कोइरालाको विरासत र सभापतिमा देउवा अन्तिमपटक



नेपाली कांग्रेसको चौधौ महाधिवेशनमा चुनिएर आएका प्रतिनिधिले सभापति छान्ने सवालमा भारतको कांग्रेस (आई ) पार्टीको विगत र वर्तमानको दशा मूल्याङ्कन गर्न सके राम्रो शिक्षा प्राप्त गर्न सक्छन् । नेपाली कांग्रेस पनि भारतको कांग्रेस (आई) जस्तै लामो उमेर भएको पार्टी हो । यस्ता पार्टीका केही रोग मिल्दाजुल्दा हुन्छन् । समयमै रोगको उपचार नखोजे नेपाली कांग्रेस पनि भारतको कांग्रेस (आई)जस्तै निरन्तर ओरालो लाग्ने रोगको शिकार बन्न पुग्ने निश्चित छ । किन भारतको कांग्रेस (आई ) पार्टीको साख दिन प्रतिदिन घट्दै छ भन्ने नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले बुझ्न सकेमा नेपाली कांग्रेस पार्टीको हितका निम्ति सही निर्णय गर्न सहयोग पुग्छ ।

भारतमा कांग्रेस (आई) पार्टीको मुख्य–मुख्य पदाधिकारीमा इलेक्सन (मतदान) हुँदैन, सेलेक्सन हुन्छ । इन्दिरा गान्धीपछि यही परम्परा कायम छ त्यहाँ । इन्दिरा नभए राजीव गान्धी अर्थात् उनको छोरा । उनको छोरा नभए सोनिया गान्धी अर्थात् इन्दिराकी बुहारी । सोनियाले अध्यक्ष खान्नँ भने राहुल गान्धी अर्थात् सोनियाका छोरा । राहुलले पनि अध्यक्ष पदमा बस्न नमाने प्रियंका गान्धी अर्थात् सोनियाकै छोरी । गान्धी परिवारले पद छोड्न नचाहुन्जेल अरूको चान्स हुँदैन त्यहाँ ।

भारतको कांग्रेस(आई) पार्टीमा गान्धी परिवारको इच्छासँग जोडिएका व्यक्तिले मात्र अध्यक्ष, महासचिव जस्तो पदाधिकारीवाला पद पाउँछन् । योग्य अरू नभएका होइनन्, जत्ति छन् । तर योग्यलाई अगाडि आउने वातावरण छैन । प्रतिस्पर्धाको वातावरण त्यहाँ समाप्त पारिएको छ । यसै कारण भारतमा कांग्रेस (आई) पार्टी जनताबीच झन् कमजोर, झन् कमजोर हुँदै जाँदै छ । पार्टी जाओस् दलदलमा तर पनि गान्धी परिवार पद छोड्नेवाला छैन । यस्तै नियति यो चौधौँ महाधिवेशनमा नेपाली कांग्रेसले नभोगोस् भन्नेमा सम्पूर्ण कांग्रेसी प्रतिनिधिको ध्यान जानु जरुरी छ । कार्यकर्ता सचेत नभए भोलि गएर तिनलाई पछुतो मात्र हुनेछ । किनकि वंश विरासतले प्रतिस्पर्धाको वातावरण नै समाप्त पारिदिन्छ । भनिन्छ, अरूले गरेको गल्ती देखेर पाठ सिक्नु सबैभन्दा बुद्धिमानी कुरा हो ।

नेपाली कांग्रेस र कोइराला परिवार

नेपाली कांग्रेस पार्टीमा कोइराला परिवारको योगदान ठूलो छ । तर जहानियाँ (राणा वंशीय) शासनको अन्त्य गर्न यस परिवारले एकातिर योगदान गरेको इतिहास छ भने अर्कोतिर पार्टीभित्र चाहिँ आफ्नै वंशको परम्परा अघि बढाउन भूमिका खेलेको देखिन्छ । नेपाली कांग्रेस नाम हुनुअघि नेपाली राष्ट्रिय कांग्रेसको नामबाट प्रजातान्त्रिक आन्दोलन अघि बढाउँदा मातृकाप्रसाद कोइराला पार्टी सभापति थिए । त्यसपछि विश्वेश्वरप्रसाद कोइराला सभापति भए । विपीपछि गिरिजाप्रसाद कोइराला पार्टी सभापति भए । गिरिजापछि सुशील कोइराला । सुशीलले नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनमा पनि उम्मेदवारी घोषणा गरेका थिए तर महाधिवेशनको सँघारमै उनको निधन भयो । त्यसपछि कोइराला परिवारको कुनै पनि सदस्यले तुरुन्तै सभापति पदमा दाबी गर्न आँट गरेनन् । हैसियत नै पुगेन भन्दा पनि हुन्छ, तयारी नै पुगेन भन्दा पनि हुन्छ । तेह्रौँ महाधिवेशनमा पदाधिकारी नै नभएका भने होइनन्, महामन्त्रीमा शशांक कोइरालाले राजकुमार शैलीमा उम्मेदवारी दिए र जिते पनि ।

हिसाब गर्ने हो भने, नेपाली कांग्रेसको पौनै दशकमा आधा दशक अर्थात् पचास वर्षभन्दा बढी त कोइराला परिवारले नै सभापति भएर पार्टी चलाए । कोइरालासँग जसले प्रतिस्पर्धा गर्न खोज्यो, उसलाई पाखा लाए । किशुनजी जस्ता नेतालाई संसदीय चुनावमा अन्तरघात गरेर हराए । शेरबहादुर देउवालाई त पार्टीको साधारण सदस्यबाट समेत हटाएका थिए । देउवा विनाको कांग्रेस कमजोर भएपछि मात्र पार्टीमा उनको आवश्यकता महसुस गरे ।

अहिले चौधौँ महाधिवेशनमा केन्द्रीय सभापतिमा उठेका छन् शेखर कोइराला । उनको उम्मेदवारीलाई लिएर ठूलो मात्रामा विरासतको चर्चा हुन थालेको छ । शेखर कोइरालाको पार्टीभित्रको योगदानको भन्दा विरासतको चर्चा हुनु पार्टीका लागि घातक हुन्छ । महाधिवेशन प्रतिनिधिले सोच्नुपर्ने विषय हो यो ।

नेपाली कांग्रेस भारतको कांग्रेस (आई) जस्तै कुनै थरका मानिसको चाहानाको वरिपरि मात्र नघुमोस् । कुनै वंशको विरासत जोगाइदिने नाममा यसले जनाधार नगुमाओस् ।

कोइराला विरासतको जिद्दीमा पौडेलको सन्यास, बाध्यता कि अपमान ?

रामचन्द्र पौडेललाई विमलेन्द्र निधिदेखि शशांक कोइरालाले समेत अग्रजका रूपमा साथ दिएको समयमा शेखर र प्रकाशमानले सम्मान दिन सकेनन् । बरु पौडेलका तेह्रौँ महाधिवेशनदेखिका प्रतिस्पर्धी शेरबहादुरले पौडेललाई उनकै निवास गएर भेटी राजनीति नछोड्नुस् भनेर आदर प्रकट गरे । महाधिवेशनको उद्घाटन भइसकेपछि अपमानजक ढंगले रामचन्द्रले राजनीतिबाट सन्यास लिन बाध्य हुनुपर्ने स्थिति सिर्जना गर्ने शेखरको तरिका ठीक देखिँदैन । प्रकाशमानले आफूभन्दा जुनियर शेखरलाई स्वीकार्न नसक्नु ठिकै पनि हो । शेखरले रामचन्द्रलाई केही महिनाअघि तपाईंले उम्मेदवार बन्ने विचार छोड्नुस्, हामी कुनै पनि हालतमा तपाईंलाई साथ दिँदैनौँ भनेको भए के बिग्रिन्थ्यो ! पौडेललाई मुसा खेलाएझै उनकै गुटका सभापतिका आकांक्षीले खेलाइरहे । अन्त्यमा, उनले सन्यास लिनुप¥यो । यो प्रवृत्ति वंश विरासतवाला प्रवृत्ति हो, जसले कसैको सम्मान हेर्दैन ।

तथ्यगत मूल्यांकन

कोइराला परिवारको एउटा पुस्ताले गर्नु दुःख ग¥यो । अर्को पुस्ताले मस्ती ग¥यो । पार्टी अप्ठेरो अवस्थामा गुज्रँदा कोही चिकित्सक हुनमै रमाए । आफ्नो युवाकाल, अति उर्जामय कालमा राजनीतिमा सक्रिय हुन चाहेनन् । कोही मानसम्मान र लाभका पदमा इन्जोय गरेर बसे । कोही जर्मनीमा ऐसोआरामको जीवन बिताएर बसे । बिपी, गिरिजा र सुशील पछिको कोइराला पुस्तामा आफ्ना अग्रज वंशका सदस्यको जस्तो पार्टीप्रति त्यो समर्पण भाव देखिएन । राजनीति भनेको यिनका लागि संघर्ष गर्नेभन्दा पनि स्वाद लिने र तर मार्ने क्षेत्र बन्यो । भर्खरै प्रदेश नं. १ मा भएको निर्वाचनमा पनि त्यो आरामी प्रवृत्ति देखियो । उनीहरूका प्यानलका उम्मेदवार गुरुराज घिमिरेले मात्र दुई भोटले हारे । तर त्यसै क्षेत्रका दुई कोइराला भने काठमाडौँमै बसे, आफ्नै चुनाव क्षेत्र गएनन् । उनीहरू दुई जना मात्रै पनि त्यहाँ गएका भए, गुरुले चुनाव जित्थे । उताका एकैजनालाई मात्र आफूतिर तान्दा मत बराबरी हुन्थ्यो, दुई जना तान्दा त चुनाव जितिन्थ्यो ।

दुई कोइरालाले भोट दिन पाउँदैनौँ भनेर गएनौँ भन्ने कुनै तुक छैन । प्लेनमा गएर प्लेनमा आउँदा कति नै सकस हुन्थ्यो र ! विरासतमा भाग खोज्नेहरू यस्तो प्रवृत्ति अनौठो मानिँदैन । भारतीय कांग्रेस (आई)का नेता राहुल गान्धी पनि विदेशमा छुट्टी मनाउन गइरहने प्रवृत्तिका कारण उनका विरोधीहरूबाट निकै आलोचित हुन्छन् । के शेखर कोइराला परिवारका नभएका भए बिचमा जागिर खाएर एकैचोटि सभापतिमा उठ्ने आँट गर्न सक्थे ? महाधिवेशन प्रतिनिधिहरूले मूल्यांकन गर्ने कुरा हो । प्रकाशमानलाई र विमलेन्द्रका सम्बन्धमा भने यसो भन्न मिल्दैन । किनकि उनीहरूले पार्टीलाई सधैँ साथ दिएका छन् । जस्तै कठिन परिस्थितिमा पनि पार्टीमै बसेर काम गरेका छन् ।

सभापतिमा देउवा अन्तिमपटक

पिता पुर्खाका नामबाट बढी चिनिनेहरूबाट पार्टी बन्दैन । आफ्नो कर्मले चिनिनुपर्छ । पितापुर्खाको नाम नै कुनै नेताको ठूलो योग्यता बन्छ भने पार्टी ओरालो लाग्न थालेपछि लागेको लागेकै हुन्छ । माथि उठ्न बहुत गाह्रो हुन्छ ।

केन्द्रीय सभापतिमा टक्कर आखिर बूढाहरू बीच नै हुने भएको छ । चुनावी खेलका एकएक चाल बुझ्ने र त्यसलाई मात दिनसक्ने शेरबहादुर चुनावी मैदानमा छन् । बाघ(शेर) बूढो हुँदैन भनाइ नेपाली कांग्रेसका राजनीतिमा अहिले देउवामा लागु हुन्छ । उनको उम्मेदवारी अन्तिम पटकलाई पनि हो । अर्कोपल्ट उनी तपाईंहरू सामु केन्द्रीय सभापतिको लागि भोट माग्न आउने छैनन्, विधानले नै छेक्छ । अर्को कुरा, पन्ध्रौँ महाधिवेशनमा कुनै देउवा थरको मान्छे वंश विरासतका नाममा केन्द्रीय सभापतिको उम्मेदवार हुने सम्भावना पनि जिरो छ । अर्थात् उनलाई जिताउँदा नेपाली कांग्रेस पार्टी भारतको कांग्रेस (आई) जस्ते निरन्तर ओरालो लाग्ने सम्भावनाको बाटो छेकिन्छ । सबैलाई चेतना भया ।