गिरिजाप्रसाद कोइरालाको रोग पार्टीमा बल्झियो भने कांग्रेस सखाप



विद्या खनाल

नेपाली कांग्रेसको इतिहास गिरिजा आफ्नो स्वार्थका लागि पार्टी हितलाई तिलाञ्जलि दिने नेताका रूपमा चिनिन्छन् । गिरिजाप्रसाद कोइराला आफ्नो हितका निम्ति पार्टीलाई धराशायी पार्न समेत तयार हुने व्यक्तित्व हुन् । दुःखको कुरो शेखर कोइरालाका राजनीतिक गुरु तिनै गिरिजाप्रसाद कोइराला हुन् । बहुदलीय व्यवस्थाको पुनस्र्थापना भएपछिको वि.सं. २०४८ सालको चुनावमा शेखर गिरिजाका चुनाव प्रचारक थिए । शेखर कोइराला गिरिजाकै शैलीको प्रशंसा गरेर कहिल्यै थाक्दैनन् । यदि गिरिजाको रोग शेखरमा सरुवा भएका खण्डमा तङ्ग्रिने स्थितिमा पुग्दै गरेको नेपाली कांग्रेस पार्टी बर्वादीको बाटोमा लाग्नेछ ।

२०४८ सालपछि नेपाली कांग्रेस पार्टी ओरालो लाग्ने मुख्य भूमिका गिरिजाको

नेपाली कांग्रेस २०४६ सालपछिको मूल्याङ्कन गर्दा किशुुनजीले संविधान निर्माणमा खेलेको कुशल भूमिकाका कारण २०४८ को आम निर्वाचनमा स्पष्ट बहुमत ल्याउन सफल भयो । तर गिरिजाप्रसाद कोइरालाको अन्तरघातका कारण किशुनजीले भने चुनाव हार्नुप¥यो । इतिहासकार डा. राजेश गौतमका अनुसार ‘त्यहीँबाट कांग्रेसको अधोगति सुरु भयो ।’ हो पनि त्यही । अन्य पार्टीका नेताहरूले पनि किशुनजीकै नेतृत्वमा सरकार बनोस् भन्ने चाहेका बेलामा गिरिजाप्रसाद कोइरालाले पार्टीको हित नसोचेर कोइरालाको निजी सम्पत्तिका रूपमा पार्टीलाई प्रयोग गरे । आम जनताको भावना विपरीत आफ्नै नेतृत्वमा सरकार बनाउन किशुनजी जस्ता सन्त नेतालाई निर्वाचनमा हराए । भारतसँग पनि नझुक्ने नीति लिएका र संविधान निर्माणका क्रममा दरबारसँग पनि ठाकठुक परेका किशुनजीलाई हराउन गिरिजालाई सफलता पनि हात लाग्यो । पार्टीलाई भने अपूरणीय क्षति भयो ।

सत्तापक्षमा स्वार्थी र अन्तरघातलाई मलजल गर्ने नेता गिरिजा आएपछि पार्टीभित्र दुई धार देखाप¥यो, एउटा गिरिजा पक्ष र अर्को गिरिजाको विपक्ष । गिरिजाप्रसाद कोइरालाको भूमिका पार्टीका हितमा भन्दा पनि आफ्नो गुटको हितमा काम गर्ने किसिमको मात्र भएपछि त्यस्तो शैलीको विरोधमा पार्टीभित्र छत्तिसे समूह देखाप¥यो । त्यसपछि गिरिजाले आफ्नै बहुमतको संसद विघटर गर्ने लाजमर्दो काम गरे । यसको परिणाम नेपाली कांग्रेसले स्पष्ट बहुमत गुमायो । जनतामा कांग्रेसप्रति वितृष्णा बढ्ने काम मात्र भयो ।

कांग्रेसले बहुमत गुमाएपछि बनेको अल्पमतको एमालेको सरकार पनि नौ महिना बढी टिकेन । त्यो बेला गिरिजाप्रति जनविश्वास थिएन । यो बुझेर उनने किसुनजीलाई प्रधानमन्त्रीका रूपमा अघि सारे । जनताले मन पराएको नेता प्रधानमन्त्री बन्ने भनेर कांग्रेसले बहुमत प्राप्त ग¥यो । पछि गिरिजाप्रसाद कोइराला किसुनजीकै विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा लागे । यो थाहा पाएर किशुनजीले राजिनामा दिए । गिरिजाले किसुनजीलाई प्रधानमन्त्री भित्री मनले बनाएका रैनछन् । उनको धूत्र्याइँ मात्र रहेछ त्यो त । गिरिजाको उद्देश्य पहिला पार्टीको बहुमत आओस्, अनि त मेरो प्रधानमन्त्री हुने बाटो खुल्छ भन्ने रहेछ । देश र जनताको चाहना किशुनजी भए पनि केही सांसदलाई आफ्नो पक्षमा पारेर गुटबन्दीको माध्यमबाट गिरिजाले पार्टी एक्लौटी पारे । पार्टीलाई आफ्नो स्वार्थमा प्रयोग गर्दा उनले साह्रै नै अस्वस्थ ढंगले गुटबन्दीलाई मलजल गरे । गिरिजाले आफ्नो हितका लागि मदन भण्डारीको निधनपछि भएको उपनिर्वाचनमा पनि किसुनजीलाई हराएर छोडे । गिरिजाका यस्ता क्रियाकलापबाट पार्टीमा यसरी असन्तुष्टि बढ्यो कि गणेशमान सिंहले पार्टी छोड्न बाध्य हुनुप¥यो, किशुनजी जस्तो सन्त नेता पनि टिक्न सकेनन् र पार्टी छोडे ।

गिरिजाप्रसाद कोइरालाले २०६२÷ ६३ को आन्दोलनबाट नेपालको राजनैतिक इतिहासमा आफ्नो व्यक्तितग छवि त सुधारे तर पार्टीको छवि भने ध्वस्त पारे । डा. राजेश गौतमका शब्दमा भन्ने हो भने ‘गिरिजाप्रसाद कोइरालाले राष्ट्रपति हुने लोभमा पार्टीलाई खाल्टोमा हाले । त्यतिबेला आफू कमजोर भए पनि पार्टीलाई ठूलो बनाउनुपर्छ भन्ने सोचेनन् । उनी व्यक्तिगत रूपबाट आफ्नो स्वार्थ मात्र हेरेर अगाडि बढे । त्यसैको दुर्भाग्य अहिले हामीले भोगिरहेका छौं ।’

जीवनको अन्तिम समयमा गिरिजाले आफ्नी छोरी सुजातालाई राजनीतिमा समयमै सक्रिय नगराउनु आफ्नो ठूलो गल्ती भएको अभिव्यक्ति दिएका छन् । के नेपाली कांग्रेसमा सुजाताभन्दा क्षमतावान् मानिस छैनन् र ! छन् भने उनले भनाइको आशय के हो ? यसको अर्थ हो, वंश विरासत अघि बढाउन पाइनँ भन्ने उनको भनाइ ।

कांग्रेसलाई पञ्चायतले राजनीति गर्ने स्पेश नदिएको बेला सुजाता जर्मनीमा मस्तीसँग बसेकी थिइन् । शेखर पनि २०४८ सालपछि जागिरे पदमा रमाएका थिए । तर अहिले रामचन्द्र पौडेललाई आउट गरेर गिरिजाको सच्चा चेलाका रूपमा शेखर कोइराला नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा केन्द्रीय सभापति पदमा उम्मेदवारी दिएका छन् । यसबाट २०४८ सालपछिको पार्टीको दुदर्शाको मुख्य कारण गिरिजा हुन् भन्ने राम्रोसँग बुझ्ने प्रतिनिधिहरू भने काँपिरहेछन् । कतै शेखरमा गिरिजाकै रोग त सर्ने होइन, पार्टीभन्दा आफूलाई महत्त्वपूर्ण त ठान्ने त होइनन् शेखरले – आज सच्चा कांग्रेसीमा यही चिन्ता छ ।

बुझ्नेलाई यो कुरा गहिरो छ, नबुझ्नेलाई घर छेउको पहिरो छ । पहिरोले घर पुरेपछि कुरा बुझेर कुनै फाइदा छैन । पार्टी बलियो भए मात्र पार्टी सदस्यको इज्जत पनि चुलिन्छ । चेतना भया ।
….