नेपालमा भित्रभित्रै ओमिक्रोन भुसको आगो भएको हुनसक्छ !



करिब १८०० किलोमिटर खुला सिमाना भएको भारतको पछिल्लो तथ्यांकअनुसार २४ घन्टामा १ लाख १७ हजार १ सय नयाँ संक्रमित देखा परेकाछन् भने हालसम्म ओमिक्रोन संक्रमितको संख्या ३ हजार ७ रहेको छ । भारतमा ओमिक्रोनबाट एकजनाको मृत्यु भएको छ भने यो २४ घन्टामा ३०२ जनाको कोभिडबाट मृत्यु भएको छ ।

ओमिक्रोन परिक्षण गर्ने क्षमता हामीकहाँ दयनीय छ । पिसिआर टेस्ट सरकारी स्वास्थ्य संस्थाबाट निशुल्क गर्ने पहल देखिएको छैन ।

अहिले भारत लगायत धेरै देशमा फैलिएको मुख्य प्रजाति डेल्टा नै हो । ओमिक्रोन कमजोर प्रजाति भएपनि डेल्टा कमजोर छैन । तसर्थ यो महामारीलाई ओमिक्रोनको महामारी भनेर बुझ्नु हुँदैन ।
हरेक सिमानाकामा नेपाल फर्किनेको चाँप बढेको छ । पिसिआर तथा एन्टिजेन टेस्ट निकै साँगुरो छ । तसर्थ दैनिक कति संक्रमित नेपाल छिरेका छन्, यकिन गर्न सकिएको छैन ।

सिमानामा होल्डिंग सेन्टर, क्वारेन्टिन तथा आइसोलेसनको अवस्था नाजुक छ । हाल नेपालका बिभिन्न ठाउँमा कडा रुघाखोकी फैलिएको छ । ओमिक्रोन संक्रमित र रुघाखोकीका बिरामीको लक्षण उस्तै हुने भएकोले को ओमिक्रोन संक्रमित हो, को रुघाखोकीको बिरामी हो छुट्याउने खालको परिक्षण गरिएको छैन । भित्रभित्रै ओमिक्रोन भुसको आगो भएको हुनसक्छ ।

पहिलो र दोस्रो लहरको ट्रेन्ड हेर्ने हो भने भारतमा महामारी बढेको ३ हप्तापछि नेपालमा बढेको पाइएको छ । यहि आधारमा केहि जनस्वास्थ्यविद तथा संक्रामक रोग बिशेषज्ञले भबिष्यवाणी गर्दा सामाजिक संजालमा उनीहरुको उछितो काढेको देखियो । यो भनेको छिमेकमा डढेलो लाग्यो भन्न नहुने र डढेलोलाई घाम भन्नुपर्ने वा मौन रहनुपर्ने अवस्था छ ।

माघको तेस्रो हप्तादेखि नेपालमा संक्रमण निकै बढ्ने अनुमान गर्न सकिन्छ । सरकारले यो ३ -४ हप्तालाई मिनेट / मिनेट सदुपयोग गर्ने हो भने सम्भावित तेस्रो लहरलाई कमजोर बनाउन सकिन्छ । त्यसको लागि हरेक स्वास्थ्य संस्थाबाट ब्यापक प्रचार गरेर स्टकमा रहेको खोप आम नागरिकलाई लगाउन एकदिन पनि ढिलो गर्नु हुँदैन । त्यस्तै फ्रन्टलाइनर र जोखिम बर्गलाई बुस्टर डोज सुरु गर्नुपर्दछ । यसमा अलमल गर्ने समय हामीसंग छैन ।

जनस्वास्थ्यका मापदण्ड पालनामा हरेक तहका प्रहरीप्रशासन तथा सरोकारवाला संस्थालाई ब्यापक परिचालन गर्ने, नो मास्क – नो सर्भिस लागु गर्ने तथा सिमानाका र एयरपोर्टमा बिशेष रणनीति अबलम्बन गर्नुपर्दछ ।

भारतका केहि कम्पनीले FDA मान्यताप्राप्त कोभिड्को खाने औषधिको उत्पादन गरेका छन् । ती औषधि भारतले सस्तोमा उत्पादन गरेको छ । नेपालले पनि खाने औषधि भारतबाट ल्याउन कुटनैतिक / राजनैतिक छलफल गर्न ढिलो गर्नु हुँदैन । हामीलाई चाहिने अक्सिजनको ब्यबस्था तथा रेमडेसेभिर लगायतका औषधि भारत र बंगलादेशबाट ल्याउन ढिलो गर्नुहुँदैन ।

सरकार र नागरिकले आआफ्ना कर्तब्य पुरा गर्ने हो भने लकडाउन तथा निषेधाज्ञा जारी गर्नु पर्दैन । कहिल्यै पनि महामारीलाई कमजोर आंकलन गर्नु हुँदैन । दोस्रो लहरमा स्तरवृद्धि भएका अस्पतालका कोभिड वार्ड, आइसीयु, भेन्टिलेटर, अक्सिजन प्लान्ट आदिलाई तम्तयार राख्नु जरुरी छ ।

ओमिक्रोन परिक्षण गर्ने क्षमता हामीकहाँ दयनीय छ । पिसिआर टेस्ट सरकारी स्वास्थ्य संस्थाबाट निशुल्क गर्ने पहल देखिएको छैन । यस्तो भताभुंग तालले संक्रमण बढ्ने र आउट ब्रेक भएपछि रातारात कमसल सामान किन्ने काम गर्नु हुँदैन ।

हामी नागरिक पेनिक बन्नुपर्ने वा आत्तिनुपर्ने अवस्था छैन । खोप र मास्कले काम गर्छ । कोरोना, खोप र मास्कको बिरोध गर्नेहरुले पनि आफ्नो तथा आफ्नो परिवारको जीवनरक्षा गर्नको लागि खोप लगानुहोला, जनस्वास्थ्यका मापदण्ड पालना गर्नुहोला । जीवन रहेमा पछि बिरोध गर्न पाइन्छ ।

राजनीति, गालीगलौज तथा स्वास्थ्यकर्मीलाई निरुत्साहित गर्ने काम पछि गरौंला । अहिले युद्धस्तरमा परिक्षण, खोप बिस्तार तथा आबश्यक काम गरौँ ।