्तककार आनन्द श्रेष्ठले संयुक्त रूपमा गरे।

प्रमुख अतिथि विष्णुविभु घिमिरेले मुक्तक विधाको संस्थागत उन्नयन र विकासमा मुक्तकसागर त्रैमासिकले पछिल्ला वर्षहरूमा खेलिरहेको भूमिकाको खुलेर प्रशंसा गरे । कृतिमाथि प्राज्ञ विवश पोखरेलले समीक्षात्मक टिप्पणी गर्दै सङ्ग्रहका मुक्तकहरू चोटिला भएको बताए । साहित्यकार कृष्ण धराबासीले तीसको दशकमा नेपाली मुक्तकको अवस्था र स्वरूपको स्मरण गरे । मुक्तककार रामकाजी कोनेले नेपाल मुक्तक प्रतिष्ठानले नेपाली मुक्तकको मानक र स्तरीकरणका लागि खेलेको भूमिकाको स्मरण गर्दै मुक्तकलाई विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्न भइरहेको पहलबारे जानकारी गराए ।

कार्यक्रममा कृतिकारकी छोरी तथा प्रकाशक आयुश्री चौलागाईँले आफ्नी आमाको लेखकीय सङ्घर्षको चर्चा गरिन् । कृतिकार मीना चौलागाईँले कृतिभित्रबाट आफ्ना दुई मुक्तकहरू वाचन गर्दै आफ्नो पाँच वर्षे मुक्तक लेखन यात्राको स्मरण र भावी लेखन तथा प्रकाशन योजनाबारेमा मन्तव्य राखिन् ।

कार्यक्रममा मुक्तकसागरका सल्लाहकार राजन सिलवालले वर्तमान समयलाई नेपाली मुक्तकको उत्कर्ष कालका रूपमा चित्रित गर्दै स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा मुक्तककारहरू प्रकाश बस्नेत गफाडी, सुनिल अधिकारी, विनोद खत्री, सन्तोष अम्गाईँ, पार्वती भट्ट र कृतिकारकी छोरी रञ्जिता चौलागाईँ प्रत्येकले कृतिभित्रबाट दुई दुई वटा मुक्तकहरू वाचन गरेका थिए ।

कार्यक्रमको सभाध्यक्ष तथा मुक्तकसागरकी सम्पादक निशा केसीले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि र आमन्त्रित सम्पूर्ण अतिथि महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै मुक्तकसागरका नवीनतम गतिविधिहरूमाथि प्रकाश पारिन् । कार्यक्रममा मुक्तकसागरका विभिन्न अङ्कहरू निशुल्क वितरण गरिएको थियो । कार्यक्रम साहित्यकार यादव भट्टराईले सञ्चालन गरेका थिए ।