इतिहास



– मनोज बोगटी –

जतै खने पनि पुर्खाकै हड्डी निस्कन्छ।

यो दाँत हो–
यसले युग चपाएको छ।
समय चपाएको छ र धुलो बनाएर घरको भित्ता टालेको छ।

यो नलीहड्डी—
अशान्ति हुँदा यो फुकेर शान्ति ल्याउँछ गाउँको लामा।
यो बज्दै गर्दा जुलुस आउँछ नगरमा
जिन्दावाद भन्छ
मुर्दावाद भन्छ।

समयको टाउको रेटिएको खबर आउँछ भोलिपल्ट
खबरकागजमा।

यो चाहिँ मेरुदण्ड–
बाँसको मेरुदण्ड लगाएका तिनका सन्तानको दन्तेकथा।

यो कुन हड्डी हो कुन्नी
ठ्वाक्क भाँच्चिएको छ।
कुनै कुटनीतिको खोपिल्टामा परेर भाँच्चिएको होला।

यो खोपडी
खुकुरीको दाग बोकेर गाडिएको रहेछ।

इतिहास केलाउनु भन्छन्‌ बुद्धिजीवीहरू
आँगन खनेको आफ्नै सालनाल निस्कियो।

खन्नु नजान्ने कृषक परेँ कि म ? …