इलाममा मुक्तक गोष्ठी तथा विमर्शको कार्यक्रम सम्पन्न


हरेकपल January 2, 2022

इलाम । मुक्तक सागर त्रैमासिक  र भानु प्रतिभा संरक्षण तथा साहित्य संवर्धन समितिले इलामद्वारा आयोजित मुक्तक गोष्ठी तथा मुक्तक विमर्शको कार्यक्रममा समकालीन मुक्तक लेखन, मुक्तकको संरचना र विधिबारे स्रष्टाहरूले खुलेर बहस गरे ।

गोष्ठीमा मुक्तककार कवि, केशव आचार्य, मुक्तककार कवि तथा समीक्षक प्राज्ञ विवश पोखरेलले विगत र वर्तमानको मुक्तकको तुलनात्मक विश्लेषण गर्दै वर्तमानमा मुक्तक सर्वप्रिय रहेको  धारणा राखेका थिए ।

कार्यक्रममा  मुक्तककारहरू इलामे जेठो, प्रवीण श्रेष्ठ, पवन ढुङ्गेल, कुशल गाउँले, अनवर अली, राधा भट्टराई ,मणि अन्जान, दर्शन घिमिरे, विकास शिवा, दिनेश प्रयास, लक्ष्मी रायामाझी, सुवास राई, उमेश विरोधी, प्रदीप दीप, सुमन सञ्जेल, विवश पोखरेल, विमल वैद्य, केशव आचार्य, निशा के.सी. लगायत तीन दर्जनभन्दा बढी मुक्तककारहरूले मुक्तक वाचन गरेका थिए ।

उक्त कार्यक्रममा सागरकी सम्पादक के.सी.ले मुक्तक गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्दै मुक्तक विधाको समृद्धि र विस्तारका लागि प्रतिबद्ध साहित्यिक पत्रिका मुक्तकसागरले देशका विभिन्न स्थानमा यस्ता कार्यक्रमको निरन्तरता दिने विचार व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा अध्यक्ष विमल वैद्य र प्रमुख अतिथि युद्धप्रसाद  वैद्यले इलामले २०४४ सालमा टिकटमा मुक्तक गोष्ठीको आयोजना गरेको र इलामका मुक्तक प्रकाशन गरेको स्मरण गर्दै त्यसपछिको धेरै वर्षको अन्तरालमा इलाममा मुक्तक गोष्ठी भएको विचार व्यक्त गरेका थिए ।

 भानु प्रतिभा संरक्षण तथा साहित्य सम्बर्द्धन समितिका अध्यक्ष विमल वैद्य को सभापतित्वमा सम्पन्न्न सो कार्यक्रमको संयोजन इलाम साहित्य समाजले गरेको थियो । युद्धप्रसाद वैद्यको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा स्वागत मन्तव्य कवि प्रकाश थाम्सुहाङ र कार्यक्रम संचालन सविता पाण्डेले गरेकी थिइन् ।

कार्यक्रममा समता स्कुलका विद्यार्थीहरूले नृत्यसमेत प्रस्तुत गरेका थिए ।