कनाट प्लेसमा तिमी र म



— जय छाङ्छा —

पीपलको छायैँछायाँ भएर
बेलको शीतलता ताप्दै
कनाट प्लेसको व्यस्त सडकमा
भर्खरै गर्मीले प्वाँख फैलाउँदै गरेको
यो न्यानो समयमा
तिमी र म हिँडिरहँदा
एउटा आनन्दको क्षणलाई
भोगिरहेझैँ लागिरहेछ मलाई ।

बसहरू/अटोहरू
मोटरसाइकलहरूका चलायमान गति र
मेरो हृदय धडकन
नजानिँदो तालमा
उस्तैउस्तै गरेर चलिरहेको मीठो आभासभित्र
किनकिन तरङ्गित भइरहेको छु अहिले
कनाट प्लेसमा
तिमी र म लुखुरलुखुर हिँडिरहँदा ।

कनाट प्लेसको फुटपाथमा
लत्ता–कपडा र अन्य सामानहरू बेच्ने
अनि किन्नेहरूको जमात छ
तात्तातो आलु टिक्का र भिजिटेवल प्याट्टी
बेच्नेहरूको हूल छ
बटुवालाई मोजा र रुमाल
भिडाउनेहरूको ताँती नै छ
हल्लैहल्लाको बीचैबीच भएर पनि
कनाट प्लेसमा एकतमासले हिँडिरहँदा
कुनै सुदूर कल्पनाको संसारमा हिँडिरहेझैँ
लागिरहेछ मलाई यसबेला
तिम्रो साथमा आफू हिँडिरहँदा पनि ।

दुई किनाराको बीचमा बहने
एउटा नदीजस्तै
पसले र बटुवाहरूको माझैमाझ भएर
चुपचाप हिँडिरहेका छौँ तिमी र म
न कसैले सोधेका छन् हामीलाई
न कसैले बिदाइका हात हल्लाएका छन्
तैपनि अपरिचित अनुहारहरूको भीडसँग
कहिले कुम जोडाउँदै
कहिले पाउहरू ठोक्काउँदै
यसरी एकतमासले हिँड्दाहिँड्दा
कहाँ पुगौँला हँ, हामी ?
तैपनि हाम्रो यात्रा जारी नै छ
अझै कति बाँकी होला हँ, हिँड्नु ?