रुसको कोइला खानीमा आगलागी हुँदा ११ जनाको मृत्यु


हरेकपल November 25, 2021

रुसको एउटा कोइला खानीमा बिहीबार आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।

दक्षिण पश्चिम सर्बियाको एक कोइला खानीमा भएको आगलागी परी दर्जनौँ मानिसहरू फसिरहेको अधिकारीहरूले बताएका छन् ।

यो घटना हुने बेला २८५ जना खानीमा रहेका थिए । त्यसमध्ये २३९ जनाको उद्धार गरिएको र ४६ जना अझै फसिरहेका स्थानीय अधिकारीले बताएका छन् । ४३ जनालाई अस्पताल भर्ना गरिएको र त्यसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

कोइलाको धुलोमा आगो लागेको र त्यो धुवाँले तुरुन्तै भेन्टिलेसन प्रणाली मार्फत खानीलाई ढाकेको एक अधिकारीलाई उद्धृत गर्दै रुसको सरकारी समाचार संस्था तासले जनाएको छ ।

खानीमा बाँकी रहेकालाई उद्धार गर्ने प्रयास जारी रहेको र धुवाँको ठुलो मुस्लोले गर्दा कठिनाइ उत्पन्न भएको बताइएको छ ।

रुसको अनुसन्धान समितिले मानिसको ज्यान जाने गरी सुरक्षा मापदण्ड उल्लङ्घन गरेकोमा आपराधिक छानबिन सुरु गरेको छ ।